लकडाउनमा मदनकृष्णः ‘घरको सिंह वनको स्याल’

फोन उठ्यो,

उताबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भने, ‘आधा घण्टामा फोन गर्नु, म अलि व्यस्त छु।’

लकडाउनको दुई महिना कटिसकेको छ, मान्छे केमा व्यस्त होलान्? घरमा गर्ने काम के होला? कौतुहल जागिरहेकै छ।

आधा घण्टापछि मदनकृष्ण फोनमा सुनिन्छन्, ‘अँ बल्ल सक्काए, भन्नुस् के थियो?’

‘लकडाउन कस्तो हुँदैछ?’

‘लकडाउन रमाइलो भइरहेको छ।’

अब मदनकृष्ण लकडाउन डायरी सुनाउन थाले,

‘लकडाउन सुरुसुरुमा एकदमै गाह्राे भएको थियो, अहिले रमाइलो नै भइरहेको छ। एकदमै उकुसमुकुस, जेलमा बसेको जस्तो हुन्थ्यो’, मदनकृष्ण भन्छन्, ‘मान्छेहरुले सोध्थे– हालखबर के छ मदनदाइ? पिँजडाको सुगालाई सोध्नु, मेरो हालखबर उसले भन्छ, भन्थेँ।’

कसैलाई के कसैलाई के भन्दा भन्दै श्रेष्ठलाई घर बस्ने बानी पर्‍यो। टिकटक बनाउन थाले, लकडाउन सम्बन्धी गीत पनि बनाए। ‘यमनले घरमा नै रकर्डिङ गर्‍यो, बहिनीको अवधारणामा छायांकन भयो’, उनले सुनाए।

सराना श्रेष्ठको कन्सेप्टमा बनेको गीत, ‘लकडाउन लकडाउन संसारै छ नि लकडाउन’ सार्वजनिक भएको छ। यस बाहेक अन्य केही कामको लागि मदनकृष्णको घरमा नै छायांकन हुन्छ, अहिले पनि भइ नै रहेको छ।

कहिलेकाहीँ फाट्टफुट्ट मदन बाहिर निस्किएका छन्। मानव सेवा आश्रमको काममा एकपल्ट बाहिर गएका छन्। काठमाडौँ उपत्यकामा पछिल्लो समय कोरोना भाइरसको संक्रमणको जोखिम उच्च छ। काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमणका बिरामी भेटिन थालेपछि मदन घर बाहिर निस्कन ठप्पै भयो।

तर पनि मदनलाई फुर्सद छैन। भन्छन्, ‘पहिला पहिला मान्छेहरु जिममा बिजी हुन्थे, अहिले जुममा बिजी हुन थालेका छन्। मेरो पनि दिनमा १, २ ओटा जुम मिटिङ सधैँ हुन्छ।’

प्रविधिले मानिसलाई व्यस्त बनाइराखेको छ। मदनकृष्ण यसलाई विकास हुँदै जाने चिज भन्छन्। उनले मोबाइल नभएको समयको पनि अनुभव गरेका छन्। मोबाइल आयो अनि फेरि इन्टरनेट आयो, मुख हेरेर कुराकानी गर्न पाइने भयो। फेसबुक, म्यासेन्जर, टिकटक पनि आयो।

टिकटकको बारेमा मदन भन्छन्, ‘म त्यति टिकटक चलाउदिनँ। तर रमाइलो हुने रहेछ। एकपल्ट यसो टिकटक खोलेर हेरेको, ‘बदाम खाको सुन्तला छोडाको’ भन्ने गीतमा गौरी मल्ल राम्रोसँग नाचेको देखेँ। मलाई पनि नाच्न मन लाग्यो। पार्किन्सन्स् भएकोले धेरै चल्न सक्दिनँ म, नाचेको– राम्रो भयो ड्याडी फेरि गर्नुस त! भने, मैले फेरि गरिदिएँ। मेरो भिडियो टिकटकमा राखिदिन्छु है भने, मैले पनि हुन्छ भनेँ। फेरि स्लो गरी खिच्ने भने, म त्यो दिन अलि फूर्तिलो थिएँ। स्लो गरी खिचेको र पहिलाकोमा घुम्दा मात्रै फरक भयो तर सबै उस्तै भयो।’

@madankrishnashrestha1मेरो टिकटक नाच कस्तो लाग्यो त? 😁😁😁

♬ Original – राजा रमेश

‘पार्किन्सन्स भएको धेरै भयो, बाहिर मदनकृष्ण एकदमै बिरामी छ, हिँड्नै सक्दैन, चल्नै सक्दैन। बोली अकमक हुन्छ, मान्छे चिन्दैन भन्ने खालको इम्प्रेसन परिरहेको थियो। मेरो फूर्तिफार्ति देखेर सबै हितैषीहरु दंग परे’, मदनकृष्णले सुनाए, ‘ए ठीक भएछ जस्तो लाग्यो, मैले हरेक कमेन्टहरु पढेँ। मलाई खुसी लाग्यो। मेरो नाचको प्रशंसा गरेका छन्, सुस्वास्थ्यको कामना गरेका छन्। स्वास्थ्य राम्रो भएछ भनेका छन्, आपनत्वको शब्द प्रयोग गरेर लेखेको कमेन्टले एकदमै खुसी लागेको छ, स्वाभाविक पनि हो।’

मदनकृष्णको टिकटक अकाउन्ट अगाडि नै खोलिएको हो। यसमा उनका पुराना टेलिचलचिका केही क्लिपहरु राखिएका थिए। लकडाउनको बेलामा उनी नाचेको भिडियो आयो, र भाइरल भयो। त्यसपछि मदनको पुरानो चर्चित संवाद पनि एकाउन्टमा सार्वजनिक भएको छ, ‘मास्तिरको मुन्तिर’ भन्ने।

मदनकृष्ण अहिले घरमा छोराबुहारीसँग बसिरहेका छन्। केही दिन अगाडि मात्र उनकी छोरी अमेरिका गइन्। उनी नेपाल बसेको एक वर्ष नै भइसक्यो। मदनकृष्णका अनुसार छोरी ६ महिनाको बिदा लिएर नेपाल आएकी थिइन्, बीचमा अमेरिका फर्केकी थिइन्,उनले छोरीलाई नेपालमा नै सेटल हुनुपर्छ भनेका थिए। चाँजोपाँजो मिलाउन खोज्दै थिइन्। पहिलो पल्टको ६ महिने बिदामा सरानाले गीत पनि गाइन्। उनकै निर्देशनमा गीतको भिडियो पनि बन्यो। ‘पानी छायाँ’ गीत लञ्च गर्न सराना एक महिना अमेरिका बसेर फेरि आइन् अनि लकडाउनले यतै परिन्। केहीदिन मात्र भयो उनी फेरि अमेरिका फिरेकी छन्।

मदनकृष्णको कलाकारिता यात्राका क्रममा कस्ता–कस्ता संकटहरु आइपरेका छन्?

अहिले विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ। यो संकटले विश्वको अर्थतन्त्र, शिक्षा लगायतको क्षेत्रमा प्रभाव पारिरहेको छ। कलाकर्मी श्रेष्ठले आफ्नो कलाकारिता यात्रामा थुप्रै संकटहरुको सामना गर्नुपरेको छ।

‘हामीलाई जुलुस जानुपर्थ्यो। आन्दोलनहरु भए। केही न केही भइ नै रहन्थ्यो। हामी २०६२/६३ को जनआन्दोलन, २०४५/४६ सालको आन्दोलनमा पनि सक्रिय भएर लाग्यौँ। राजनीतिक रुपमा केही न केही भइ नै रहेको हुन्थ्यो, हामी सरकारसँग जुध्न नै पर्ने हुन्थ्यो। तरपनि हामी मिलाएर काम गर्थ्याैँ। पिञ्च हुने तर रिस नउठ्ने गरी हामी कार्यक्रमहरु गर्थ्याैँ। चल्थ्यो, रोकिन्थ्यो’, उनले भने।

मदनकृष्ण अहिलेको लडडाउनको थोरै अभ्यास २०७२ सालको नाकाबन्दीले गराएको मान्छन्। २०७२ सालमा इन्धन अभावले गर्दा सवारी साधन नगुड्दा धेरै मानिसलाई घरमा नै बस्नु परेको थियो अहिले पनि धेरै मानिस घर भित्र नै छन्। पाँच महिना ठप्प भएको थियो, तर अहिले भने कहिले खुल्छ भन्न सकिएको छैन।

‘सुरु सुरुमा लकाडाउन चाँडै खुले हुन्थ्यो जस्तो लागेको थियो। चाँडै खुल्ला भन्ने पनि थियो तर हिजोआज झन् झन् कोरोना संक्रमण बढ्दैछ, अब के हुन्छ केही थाहा छैन’, मदनकृष्ण भन्छन्, ‘मेरो घर बाहिर नै पनि एउटा संक्रमित मानिस भेटियो, त्यसपछि त बाहिर निस्किएको नै छैन।’

श्रेष्ठले आफ्नो रोग प्रतिरोधात्मक क्षमताको ख्याल गरिरहेका छन्। उनी पार्किन्सन्सको औषधि खान्छन्, प्रेसर, प्रोस्टेड लगायत धेरै औषधि खान्छन्। मदन भन्छन्, ‘मैले धेरै ख्याल गर्नुपर्छ। घरको सिंह बनको स्याल बनेर बसिरहेको छु।’

मदनकृष्ण हुने खाने वर्ग र मध्यम वर्गलाई यो समयमा खानलाई समस्या नरहेको बताउँछन् तर जसले बिहान बेलुका काम गरेर पेट पाल्छन्, उनीहरुलाई धेरै समस्या छ। उनी अहिले ‘बाघले टोकेर मरौँ की सर्पले डसेर मरौँ’ भन्ने अवस्था आएको बताउँछन्।

मदन भन्छन्, ‘लकडाउनको उल्लंघन गरेर मर्ने की, भोकमरी लागेर मर्ने’ दुवै अवस्था अस्वीकार्य भएका छन्। यसलाई सन्तुलन गर्नुपर्छ। मिल्ने मिल्ने कामहरु गर्नुपर्छ, टेस्टहरु व्यापक गरिनुपर्छ। सरकारको भूमिका महत्वपूर्ण हुन्छ’, मदन सल्लाह दिन्छन्, ‘लकडाउनले कलाकारिता क्षेत्रलाई धेरै असर पारिरहेको छ। हल चल्न सम्भव छैन, चलचित्र बनाएर थन्काएर राख्न सकिँदैन। ठूला कामलाई केही प्रतिक्षा गर्नुपर्छ। तर घरघरमा छायांकन गरेर, सामाजिक सञ्जाल, यूट्युबमार्फत सार्वजनिक गर्न सकिन्छ।’

‘केही काममा व्यस्त भयो भने, समय कटाउन पनि गारो हुँदैन। काममा पनि लागिरहन पाइयो। मोबाइल छन्, अरु कुराहरु छन्, जसले हामीलाई घरभित्रै रचनात्मक काम गर्न मद्दत गर्छ’, उनी थप्छन्।

मदन गीत पनि गाइरहेका छन्। फेसबुकमा ‘एक्लै एक्लै बजारमा’ भन्ने गीत सार्वजनिक भएको छ । उनले कोमल वलीसँग मिलेर पनि गीत गाएका छन्, जुन सार्वजनिक हुन बाँकी छ।

उनी अहिले छोरा यमनको कामलाई सघाइरहेका छन्। होम प्राेडक्सनबाट यमन केही प्रोजेक्टमा काम गरिरहेका छन्। छोरालाई आफूसँग भएको ज्ञान बाँडेर बसिरहेका छन्।

‘आफ्नो खुबी अनुसारको काम गर्नुपर्छ’, मदनकृष्ण भन्छन्, ‘जसलाई गाह्राे साह्राे परेको छ, उसलाई सहयोग पनि गर्नुपर्छ। सहयोग भनेको जति गर्‍यो त्यति आनन्द लाग्छ। सहयोग गर्नेको कहिले सिद्धिदैन, सहयोग नगर्नेलाई कहिले पनि पुग्दैन।’

मदन अन्त्यमा भन्छन्, ‘लिएर जाने केही छैन। कि छोडेर जाने हो की बाँडेर जाने हो। मिल्ने जति बाँड्ने, छोड्ने जति छोड्ने।’

जेष्ठ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्