गोडामा होइन, मनमा ढोगौँ

पानीको अक्षर जसरी बिलाएका थुप्रै नेपाली चलनहरु पात्ताले तरुल खोस्रेजसरी खोस्रिँदैछ वर्तमानले। हेपिएका खाना र घिनाएका घरेलु औषधिको सरणमा पुर्‍याइदिएको छ। कोरोनाले लगेको सात्तो बोलाउन पुरातन जीवनशैलीको आड लिन थालेका छन्।

आजबाट हिजोतिर फर्किएको अनुभवको पोको फुकाइरहेछन् संसारभरिबाट नेपालीले। हात मिलाउन छोडेर नमस्कार गर्छन् ट्रम्प। ‘ॐ देउम शान्ति….’ भन्दै यजुर्वेद फलाक्छ ह्वाइट हाउस।

चन्द्रमामा पैताला टेक्नेहरुको चन्द्रमामा शिर राख्नेको संस्कृति र परम्परासँग मित्रता बन्ने त होइन ? हाम्रा ऋषिमुनिहरुको ज्ञान, विज्ञान र जीवनशैलीलाई अध्ययनकै रुपमा होस् स्वीकार गर्ने सम्भावनाको नजिक भएको त होइन समय ? प्रष्ट छ विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रो अधानमले योग गर्न सुझाएको देख्दा हाम्रा पुर्वज आजका हामी भन्दा वैज्ञानिक र आधुनिक दुवै थिए। यसमा द्विविधा रहेन अब।

यही आत्मविश्वासका कारण हामीले अरुसामु आफ्ना कुरा गर्न लजाउनु नपर्ने भएको छ।

आज कुरा अभिवानदको मात्र।

नमस्कार र नमस्ते दुबै अभिवादन हुन्। दुवै एकै र उस्तै अर्थ लाग्ने संस्कृत शब्द। हरेक मान्छेमा इश्वरीय आत्मा रहन्छ भन्ने पूिर्वय मान्यता अनुसार एक आत्माले अर्कोलाई सम्मान गर्नु हो भन्ने बुझिन्छ।

यति मात्रै कुरो बुझेका दिन संसारका धेरैले देखासिकी नै होस् ‘नमस्कार’ सुरु गर्नेछन्। ‘नमस्ते’ आफु समानलाई र ‘नमस्कार’ आफ्ना आदरणीयलाई गरिने अभिवादन हो भन्ने कुरा बुझेका दिन अझ विशेष मान्नेछन्। र प्रयोगमा निरन्तरता दिनेछन्। हाम्रो परिचय झाँगिनेछ।

हात मिलाउने र अंकमाल गर्ने यी हाम्रा चलन थिएनन्, यसको अर्थ र महत्व थाहा नपाई देखासिकी मै अपनाउन थालेका हौँ। संसारभर लोकप्रिय बनिसकेको भएपनि हात मिलाउने सभ्यतामा बिराम लगाउन निर्देशन दिइरहको छ प्रकृति र समयले पटकपटक।

यसलाई अस्वीकार गर्न त्यति सजिलो नभए पनि एक मन र एकमतले सहज बनाउन सकिन्छ। यससँगै पश्चिमा शैलीको अंकमाल होस् वा इश्लाम शैलीको अंकमाल यी दुबैलाई कोरोना युगको थालनीले थप्पड हानी सकेको छ।

यस्तै नेपाली अभिवादनकै अन्य तरिकाहरु खुट्टा ढोग्ने, हातमा ढोग्ने, शिरमा हात राख्ने। यी चलनलाई पनि इतिहासमा सिमित गर्नुपर्ने दिन आइसकेको छ।
सय वर्ष अघिको स्पेनिसको फ्लुको समयसम्म पुग्नै पर्दैन। पछिल्लो समय इबोला, वर्ड फ्लु र स्वाइन फ्लुले हामीलाई पटक पटक सजग गराएकै हुन््। त्यसबाट सचेत नभएकाले आज कोरोना युगको उदय भएको हुनसक्छ।

इबोला: सन १९७६ मा कंगोको इबोला नदी किनारबाट सुरु भएको इबोला भाइरसले पटक पटक मान्छेलाई दुःख दिइरहेकै छ। उसबेला कंगोमा ३१८ जनामा देखिएको संक्रमणमा २८० को मृत्यु भएको थियो। यो मृत्य ८८ प्रतिसत हो।

पिसाब, पसिना, वमिट, आमाको दुध र विर्यको माध्यमले एकबाट अर्कोमा सर्छ यो। १६ दिनभित्रमा लक्षण देखिने यो भाइरसको संक्रमण भए ज्वरो आउने, मांसपेशी र जोर्नीहरु दुख्ने, पेट दुख्ने, थकान र कमजोरी हुने, डाइरिया तथा वमिट हुनु यसका लक्षणहरु हुन्।

पछिल्लो समय सन् २०१४ मा संयुक्त अधिराज्य, स्पेन, संयुक्त राज्य अमेरिकामा र २०१५ मा इटालीमा यसको प्रकोप दोहोरिएको छ। सन् २०१६ मा गिनी, लाइबेरिया र सियरालियोनमा २८ हजारमा देखिएको संक्रमणमा ११ हजार ३०० को मृत्यु भयो।

बाँदर, चिम्प्यान्जी र गोरिल्लाबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने यो रोग कोरोना भन्दा खतरा साबित भएको छ। यसको मृत्यु दर २५ देखि ९० प्रतिसत रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ।

बर्डफ्लुः एचफाइभ एनवन भनिने वर्ड फ्लु सबैभन्दा पहिले चाइनामा देखियो सन् १९९७ मा। त्यसबेला चरामा देखिएको यो भाइरसबाट लाखौँ चरा मरे, मानव सुरक्षाका लागि लाखौँ मारिए पनि।

सन् २००३ मा सर्वप्रथम मान्छेमा देखिएको यो भाइरसले २०१९ सम्ममा ८६१ जनामा मात्र संक्रमण देखियो तर ४५५ जनाको निधन भयो। यो मृत्यु ५२.८ प्रतिसत हो।

यसको लक्षण पनि ज्वरो आउने, खोकी लाग्ने, घाँटी, मांसपेशी र टाउको दुख्नुका साथै स्वासप्रश्वासमा समस्या आउने नै हो। यसले नेपालका व्यावसायिक पंक्षीपालक र मानिसहरुलाई समेत पटकपटक आतंकित पारिरहेको छ।

स्वाइन फ्लुः अमेरिकामा सबैभन्दा पहिले सन् १९९८मा सुँगुरमा पत्ता लागेको एचवन एनवन भनिने स्वाइन फ्लु सन् २००९ जनवरीदेखि २०१० अगस्ट सम्म संसारभर नै फैलियो। विश्व स्वास्थ्य संगठनमा ल्याब कन्फर्म रिपोर्ट भएअनुसार १८ हजार ४४९ जनाको ज्यान गएको देखिन्छ। प्रकोपको पहिलो वर्ष १ लाख ५० हजारदेखि ५ लाख ७५ हजारसम्म मानिस मरेका थिए। यसको मृत्युदर ७० देखि ९० प्रतिसत रहेको छ। २ देखि ७ दिनमा यसको लक्षण देखिन्छ भने वर्ड फ्लु र कोरोनाकै जस्ता लक्षणहरु रहेका छन्। र ६५ वर्ष माथिका मान्छेमा यसको मृत्युदर बढी देखिएको छ।

संक्रमण बढी भएपनि कोरानाले हुने मृत्युदर एकदम कम छ। बरु हरेक वर्ष सिजन फ्लुले नै ५ लाखसम्म मान्छे मर्ने गरेका छन्।
बिगत र वर्तमानमा देखिएका भाइरस जे सुकै हुन लक्षण उस्तै छन्। बेलाबेला अनेक नाममा विश्वव्यापी संक्रमण र महामारी फैलाइरहेका छन्। र मानवलाई हुँकार गरिरहेका छन् जीवन शैली सुधार्न।

यस्ता सरुवा भाइरसहरु अझै घरिघरि आइरहने र मान्छेलाई निश्चित दुरीमा राखिरहने निश्चित छ। भावनात्मकरुपमा निकट होऊ। बाध्यता नभइ एकले अकोलाई नछोउ। अभिवादनका नाममा अनावस्यक सम्पर्क नबढाऊ। तिनीहरुको सन्देश एकै छ सधैँ।तिनका आदेश पालना गर्न जीवनशैलीमा केही संशोधन आवस्यक छ। अहिलेलाई अभिवादनका केही कुरा मात्र।

हात मिलाउने: महिलाहरु आफैँले हात दिए भने मात्र पुरुषले हात मिलाउने गरेको देखिन्छ प्रायजसो। महिलाहरु एकापसमा खासै हात मिलाएको देखिँदैन। तर पुरुपहरुमा हात मिलाउने बाध्यकारी संस्कार बनिसकेको छ। तर यो संस्कृतिमा पनि ठूलो, सानो, उचनिच मानेर विभेद भएको पाइन्छ। आफ्ना वर्गमा मात्र हात मिलाउँछन् मान्छे।

महिलाको तुलनामा पुरुषसँग हात मिलाउनु बढी जोखिम हुनसक्छ। राजधानी मै बस्ने अधिकांश पुरुषहरु पानी उपलब्ध भएको ट्वाइलेटमा पनि पिसाब फेरेर हात धोएको देखिँदैन। तपाई पनि आजैदेखि चियो गर्न थाल्नुहोला।

खुट्टा ढोग्ने: हजुरबा, हजुरआमा, बुबाआमा, फुपुफुपाजु, दिदी भिनाजु, छोरी, ज्वाईं, भान्जा, भान्जी, नातिनी आदिलाई गोडामा ढोग्ने चलन छ नेपालमा। गोडा नढोगिने मान्यजनलाई हातमा ढोग्ने वा उहाँहरुले शिरमा हात राख्ने चलन पनि अद्यावधिक छ।

ज्यो.पण्डित केदार नेपालका अनुसार गोडा ढोग्ने नियम वेद वा कुनै शास्त्रमा उल्लेख भएको विषय होइन। शिष्यले गुरुलाई ढोगेर गुरुकुलबाट थालनी भएको चलन हो। उहाँका अनुसार शिक्षा वा मन्त्र दान गर्ने गुरु र आमाबाबाहेक अरुलाई ढोग्दा गोडामाथि आफ्ना हात राखेर मात्र ढोग्नु भनिएको छ निती शिक्षामा।

जसरी ढोगे पनि गोडामा शिर राख्नु नै हो। यी चलनहरु नयाँ पुस्ताले खासै रुचाएको पाइदैन। बाआमाको करले कतिपयले पालना गरे पनि तर्क र विज्ञानमा विश्वास गर्ने नयाँ पुस्ताका लागि स्वास्थ्यसँग पनि जोडिएका कारण यसलाई त्याग्न आजको समय अझ सहयोगी हुने निश्चित छ।

महिलाको तुलनामा पुरुषसँग हात मिलाउनु बढी जोखिम हुनसक्छ। राजधानी मै बस्ने अधिकांश पुरुषहरु पानी उपलब्ध भएको ट्वाइलेटमा पनि पिसाब फेरेर हात धोएको देखिँदैन। तपाई पनि आजैदेखि चियो गर्न थाल्नुहोला।

बुहारीले ससुराको गोडा ढोग्नु हुन्न भन्ने मान्यता छ। बुहारी ससुराको नजिक घुँडा टेकेर निहुरिने, दुई हात मुठी पारी भुइमा टेकाउने र आकासतिर ठड्याएका बुढी औँलाहरुमा शिर राखेर ढोग्ने गरिन्थ्यो पहिले। यदाकदा अहिले पनि गरिन्छ।

दूरी पनि कायम गर्न सकिने, गोडामा टाउको राखेको भान हुने तर राख्नु पनि नपर्ने। यो बिकल्प उत्तम हुनसक्छ गोडा ढोगाइलाई निरन्तरता दिन चाहनेहरुका लागि।

अन्यथा यो चलनलाई अँगालिरहन सकिने अवस्था देखिँैदैन। आमाबाबु, हजुरबाहजुरआमा सम्मानित हुने कुरामा दुईमत नभए पनि उहाँहहरुको खु्ट्टा कसरी सम्मानित हुन्छ ? धेर आमाबाबुले सामाना गरेको होला यो प्रश्न आफ्नै सन्तानबाट।

हुन पनि बाआमाको हेरचाह, खान पान औषधी उपचारमा चासो गर्न सकियो भने त्यो सबैन्दा ठुलो सम्मान हो। शिर गोडामा होइन उहाँहरुको मनमा राख्न सक्नुपर्छ।

अर्को नमिल्दो कुरा के छ भने छोरासमानको ज्वाईं र सन्तान सरहका भान्जाभान्जिको पाउमा शिर राखिन्छ। यी नाताहरुमा सम्मानभन्दा बढी प्रेमभाव रहन्छ। प्रेम हाराहारी हुने कुरा हो तलमाथि होइन।

हिन्दू, पूर्विय दर्शन वा नेपाली चलन जे भनेर तर्क गरेपनि सबै पूर्विया, हिन्दू वा सबै नेपालीमा लागु छैनन् यी चलनहरु। नेपालमा छोरीको गोडा ढोगिन्छ भने भारत वा तराइमा छोरीले बाआमाको गोडा छुन्छिन्।

गोडा ढोग्नुलाई आध्यात्म वा धर्म जेको सहारा लिएपनि हमेशा पराजित तर्क हो यो। व्यवहारिक र आध्यात्मिक दुबै महत्व केलाउने हो भने पनि शिरसँग पाउको तुलना हुन सक्दैन।

योग शास्त्रका अनुसार शिरको माथिल्लो भागमा सहस्स्रार चक्र अवस्थित हुछ। जसलाई महाकाली देवीको स्थान मानिन्छ। जहाँबाट आत्मसाक्षात्कार हुन्छ भनिन्छ। निधारको तल्लो भाग अर्थात दुई आँखीभौँको बिचलाई आज्ञा चक्र अर्थात त्रिनेत्र मानिन्छ जहाँ क्षमाका देवी देवताको स्थान रहन्छ।
यस दृष्टिकोणबाट हेर्दा जति सुकै सम्मानित व्यक्ति भएपनि पाउमा शिर राख्नु आफ्नै धार्मिक र आध्यात्मिक आश्था विपरित हुन्छ।

नमस्कार/नमस्ते ” एउटा प्रसंग जोडौँ। संयुक्त राष्ट्र संघको मातहतमा वि.स.२०६८ सालमा नेपालको तर्फबाट सुडानमा पुलिस अड्भाइजरकोरुपमा कार्यरत थिएँ।

एक विदेशी सैनिक क्याम्पमा सांस्कृतिक कार्यक्रम हेरिरहँदा मित्र खडिन्द्र खत्रीले सियरालियन एक महिला प्रहरीसँग मेरो परिचय गराए। उसले मेरो लामो नाक, गहुँगोरो छाला, अग्लो शरीर र रङ्गाएको खैरो कपाल निहालेपछि भनिन् तपाईं नेपाली होइन। मलाई किन उल्लु बनाएको ?

पहिलो पटक आफुलाई कसैले नेपाली नभएको ठोकुवा गरेकोमा अनौठो त लाग्यो नै जिज्ञासु पनि भएँ। र सोधेँ किन म नेपाली होइन ?  उसका हातले मेरो शिरदेखि पाउसम्म इशारा गर्दै भनी यो रुपरङ त जोर्डनीको हो।

‘म तलाई आफु नेपाली भएकोमा कसरी विश्वास दिलाउँ ?’ मैँले समाधान मागेँ।

‘अभिवादन गर्।’ उसले आदेशको शैलीमा भनी। म जुरुक्क उठेँ, हात जोडेँ र अलिकति उतिर झुकेर नमस्ते भनेँ। ऊ खित्का छोडेर ताली बजाउँदै हाँसी र भनी ‘हो तँ पक्का नेपाली होस्।’

जसरी संसारमा कतै नभएको त्रिकोण राष्ट्रिय झण्डा नेपालको हो। जसरी बुद्ध नेपाली पुत्र हुन््। जसरी सगरमाथा नेपालको शिर हो त्यस्तै नमस्कार पनि केबल नेपाली हो। नेपाललाई माया गर्ने र नेपालमाथि चासो गर्नेहरुलाई यो जानकारी छ।

निष्कर्ष: अर्थपुर्ण आफ्नो अभिवादन गर्न लजाउनेहरुलाई सजिलो पारिदिएको छ कोरोना र विश्वका शक्तिशाली साशकहरुले समेत। धक फुकाउँ र संसारलाई प्रेम पूर्वक भनौँ- नमस्ते …..।

एकैदिनमा तीन खालको अभिवादन गर्न घडिको सुईतिर आँखा लगाउनुपर्ने झण्झटबाट बालबालिकालाई पनि मुक्त बनाऊँ। स्कुलहरु संशोधित होऔँ।

अभिवादन नामका एकहात ठड्याउने, मुठी उठाउने र हेलोहाइ पनि हाम्रा होइनन्।

अरु धेरै चिजमा परनिर्भरता हाम्रो बाध्यता होला। तर कस्तूरीले आफ्नै सुवास नुबुझेझैँ हामी अभिवादनमा परनिर्भर भइरहेकाछौँ। समय र सन्ततिको भावनाविपरित गोडा वा हातमा ढोग्ने आउटडेटेड अभिवादन र स्वास्थ्यमैत्री नभएका हात मिलाउने र अंकमाल गर्ने काम आजैबाट बन्द गरौँ। दुई पुस्ताबिच सन्धी गरौँ। मिलन विन्दुमा आऔँ।

विगत र वर्तमान दुवै समयको सन्देश पनि यही हो आफ्नै आँगनको फूलबारी गोडौँ, कागजको फूल नखोजौँ। पहिचानका अनगिन्ती नाराकाबिच अन्तर्रराष्ट्रिय पहिचानको यो अवसर नगुमाऔँ, नचुकौँ। अभिवादनका सारा अम्मल त्यागौँ दुई हात जोड्नतिर लागौँ।

बिचार मेरो, व्यवहार तपाईंको।

जेष्ठ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्