प्रतिपक्षी दलको आरोप: प्रदेश सरकार भिजनलेस

जनकपुरधाम-प्रदेश २ सरकार भिजनलेस रहेको प्रतिपक्षी दलहरुले आरोप लगाएका छन्। चौथो अधिवेशनको पहिलो बैठकमा वुधवार प्रदेशसभामा प्रदेश सरकारले कुनै पनि उदाहरणीय काम गरेर देखाउन नसकेको आरोप लगाएका छन् । तिनीहरुले नेताहरुले प्रदेश सरकार जनहितका लागि काम गर्न असफल साबित भई सकेको दाबी गरे।

बजेट ल्याउनु पर्ने चटारोका कारण प्रदेश दुईको चौथो अधिवेशन कोरोना महाामारीको संक्रमणको त्रासका बिच शुरु भएको हो । यस अधिवेशनको पहिलो दिन प्रतिपक्षी दलका नेताहरुले कोरोनाविरुद्धको लडाइँभन्दा सरकार भाषणमा मात्र केन्द्रित रहेको आरोप लगाए।

कोरोना विरुद्धको लडाईमा प्रदेश सरकार एक्लै सबै निर्णय गरेर अघि बढिरहेकोमा प्रमुख प्रतिपक्षी दल नेकपाका नेता सत्यनारायण मण्डलले खेद प्रकट गरे । सरकारले समयानुकूल नीति अवलम्बन गर्न नसक्दा प्रदेशका जनता कोरोनाभन्दा पनि भोकमरीले जोखिममा पर्ने सम्भावना बढिरहेको मण्डलले बताए।

कोरोनाविरुद्धको लडाईमा एकताबद्ध भएरमात्र विजय प्राप्त गर्न सकिने भएकोले अहिले पक्ष प्रतिपक्षको कुनै अर्थ नरहेको बताउँदै मण्डलले भने, ‘तर, सरकारले कहिल्यै प्रतिपक्षसँग सल्लाह लिनु आवश्यक ठानेको छैन ।’

त्यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारलाई काम न काजको संज्ञा दिएका छन् । यादवले प्रदेश सरकारले अरुमाथि आरोप आरोप लगाएर आफू बाँच्न खोजेको आरोप लगाए।

प्रदेश दुईमा कोरोनाको संक्रमण दिन प्रति दिन बढी रहँदा पनि प्रदेश सरकारले ठोस योजना बनाउन नसक्दा क्वारेन्टाइन र आइसोलेसनको कहाली लाग्दो अवस्था रहेको नेता यादवले आरोप लगाए ।

उनले भने ‘कोरोना परीक्षण गर्न विश्वमै किटको अभाव छ, यहाँ पनि समस्या हुनु स्वभाविक मान्न सकिन्छ’, यद्यपि ‘क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन गर्न प्रदेश सरकारलाई कसले रोकेको छ ? प्रदेश सरकारको लापारबाहीका कारण क्वारेन्टाइनबाटै संक्रमण बढिरहेको हामीले महसुस गरेका छौ।’

जेठ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्