मन्दिरमा राखिएका कैलालीका सात जना कोरोना संक्रमितलाई महाकाली अस्पतालमा लगियो

धनगढी– सेती अस्पतालमा आइसोलेसन बेड अभाव भएर फिर्ता गरिएका कैलालीका ७ जना कोरोना संक्रमितलाई महाकाली अस्पताल कञ्चनपुरमा लगिएको छ।

कैलालीको गौरीगंगा नगरपालिका–२ मालिका माध्यमिक विद्यालय र वडा–४ को कालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा भेटिएका ७ संक्रमितलाई महाकाली अस्पताल लगिएको हो।

गौरिगंगा नगरपालिका वडा नं ४ का २४, ३२, १९, २८, २०, २६ र २५ वर्षीय पुरुषहरुलाई बुधबार दिउँसो महाकाली अस्पतालमा पुर्‍याइ आइसोलेसनमा राखिएको महाकाली अस्पातालका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशीले बताए।

मंगलबार राति एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल पुर्‍याइएका उनीहरुलाई अस्पतालले भर्ना गर्न नमानेपछि फर्काइएको थियो। महाकाली अस्पताल ल्याइनुपूर्व बुधबार पनि ती ७ संक्रमितलाई गौरीगंगा नगरपालिका–४ स्थित एक मन्दिरको सभाहलमा राखिएको थियो।

कञ्चनपुरको पुनर्वासका ५ जना, लालझाडीका १ जना, भिनपाका १ जना र शुक्लाफाँटाका १ जना गरी ८ जना संक्रमितलाई पनि महाकाली अस्पतालमै भर्ना गरिएको छ।

अस्पतालका मेसु डाक्टर हरिकुमार श्रेष्ठका अनुसार महाकाली अस्पतालको आइसोलेसनमा संक्रमितको सङख्या १५ पुगिसकेको छ।

संक्रमित थपिँदै जाने हो भने बेडको अभाव देखिने अस्पतालका मेसु डाक्टर श्रेष्ठले बताए। अस्पतालमा २० वटा मात्रै आइसोलेसन बेड रहेका छन्।

जेष्ठ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्