तीन हजार नमूनाले परीक्षणको पालो कुरिरहेका छन्

काठमाडौं- सल्यान जिल्लाबाट रोजगारीका लागि २० हजारको हाराहारीमा मानिसहरु भारत गएका छन्। नेपालमा लकडाउन भएपनि भारतमा रेल सेवा सञ्‍चालनमा आएसँगै भारतबाट नेपाल आउनेको संख्या दिनप्रति दिन बढ्दो छ।

हालसम्म भारतबाट सल्यान फर्किको संख्या ४ हजार कटे पनि करिव १५ देखि १६ हजार जना घर फर्किने अनुमान जिल्ला प्रशासन कार्यलय सल्यानले गरेको छ। सल्यान फर्केका ४ हजार मध्य ३६ सय अहिले पनि जिल्लाका विभिन्न नगरपालीका र गाउँपालिकाको क्वारेनटाइनमा बसिरहेको सल्यान जिल्ला प्रशासन कार्यलयका सुचना अधिकारी नारायण लामिछानेले बताए।

‘क्वारेन्टाइनमा बसेका १६ सय जनाको पीसीआर टेस्टका लागि नमूना संकलन गरिएको छ। जसमध्ये ३ सय जनाको रिपोर्ट सार्वजनिक भएको छ। रिपोर्ट आएका मध्यमा ५४ जनामा संक्रमण देखिएको छ’, सुचना अधिकारी लामिछानेले भने, ‘भारतबाट आएकालाई क्वारेन्टाइनमा राखेर पीसीआर जाँच गर्ने निर्णय गरेका थियौँ र सोही अनुरुप कामा गरिरहेका छौँ। तर रिपोर्ट आउन समय लागिरहेको छ।’

यस्तै जिल्लाको दार्मा गाउँपालिकामा भारतबाट घर फर्किएर क्वारेन्टाइनमा बसेका ६६ जनाको ११ दिन अगाडि स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको थियो। तर मंगलबार २७ जनाको रिपोर्ट आयो। जसका मध्ये ९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। ३९ जनाको रिपोर्ट आउन अझैँ बाँकी छ।

उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको थियो। संक्रमित भएको पुष्टि भएसँगै संक्रमित ९ जनालाई गाउँपालिकाको आइसोलेसनमा राखिएको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी (अरुण)ले बताए।

जिल्लाको सिमाना नजिकै पर्ने चौहरजारी अस्पतालले बिरामीको अवस्था जटिल नभएसम्म भर्ना नलिने बतायो। चौहरजारीपछि जिल्ला अस्पताल सल्यानमा सम्पर्क गरे। जिल्ला अस्पतालले फेरि पनि चौरजहारी अस्पतालसँग समन्वय गर्न आग्रह गर्दै अस्पताल प्याक भएका कारण अस्पतालले बिरामीको भार थाम्न नसक्ने भन्दै उनीहरुको भर्ना लिन मानेन।

‘६६ जनाकै रिपोर्ट पठाएको १२ दिन भयो, अहिलेसम्म २७ जनाको मात्र रिपोर्ट आयो। क्वारेन्टाइनमा बसेका बाँकी २ सय ८९ जनाको रिपोर्ट कहिले दिने हो पत्तो छैन। रिपोर्ट समयमै नदिनु हाम्रा लागि ठूलो समस्या बनेको छ। सुर्खेतमा सम्पर्क गर्दा कहिले मेसिन बिग्रीयो, कहिले पालो आएन, रियजेन्टले काम गरेन, रिपोर्ट नेगेटिभ भएर फेरी टेस्ट गर्दै छौँ भनेर भनिरहेका छौँ।’, अध्यक्ष केसीले भने, ‘जिल्ला अस्पतालले संक्रमित स्वस्थ भएको खण्डमा गाउँपालिकामै आइसोलेसन बनाएर राख्न सल्लाह दियो। सामाजिक विकास मन्त्रीले सहजीकरण गर्ने प्रतिवद्धता गर्नु भएको छ।’

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य भएका कारण र अन्य शैकास्पद व्यक्तिको रिपोर्ट नआएका कारण उनीहरुलाई गाउँपालीकाद्वारा निर्मित अस्थाई आइसोलेसनमा राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले बताए।

उनले भने,‘हामीले सुर्खेत स्वाब पठाउँदा उहाँहरुलाई भन्ने गरेका छौँ। एकै पटक पठाएका नगरपालीका वा गाउँपालिकाको रिपोर्ट एकै पटक पठाइदिनु होला। तर उहाँहरुले चाप धेरै भएको भन्दै रिपोर्ट एक एक गरेर पठाइरहनु भएको छ। जसले गर्दा हाल संक्रमण देखिएका व्यक्तिलाई अस्थाई आइसोलेसनमा राख्ने गरेका छौँ।’

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क हेर्ने हो भने देशभर १ लाख ५५ हजार भन्दा धेरै मानिसहरु क्वारेन्टाइनमा बसिरहेका छन्। भने २ हजार भन्दा बढि सम्भावित संक्रमित आइसोलेसनमा बसिरहेका छन्।

स्वास्थ्य मन्त्रालयले प्रत्येक दिन परीक्षणको दायरा बढाएको बताउँदै आइरहेको छ। परीक्षणको दायरा बढाउँदै गर्दा संक्रमितहरुको संख्या झन झन तीव्र गतिमा बढिरहेको छ। हालसम्म ८० हजार भन्दा बढि पीसीआर परीक्षण भएको छ।

काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत देशभरका विभिन्न २० ठाउँमा पीसीआर विधिबाट परीक्षण भइरहेको छ। संक्रमितको संख्या बढ्दै जाँदा पछिल्लो केही समय यता परीक्षणका लागि संकलन गरिएका नमुना प्रगोगशालामै क्यूमा राख्न थालिएका छन्।

एकै पटकमा सीमित नमुना मात्रै परीक्षण गर्न सकिने भएका कारण संकलन गरिएका नमुना प्रगोशालामा क्यूमा राख्न थालिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन्।

उनले भनिन्,‘नमूना परीक्षण गर्ने मेसिनको क्षमताभन्दा बढी स्याम्पल आन थालेपछि हामीले पालैपालो गर्दा समय लाग्ने गरेको हो। त्यसमा पनि कसैको इमरजेन्सी भएको खण्डमा उक्त नमुनालाई अगाडि राखेर छिटो रिपोर्ट निकाल्ने गरेका छौँ।’

परीक्षणका लागि प्रयोगशालामा पठाइएका ३ हजार नमूना पालो कुरिरहेका छन्। निर्देशक डा. झाले भनिन्,‘प्रयोगशालामा प्रत्येक दिन १५ सयभन्दा बढीको परीक्षण भइरहेको छ। परीक्षणका लागि देशभरबाट नमुना आउने भएकाले क्यूमा छन्। अहिले नमूना परीक्षणमा भन्दा पनि ल्याव बाहिरको प्रोसेसिङ् र बिलिङ्मा समय लाग्ने गरेको छ।’

जसले गर्दा रिपोर्ट आउन कम्तिमा पनि एक हप्ताल लाग्ने गरेको प्रयोगशालाका प्रवक्ता रोजेश गुप्ताले बताए। उनले भने,‘देशभरबाट परीक्षणका लागि नमुना आउने गरेका छन्। जसका कारण अहिले रिपोर्ट आउन एक हप्ताल लाग्ने गरेको छ। चाप कम हुँदा हामीले रिपोर्ट २४ घण्टामा दिने गरेका थियौँ। तर अहिले त्यो स्थित छैन।’

देशभर प्रत्येक दिन ४ हजारको हाराहारीमा नमुना संकलन हुँदै गर्दा ३ हजारको परीक्षण भइरहेको मन्त्रायलले बताएको छ।

जेष्ठ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू