‘लकडाउन चाँडै नसकिए व्‍यावसायीहरु समस्यामा पर्छन्’

काठमाडौँ– अर्थ मन्त्रालयले मंगलबार जेठ २५ गते भित्र कर तिनुपर्ने सूचना जारी गरेको थियो। उक्त सूचनापछि सरकारलाई चौतर्फी रुपमा दबाब भयो। र, उद्योगीहरुले पनि सरकारलाई कर तिर्ने म्याद बढाउन आग्रह गरे। सोही सिलसिलामा अर्थमन्त्रालयले बुधबार उद्योगीहरुसँग गरेको छलफलमा असार ७ गतेसम्मलाई म्याद थप गर्ने सहमति भयो।

उक्त छलफलमा सहभागी भएका उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले कर बुझाउने म्याद थप भए पनि लकडाउन अवधि तोकिएको समयमा नै नसकिए व्यवसायीहरुलाई समस्या पर्ने बताए।

उनले भने, ‘सरकारले असार ७ गतेसम्मलाई म्याद थप गरेको छ। यो लकडाउनमा भर पर्छ। लकडाउनको समयमा नै सकिएन भने व्यवसायीहरुलाई गाह्रो हुन्छ।’

उनले व्यापार व्यवसाय सञ्चालन भइरहेका र तिर्न सक्नेले कर तिनु पर्ने बताए। ‘कर तिर्न सक्नेले समयमा नै तिर्नुपर्छ’, उनले भने, ‘लकडाउन अगाडिको जति रकम उठेको छ, असार ७ गते नै तिर्नुपर्छ भन्ने होइन, त्यो भन्दा अगाडि पनि तिर्नुपर्छ। यसो गर्दा राज्यले पछि अप्ठेरो पर्दा म्याद थप गर्न सक्छ।’

उनका अनसार व्यापार व्यवसाय ठप्प भएका व्यापारीहरुले थप गरेको म्यादभित्र पनि तिर्न सक्छन्। अहिलेको परिस्थितिमा उद्योगी- व्यवसायीले पनि राज्यलाई हेर्नु पर्ने उनले बताए।

यस्तै अर्थसचिव शिशिरकुमार ढुंगानाले कारोबार गरिरहेका व्यापारीहरुले तोकिएको म्यादभन्दा अगाडि कर तिर्न आग्रह गरे। ‘आजको छलफलमा हामीले उद्योगीहरुको मागलाई सम्बोधन गर्‍यौँ। र, कारोबार गरिरहेका लाई तोकिएको म्यादअगावै कर तिर्न भनेका छौँ र कारोबार नभएकाहरुलाई हामीले तोकेको म्यादभित्र बुझाउनु भनेका छौँ’, उनले भने।

उनले यदि लकडाउनको अवधि बढ्यो भने यसबारे पुनः छलफल गर्ने बताए। नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, अर्का उपाध्यक्ष किशोर प्रधान र उद्योग समितिका सभापति अञ्जन श्रेष्ठ सचिव ढुंगानासँग छलफल गर्न सिंहदरबार पुगेका थिए।

जेठ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्