होटलमा क्वारेन्टिन बस्दा ३७ हजार ५ सयदेखि १ लाख २० हजार रुपैयाँसम्म खर्च

काठमाडौँ–सरकारले विदेशबाट आफ्ना नागरिक ल्याउने फर्काउने तयारी गरेको छ। भारतबाहेक अन्यत्रको हकमा त्यसरी नेपाल फर्कन चाहने नागरिकले हवाई टिकट र क्वारेन्टिनको शुल्क आफैँ तिर्नुपर्ने छ।

विदेशबाट फर्कने नेपाली नागरिकको लागि होटलमा क्वारेन्टिनको व्यवस्था गर्न होटल ब्यवसायीहरुलाई सरकारले निर्देशन दिएको छ। नेपाल फर्कने नागरिकहरुले  होटलमा १५ दिन क्वारेन्टिन बस्दा ३७ हजार ५ सय रुपैयाँदेखि १ लाख २० हजार रुपैयाँसम्म खर्च लाग्ने देखिएको छ।

होटल संघ नेपालले क्वारेन्टिनका लागि तयार पारेको दरअनुसार चार तारे होटलमा बस्न चाहने व्यक्तिले प्रतिव्यक्ति प्रतिदिन ८ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। १५ दिन क्वारेन्टिनमा बस्दा प्रतिव्यक्ति एक लाख २० हजार रुपैयाँ तिर्नुपर्छ।  यदि एउटा कोठामा दुई जना बस्न चाहेमा प्रतिव्यक्ति ५ हजार ५ सय पर्ने छ।

यस्तै तीन तारे होटलका लागि प्रति व्यक्ति शुल्क ६ हजार छ भने एउटा कोठामा दुई जना बस्दा ३ हजार ५ सय पर्नेछ। यसैगरी एक तारे होटलमा बस्दा प्रति व्यक्ति शुल्क ४ हजार रुपैयाँ रहेको छ भने यदि एउटा कोठामा दुई जना बस्दा २ हजार ५ सय रुपैयाँ पर्नेछ। अर्थात सबैभन्दा कम मूल्यमा कोठा साझेदारी गरेर बस्दा पनि १५ दिनको शुल्क ३७ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ।  उक्त शुल्क कर सहित तोकिएको हो।

सरकारसँग होटल संघ नेपाल (हान) ले दररेटबारे छलफल टुंग्याइसकेको भने छैन। केही दिनमै अन्तिम दररेट सार्वजनिक हुनेछ।

जेठ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्