जर्ज फ्लोइड मृत्यु प्रकरण

घुँडाले फ्लोइडको घाँटी थिच्नेसहितका बर्खास्त चारै प्रहरीविरुद्ध नयाँ अभियोग दर्ता

जर्ज फ्लोइडको मृत्युलाई लिएर नयाँ अभियोग दर्ता भएको छ । फ्लोइडलाई बरबर तरिकाले पक्राउ गरेको अभियोगपछि बर्खास्त गरिएका मिनियापोलस प्रहरीका चारै अधिकारीविरुद्ध अभियोग दर्ता भएको अदालतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको मे २५ मा अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसका ४६ वर्षे निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरी हिरासतमै मृत्यु भएको थियो । उनलाई स्थानीय प्रहरी अधिकारी (श्वेत) ले पक्राउ गर्ने क्रममा घुँडाले घाँटीमा झण्डै ९ मिनेट थिचेको भिडियो सार्वजनिक भएको थियो ।

त्यसक्रममा फ्लोइडले ‘मैले सास फेर्न सकिरहेको छैन’ भनिरहे, तर प्रहरी अधिकारीले घाँटी थिच्न छोडेनन् । त्यसलगत्तै फ्लोइडको मृत्यु भयो । आधिकारिक पोष्टमार्टम रिपोर्टले फ्लोइडको मृत्युलाई होमोसाइड अर्थात मानव हत्या भनेको छ ।

उनको निधनपछि अमेरिकाका सबै राज्यमा प्रहरी ज्यादती र रंगभेदको विरोध तथा न्यायको माग गर्दै लगातार प्रदर्शन भइरहेको छ । प्रदर्शन सुरु भएपछि घाँटीमा घुँडाले थिच्ने डेरेक चुभनसहित त्यहाँ उपस्थित अरु तीन प्रहरी अधिकारीलाई बर्खास्त गरिएको थियो ।

चुभनमाथि ‘थर्ड–डिग्री मडर’ को अभियोगमा मुद्दा दर्ता गरी उनलाई पक्राउ गरिएको थियो । तर पनि प्रदर्शन रोकिएन, प्रदर्शनकारी र फ्लोइडको परिवारले ‘फस्ट–डिग्री मडर’ कै अभियोग दर्ता हुनु पर्ने माग गर्दै आएका छन् ।

पछिल्लोपटक बर्खास्त भएका सबै चार प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोग दर्ता भएको र चुभनमाथि ‘सेकेण्ड–डिग्री मडर’ को अभियोग लागेको अदालतको कागजतमा उल्लेख छ ।

यसअघि कुनै पनि अभियोग दर्ता नभएका अरु तीन पूर्व प्रहरी अधिकारीमाथि हाल हत्याका लागि सहयोग वा उक्साएको अभियोग दर्ता गरिएको हो ।

अमेरिकामा अश्वेत अर्थात अफ्रिकन–अमेरिकीमाथि प्रहरीले ज्यादती गर्ने गरेको र उनीहरुको हत्या हुने गरेको अभियोग लामो समयदेखिको हो ।

फ्लोइडको निधनले संस्थागत रुपमा रहेको रंगभेद विरुद्ध अमेरिकाभर आन्दोलन चर्किएको हो । विगत ९ दिनदेखि त्यहाँ प्रदर्शन भइरहेको छ ।

केही स्थानमा प्रदर्शनले हिंसात्मक रुप लिएको छ । शहरहरुमा कर्फ्यू लगाइए पनि प्रदर्शनकारीले तोडेका छन् । केही ठाउँमा प्रदर्शनको क्रममा लुटपाट, तोडफोड तथा आगजनी भएको छ ।

तर अधिकांश प्रदर्शनहरु भने शान्तिपूर्ण रहेका छन् । शान्तिपूर्ण प्रदर्शनमा पनि सुरक्षा बलले ज्यादती गरेको भन्दै आलोचना भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्दोलन दबाउनका लागि सेना परिचालनदेखि सम्भव भएसम्मका सबै उपाय अपनाउने बताएपछि तीव्र आलोचना भएको छ ।

मिनेशोटाका महान्यायाधीवक्ता किथ् एलिसनले आफूहरुको एक मात्र उद्देश्य न्याय प्रदान गर्नु रहेकाले नयाँ अभियोग दर्ता गरिएको बताएका छन् ।

चुभनसँगै बर्खास्तमा परेका अधिकारीहरु थोमस लेन, जे अलेक्जान्डर कुएङ्ग र टोउ थाओमाथि हत्यालाई सहयोग गरेको अभियोग दर्ता भएको उनले बताए ।

जेठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्