जर्ज फ्लोइड मृत्यु प्रकरण

चुप बस्नु हिंसा जस्तै घातकः जिमी कार्टर

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरले जर्ज फ्लोइडको मृत्युपछि भएको प्रदर्शनका सम्बन्धमा वक्तव्य जारी गरेर अपराध विरुद्ध नबोल्नु हिंसा जस्तै खतरनाक हुने चेतावनी दिएका छन् ।

जीवित अमेरिकी पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामा भन्दा कार्टर सबैभन्दा पोको उमेरका हुन् । कार्टरले सत्तामा रहेका व्यक्ति चुप बस्नु हिंसा भन्दा पनि खतरनाक हुने बताएका हुन् ।

कार्टरले भनेका छन्, ‘सक्ता र शक्तिमा रहेका व्यक्तिहरु, विशेष अधिकारी प्राप्त तथा नैतिक विवेक भएका व्यक्तिहरु बोल्नै पर्छ, उनीहरुले आवाज उठाउनुको विकल्प छैन । उनीहरुले छालाको रंगको आधारमा विदेश गर्ने प्रहरी प्रशासन र न्याय प्रशासन अस्वीकार्य भन्नु पर्छ ।’

श्वेत र अश्वेतबिच रहँदै आएको आर्थिक खाडललाई अनैतिक भन्दै कार्टरले त्यसलाई नै बढावा दिने खालको सरकारी प्रणालीले अमेरिकी एकीकृत प्रजातन्त्रलाई छायामा पारेको बताएका छन् ।

उनले भनेका छन्, ‘मानिसलाई अमानवीयकरण गरिनुले हामी सबैलाई अवमुल्यन गर्छ, मानवीयता अति सुन्दर छ र यसमा असीमित विविधता छ । हाम्रो साझा मानवीयताको बन्धनले हामीलाई विभाजन गरिरहेको भय र पूर्वाग्रहलाई तोड्न सक्नु पर्छ ।’

आफू र आउने पुस्ताका लागि शान्तिपूर्ण तथा समानताले सजिएको विश्व बनाउने जिम्मा हामी सबैको रहेको अमेरिकी पूर्व राष्ट्रपति कार्टरले बताएका छन् ।

उनले भनेका छन्, ‘हामीलाई नागरिक जस्तै राम्रो सरकार चाहिन्छ र हामी अहिले देखिएको भन्दै राम्रा छौँ ।’

जेठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्