मैतीदेवीमा लकडाउन उल्लंघन गर्दै व्यापारीले खोले सबै पसल, प्रहरीले बन्द गरायो!

काठमाडौँ – अत्यावश्यक बाहेकका पसलहरु पनि खोलेपछि काठमाडौँको मैतीदेवी क्षेत्रमा बिहीबार बिहान पनि विवाद भएको छ । बुधबार सो क्षेत्रका व्यवसायीले सबै पसल खोल्न पाउनु पर्ने भन्दै लकडाउन उल्लंघन गरेपछि प्रहरीले पसलहरु बन्द गराएको थियो ।

बिहीबार बिहान फेरि अत्यावश्यक बाहेकका फेन्सी पसलदेखि रेस्टुरेन्टसम्म खुला गरेपछि विवाद भएको हो । सबै पसल खुला गरेपछि प्रहरी र स्थानीय स्वयम् सेवकले पसलहरु बन्द गराएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीका अनुसार स्थानीय पसलेले पूर्व सहमति विपरित पसल पूर्ण रुपमा खुला गरेको बताएका छन् । बुधबार डेढ सयको हाराहारीमा स्थानीय पसलेहरु वडा कार्यालय घेराउ गर्न पुगेको र आफूले रेस्टुरेन्ट बाहेकका पसलहरु बिहानमा सामाजिक दूरी कामय गरी केही घण्टा आंशिक रुपमा मात्रै खोल्न दिने सहमति गरेको भए पनि बिहीबार बिहान त्यस विपरित कार्य भएको कार्कीले बताए ।

पूर्ण रुपमा सबै पसल खुला गर्ने पक्षमा आफू नरहेको बताउँदै उनले व्यापारीको मर्कालाई मध्यनजर गरेर बिहान केही घण्टा रेस्टुरेन्ट बाहेकका पसलहरु आधा सटर खोलेर व्यवसाय गर्न वडाले छुट दिएको भए पनि त्यसको उल्लंघन भएकाले प्रहरीले पसलहरु बन्द गराएको जानकारी दिए ।

स्थानीय व्यापारीको गुनासोलाई मेयरसम्म लगेर त्यहाँबाट औपचारिक निर्णय भएपछि मात्रै पसलहरु खोल्ने–नखोल्ने बारे जानकारी हुने उनले स्पष्ट पारेका छन् ।

यसअघि बुधबार लकडाउनको उल्लंघन गर्दै खोलिएका पसलहरु प्रहरीले बन्द गराएपछि व्यापारीहरुले नाराबाजी गरेका थिए । सो क्रममा प्रहरी र व्यापारीबीच केहीबेर तनाव भएको थियो ।

जेठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्