हाम्रो आवाज पनि सुन्नुहोस्- ५

सिलाइकाे काम गरेर कहिलेसम्म हेरिङ मेसिन सुन्न सकूँला?

सानै उमेरमा कक्षामा पढ्दै गर्दा ठूलो ज्वरोको कारण मेरो सुन्ने शक्ति गुमाउन पुगेको म त्यसपछिको दिनहरु एकदमै असजिलोसँग बितिरहेको महसुस भयो। त्यस बेलामा पढिरहेको स्कुल घरबाट पनि टाढा भएको साथै म कान नसुन्ने भएपछि मलाई घर परिवारले एक्लै टाढा पठाउन मन गर्नु भएन। त्यसपछि गाउँको काकाको छोरी पनि एउटै क्लासमा पढ्ने भएकाले अर्को स्कुल जान थाले। एक दिन म स्कुल गएको थिइन। भोलिपल्ट सरले केके सोध्नु भयो, मैले राम्रोसँग सुनिन। अनि मैले यो सोध्नु भाको हो कि भनेर त्यसको जबाफ दिएँ। तर सरले उल्टो पिट्नुभयो मलाई। अनि त्यो दिनदेखि डरले म स्कुल गइन। मेरो स्कुले जीवन त्यति नै थियो।

तर म लेखेको बुझ्ने भए पनि पढिरहेको स्कुल पनि नसुन्ने भएको कारणले छोड्नुपर्‍यो। साथीहरुबाट टाढा हुन पुगेँ। बिस्तारै उनीहरुसँगको संगत पनि छुट्न पुग्यो। एक्लोपनासँग जुधिरहेँ। भाइदाइहरु स्कुल गए पनि म चाहिँ सुन्न नसकेर बुझ्न सक्दिन भन्ने कुरा बुझेर मैले आत्मसात गरेको थिएँ। यसरी मेरो स्कुले जीवन एकदम छोटो समयमात्र हुन पुग्यो।

मैले आफ्नै आवाज सुन्न नसकेपछि बोल्न पनि खासै मन नलाग्नु र बाहिर कहाँकहाँ केके भइरहेको खासै मतलबै नहुने रहेछ। बाहिरका ती कुराहरु बुझ्न त परै जावस्, आफ्नै घरभित्र केके भइरहेको छ, त्यो पनि बुझ्न सक्दिन थिएँ म। म सुन्न नसक्नु र सुन्न नसकेकै कारण कुरा बुझ्न नसक्ने भएको थिएँ।

परिवारमा र ममा सांकेतिक भाषामा शब्दहरु पनि धेरै नभएकै कारण आफ्नो धेरै कुरा बुझाउन नसक्ने थिएँ।

मैले धेरै पढ्न नपाए पनि ६ कक्षासम्म पढेको कारणले लेखेको भने म सबै बुझ्न सक्छु। मलाई कहाँकहाँ के के भैरहेको छ, बुझ्ने मन छ, तर मलाई बुझाइदिने मान्छे छैन र न आफैँ बुझ्न सक्छु। मैले सुन्न नसके पनि आफ्नो भविष्यका लागि मैले केही बाटो अपनाउनुपर्छ भनी मलाई सांकेतिक भाषाको आवश्यकता छ भन्ने बुझेँ। जुन मैले अरु सुन्न नसक्ने बहिराहरु देखेको थिएँ, जो सांकेतिक भाषामा कुरा गर्ने गर्दथे।

त्यसकारण मैले अब के गर्ने? सांकेतिक भाषा सिक्ने कि हातमा केही सीप सिक्ने भन्ने सोचमा पुगेँ। म छोटो समयमा धेरै काम सिक्न चाहन्थेँ। त्यसैले म सांकेतिक भाषा र सिपलाई सँगसँगै सिक्ने उद्देश्यले म एउटा संस्थामा उपस्थित भएँ। जहाँ धेरै बहिराहरु थिए र उनीहरु सांकेतिकमा कुरा गर्दथे।

सुरुमा सांकेतिक भाषाको ज्ञान नभएको कारण काम गर्न र कुरा गर्न मलाई एकदमै गाह्रो महसुस भयो। तर अन्य उपाय खोज्दै उनीहरुको गरेको इशारा नबुझेपछि साथीहरुलाई लेखेर बुझाइदिन आग्रह गर्दै म अगाडि बढिरहेँ। लगभग ३ बर्ष त्यही संस्थाभित्र रहेर मैले आफ्नो सीप सँगसँगै साथीहरुसँग कुरा गर्दै सांकेतिक भाषा सिक्ने अवसर पाएँ। सांकेतिक भाषाको ज्ञान भएपछि बहिरा साथीहरुसँग कुरा गर्न अलि सजिलो महसुस भयो। मैले सुन्नेहरुसँग कुरा गर्दा केही ओठको चालमा बुझ्थेँ भने बहिराहरुसँग केही सांकेतिक भाषा।

मैले फेसबुकलाई साथी बनाएको थिएँ। फेसबुकमा नै रमाउँथे। त्यसरी नै दिनहरु बिताइरहनेको क्रममा फेसबुकमा एकजना समाजसेवी दाइदिदीहरुसँग भेट हुन पुग्यो। उहाँहरुलाई म नसुन्ने भन्ने थाहा थिएन। उहाँहरुले मलाई फोन गर्नु हुन्थ्यो, मैले फोन उठाउँथे तर जवाफ दिन सक्दिन थिए। पछि उहाँहरुले म नसुन्ने भन्ने थाहा पाएपछि टिचिङ हस्पिटलमा गएर उपचार गर्न सल्लाह दिनुभयो। तर मेरो सुन्ने उपाय भने हेयरिङ मेसिन (कक्लियर इम्ल्यान्ट) मात्र रहेछ। तर त्यो एकदम महँगो रहेछ। पछि उही समाजसेवीहरुले मेरो घर परिवारको आर्थिक अवस्था पनि थाहा पाउनुभयो र उहाँहरुले आफ्नो साथीहरुबाट मेरो लागि सहयोग जुटाउने अभियान चलाउनुभयो। त्यसबाट उठेको पैसाले मेरो कानमा एउटा हेयरिङ मेसिन (कक्लियर इम्ल्यान्ट) राखियो।

सुरुमा सांकेतिक भाषाको ज्ञान नभएको कारण काम गर्न र कुरा गर्न मलाई एकदमै गाह्रो महसुस भयो। तर अन्य उपाय खोज्दै उनीहरुको गरेको इशारा नबुझेपछि साथीहरुलाई लेखेर बुझाइदिन आग्रह गर्दै म अगाडि बढिरहेँ।

पछिल्लो समयमा सबैको साथ सहयोग पाएर मैले कानमा हेयरिङ मेसिन (कक्लियर इम्ल्यान्ट) राख्ने अबसर पाएँ र हेयरिङ मेसिन राखेपछि मेरो सुन्ने अबस्थामा सुधार भयो। तर मैले सानै उमेरमा कुरा सुन्दै सिक्ने उमेरमा मैले सुन्ने शक्ति गुमाएकै कारण अहिले सुनिरहे पनि ब्यक्तिले के भनिरहाछन् भन्ने कुरा बुझ्न भने कठिन भैरहेको छ। यसको लागि मैले कुरा बुझ्न समय लाग्छ भनेर टिचिङ हस्पिटलको डाक्टरहरुले भनिरहनु हुन्छ।

आफ्नो सीप (सिलाइ) अनुसारको रोजगार पाएपछि हालको अबस्थामा म एउटा हत्तिहत्ती नामको आर्थिक अबस्था कम्जोर भएका सीमान्तकृत र पिछडिएका महिलाहरुलाई रोजगार दिने संस्थामा काम गर्छु। संस्थाभित्र हामी लगभग ७ जना छौँ। उनीहरु र ममा एकदम फरक जस्तो लाग्छ। फरक यति हो म राम्रोसँग सुन्न नसक्नु राम्रोसँग बोल्न नसक्नु र छिटो बोलेको बुझ्न नसक्नु। सुन्ने ब्यक्तिले के भन्दै छन्, त्यो तत्काल बुझ्न नसक्नु। गर्नुपर्ने काम कहिले काहि फेसबुक मेसेन्जरमा टाइपिङबाट बुझाउनु भए पनि सबै जसो कुराहरु बुझाएर बस्न भ्याउनु हुन्न र धेरै कुरा छुट्छ। वास्तवमा धेरै जसो कुरा हरु नै बुझ्न पाउँदैन।

तर पनि मैले बुझ्ने प्रयास गरिरहन्छु। साथीहरुलाई बुझाइदेऊ भन्न पनि गाह्रो। कस्तो केही नबुझेको भन्ला कि भन्ने डर लाग्छ। आजकल हेयरिङ मेसिन राखेपछि बाहिर कहिँ कतै जान डर नलागे पनि बोल्न चाहिँ अलि कठिन महसुस हुन्छ। ब्यक्ति बोलिरहेको सुनिरहे पनि खासै राम्रो नबुझे पछि अलि अलि इशाराको भरमा चल्नु परेको छ। हेयरिङ मेसिन राखेर सुन्नु र नसुन्नुमा भने धेरै फरक हुदो रहेछ। हेयरिङ मेसिनलाई ६-६ महिना मा म्यापिङ गरिरहनुपर्ने हुन्छ। ब्याट्री चार्ज गरेर चलाउन मिले पनि कहिलेकाहिँ त बत्ती नै आउँदैन। घरमा बत्ती नभएपछि चार्ज गर्न पाउँदैन, त्यसैले कहिलेकाहिँ किनेर पनि ब्याट्री प्रयोग गर्नुपर्छ।

घरमा बत्ती भएन भने चार्ज गरी चलाउन कुरा पनि भएन। अहिलेको यो अवस्थामा किनेर चलाऊ भने पनि ब्याट्री किन्न जान सक्ने कुरा भएन। फेरि हेयरिङ मेसिनको ब्याट्री धेरै महँगो छ, जहाँ पायो त्यहीँ पाइन्नँ। एकपटकमा ३ ओटा ब्याट्री हाल्नुपर्छ। एकै पटकमा ४ सय रुपैयाँ जति खर्च हुन्छ। त्यो पनि तीन दिनजति मात्र चल्छ। त्यसैले अहिले घरमा बस्दा कसैको कुरा नसुनी मेसिन झिकेर राख्छु, मैले केही थाहा पाउँदिन, घरमा के भइराखेको हुन्छ। साह्रै गाह्रो छ। यसैले बत्ती नभई मेरो चार्जबाट चल्ने ब्याट्री चार्ज गरी चलाउन नमिल्दा चाहिँ साहै गाह्रो हुने।

समाजसेवी दाइदिदीहरुले मेरो कान सुन्ने बनाइदिनुभयो। अर्को दुनियाँ र नयाँ जीवन देखाइदिनु भयो तर अबको जीवन भने मैले यो हेरिङ मेसिनमा लाग्ने खर्च भने आफै उठाउनुपर्ने छ। हेयरिङ मेसिनको म्यापिङमा प्रत्येक पटक चार हजार खर्च हुन्छ। म्यापिङ भने समय समयमा गरिरहनु पर्छ। मैले यो सिलाइको कामबाट उठेको पैसाले कहिलेसम्म सक्छु मलाई नै थाहा छैन।

हाल विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट बच्न देशलाई नै लकडाउन गर्नु परको छ। यस्तो बेलामा हामी सबैजना सुरक्षितका साथ रहन घरमै बस्न जरुरी छ। यो कोरोनाको कारण कहाँ कति मर्‍यो, संक्रमित कति पुग्यो, के कस्ता सावधान गर्नु पर्छ, त्यो भरपर्दोसँग बुझाइदिने कोही भेटिन मैले। घरमा टिभी छैन, नत्र त अलिअलि सुनेर भए पनि बुझ्न सक्थेँ होला, यो लकडाउनको समयमा। यो समय हावाहुरी चल्ने समय पनि हो। एक दिन मात्र हावा धेरै चल्यो भने बत्ती आउनै छोड्छ घरमा। अनि बत्ती नै नभएसी ब्याट्री  चार्ज गर्न पाउँदैन। ब्याट्री सकेको बेला हेयरिङ मेसिन त्यतिकै थन्काएर राख्नुपर्ने हुन्छ। कहाँ के के भैरहेछ, मोबाइल प्रयोग गरी हेरौँ- अनलाइनपिच्छे नै कुरा फरक फरक छाप्छन्। कुन अनलाइनको कुरामा विश्वास गरौँ। दोधारमा पर्छु। कहिले बत्ती नभकोको कारण मोबाइल पनि चार्ज गर्न पाउँदैन। समाचार तथा सूचनाहरू हेर्न कहिले मोबाइलको ब्याट्री, कहिले रिचार्जको कारण रोकिन्छ। छरछिमेकसँग बुझौँ- ओठको चालले बुझ्नुपर्ने पनि अहिले माक्सले छोपिरहेको हुन्छ, साथै सामाजिक दूरी कायम गर्नुपर्ने। यस्तै छ अहिलेको मेरो अवस्था।

(लेखिका बोलीको विकास भइसकेपछि सुनाइ क्षमतामा कमी भएको व्यक्ति हुनुहुन्छ।)

जेष्ठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्