सुर्खेतमा क्वारेन्टिनबाट घर फर्केका एक युवाको मृत्यु

सिमकोट – सुर्खेतमा एक युवाको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका वडा नम्बर १ को हाँसेका २० वर्षे युवाको रहेको जनाइएको छ । उनको बिहीबार बिहान मृत्यु भएको हो ।

जेठ ७ गते भारतबाट फर्किएर नगरपालिकाको जनता मावि क्वारेन्टिनमा बस्दै आएका ती युवा बुधबारमात्र आरडिटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका थिए । उनीसहित अन्य पाँचजना घर फिर्ता भएका थिए ।

क्वारेन्टिनबाट घर गएपछि पनि एक हप्तासम्म होम क्वारेन्टिनमा बस्ने सल्लाह दिइएको नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बताए । बुधबार तीन बजे उनी क्वारेन्टिनबाट घर हिँडेका थिए । पाँचैजना गाउँ नजिकैको सामुदायिक भवनमा बस्ने गरी राति साढे दश बजे गाउँ पुगेका थिए ।

उनी बिहान दुई बजे बिरामी भएको खबर आएको र वडा नम्बर १ का अध्यक्ष धनबहादुर थापा सामुदायिक भवनमा पुग्दा ती युवाको मृत्यु भै सकेको थियो ।

खाना खाएर सुतेपछि एक्कासी घाँटी घ्यार घ्यार गरेको र त्यसको १५ मिनेट मै मुत्यु भएको सँगै रहेका साथीहरुले बताएको वडा अध्यक्ष थापाले जानकारी दिए ।

ती युवाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि वीरेन्द्रनगर पठाउने तयारी भइरहेको छ । पीसीआर रिपोर्टपछि मात्र मृत्युको कारण भन्न सकिने नगर प्रमुखले बताए ।

जेठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्