ट्रम्पले अमेरिकीलाई विभाजन गरे, परिपक्क नेतृत्व प्रदान गर्न सकेनन्ः पूर्व रक्षामन्त्री म्याटिस

अमेरिकाका पूर्व रक्षा मन्त्री जेम्स म्याटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पको निन्दा गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकीबिच विभाजन सिर्जना गरेको तथा शक्तिको दुरुपयोग गरेको आरोप म्याटिसले लगाएका हुन् ।
दुर्लभ सार्वजनिक टिप्पणीमा म्याटिसले राष्ट्रपति ट्रम्पले विभाजनको पक्षमा वकालत गरेको तथा परिपक्क नेतृत्व प्रदान गर्न असफल भएको आरोप लगाएका छन् ।
जर्ज फ्लोइडको निधनपछि प्रहरी ज्यादती तथा रंगभेदविरुद्ध भएको प्रदर्शनको व्यवस्थापनमा ट्रम्प असफल भएको म्याटिसले बताएका छन् । ट्रम्पको आक्रोश र धम्कीले प्रदर्शनलाई थप उग्र बनाएको उनको भनाई छ ।
म्याटिसको टिप्पणीको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले उनी अमेरिकाको इतिहासमै सबैभन्दा ‘ओभररेटेड जनरल’ रहेको बताएका छन् । उनले पद छोडेकोमा आफूलाई खुशी लागेको ट्रम्पले बताएका छन् ।
ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने निर्णय गरेपछि त्यसमा असहमति जनाउँदै म्याटिसले सन् २०१८ मा रक्षा मन्त्रीबाट राजीनामा दिएका थिए ।
त्यसपछि म्याटिस चुप रहँदै आएका थिए । तर बुधबार द एट्लान्टिक म्यागजिनमा प्रकाशित भएको सामग्रीमा म्याटिसले ट्रम्पको आलोचना गरेका हुन् ।
म्याटिसको टिप्पणीपछि ट्रम्पले शृङ्खलाबद्ध ट्वीट गरेर उनको आलोचना गरेका छन् । म्याटिसलाई आफूले बर्खास्त गरेको दाबी ट्रम्पले गरेका छन् ।
द एट्लान्टिकमा म्याटिसले भनेका छन्, ‘मेरो जीवनकालमा डोनाल्ड ट्रम्प पहिलो राष्ट्रपति हुन्, जसले अमेरिकी नागरिकलाई एकतामा बाँध्न प्रयास गरेनन् । यहाँसम्म की एकता कायम गर्ने प्रयास गरेको नाटकसम्म गरेनन् ।’
म्याटिसले भनेका छन्, ‘ट्रम्पले पछिल्लो तीन वर्षमा जानिबुझी गरेको विभाजनको प्रयासको परिणाम देखेका छौँ । हामीले तीन वर्षको अपरिपक्क नेतृत्वको परिणाम अहिले देखिरहेका छौँ ।’