खुल्न थाले विराटनगर महानगर भित्रका बजारहरु

विराटनगर – विराटनगर क्षेत्रको मुख्य बजारका अधिकांश पसलहरु बिहीबार बिहानदेखि खुलेका छन् । मयसअघि अत्यावश्यक सामग्रीका पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुल्ने गरेका थिए ।

तर बिहीबार बिहानदेखि व्यवसायीले सबैखाले पसल खोलेका हुन् । महानगरपालिकाले सर्वपक्षीय छलफलपछि बजार मध्यान्ह १२ बजेसम्म खोल्नका लागि समन्वय गरेको थियो।

विराटनगर महानगरका मेयर भीम पराजुलीले सामाजिक दूरी कायम गर्दै बजार खुला गरिएको जानकारी दिए। कोभिड–१९ बाट जोगिने गरी सुरक्षित रुपमा बजार खुला गरिएको भए पनि तत्कालका लागि व्यायामशाला, ब्युटीपार्लर, होटल रेष्टुरेन्ट लगायतका व्यवसाय खोल्न हतार नगरिएको बताए।

बिहीबार बिहानैदेखि मुख्यबजार मेनरोडमा रेडिमेड कपडाका पसलदेखि पुस्तक पसलसम्म खुलेका छन्। महानगरले खरिद बिक्रीका लागि बजार जाने सर्वसाधारणले अनिवार्य मास्क लगाउने, सेनेटाइजर लगाउने र पसलले हातधुने साबुनपानीको व्यवस्था गर्नुपर्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले अत्यावश्यक पसल मात्र खोल्नका लागि सहजिकरण गरिएको जनाएको छ ।

मध्यान्ह १२ पछि भने प्रहरीले पेट्रोलिङ गर्दै बजार तथा पसल बन्द गर्न आग्रह गरेको थियो। त्यसैगरी सिटी रिक्सा, टेम्पो लगायतको सञ्चालनमा रोक यथावत रहेको महानगरले जनाएको छ।

जेष्ठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्