खाडीमा रहेका अलपत्र नेपालीको उद्धारसँगै अलपत्र शवहरु ल्याउने तयारी के छ?

फाइल तस्बिर

काठमाडौं – तेस्रो मुलुकमा अलपत्र नेपालीहरु शुक्रबारदेखि नेपाल आउँदै छन्।

युएईबाट फ्लाई दुबईले २ सय ३१ नेपाली ल्याउँदै छ भने म्यानमारबाट पनि त्यहाँको आर्मीको जहाजले दुई वटा विमानमार्फत नेपालीलाई स्वदेश फर्काउँदै छ। सरकारले जुन १० देखि उद्धार गर्ने तयारी गरिरहेपनि सम्बन्धित देशले नै ल्याइदिने भएपछि अलपत्र नेपालीहरु चाँडै फर्कन लागेका हुन्।

सरकारले केही साताअघि मात्र विदेशमा रहेका अलपत्र नेपालीहरु उद्धार गर्ने निर्णय गरेको थियो। खासगरी वैदेशिक रोजगारीका लागि खाडीमा रहेका दुतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण संकलन गरिरहेका छन्। अलपत्र नेपालीहरुलाई चार्टर्ड विमानमार्फत नेपाल फर्काइँदै छ। यसले विभिन्न कारणले मृत्यु भई अलपत्र शव स्वदेश फर्कने आशा पनि उनिहरुको परिवारलाई पलाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले शव ल्याउने विषयमा पनि समन्वय भइरहेको बताए। ‘ हामी समन्वय गरिरहेका छौँ तर ठोस निर्णय भइसकेको छैन’, सहसचिव घिमिरेले भने।

वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा विदेशमा एक सय ५० जनाभन्दा बढी नेपाली श्रमिकको शव अलपत्र रहेको छ। लकडाउनका कारण शवहरु नेपाल ल्याउन असम्भव भएपछि सरकारले रोजगारदाता देशमै दाहसंस्कारका लागि सहमती दिने मृतकका परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो।

हालसम्म ७५ परिवारले त्यसरी सहमति दिएका छन्। अलपत्र शवहरु अधिकांश खाडीका कतार, यूएई, साउदी अरबलगायत देशमा छन्।

 

जेष्ठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू