राप्ती प्राविधिक शिक्षालयमा एक सय बेडको आइसोलेसन, सुरक्षा र व्यवस्थापनको जिम्मा सेनालाई

दाङ– राजपुर गाउँपालिकामा बुधबार र बिहीबार गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भयो। उनीहरुलाई आइसोलेसनमा भर्ना गर्नुपर्ने भएपनि क्वारेन्टाइनमा छुट्टै बेडको वन्दोवस्त गरेर राखिएको छ। कोरोना विशेष अस्पताल बेल्झुण्डीमा बेड खाली नभएपछि क्वारेन्टाइनमै राख्नु परेको हो।

संक्रमितको संख्या बढ्दै जाँदा उनीहरुको उपचारमा समस्या पर्न थालेको छ। आइसोलेसन बेड नहुँदा उपचारमा परेको समस्या समाधान गर्न देउखुरीमा सय बेडको आइसोलेसन कक्ष बनाउन थालिएको छ।

राप्ती गाउँपालिका वडा नं. ४ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा सय बेडको आइसोलेसन कक्ष स्थापना गर्न थालिएको छ। बिहीबार नेपाली सेनाको टोलीले आइसोलेसन कक्ष राख्ने ठाउँको सरसफाई गरेको छ। नेपाली सेनाको सुरक्षा र व्यवस्थापनमा सय वेडको आइसोलेसन कक्ष शुक्रबारबाट सञ्चालनमा आउने प्रदेशसभा सदस्य इन्द्रजीत थारुले जानकारी दिए। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका फिजिसियन डाक्टरको नेतृत्वमा स्वास्थ्यकर्मी खट्ने छन्।

देउखुरीका चार ओटा पालिकामा रहेका एमबीबीस डाक्टर र स्वास्थ्यकर्मी परिचालित हुनेछन्। कोरोना संक्रमितको संख्या थपिदै गएपछि आइसोलेसनमा राख्नुपर्ने बिरामी क्वारेन्टाइनमै बस्नु परेको छ। कोरोना संक्रमित बिरामीको उपचारलाई प्रभावकारी बनाउन आइसोलेसन कक्ष स्थापना गरिएको हो।

प्राविधिक शिक्षालयमा स्थापना भएको आइसोलेसनमा कोरोना संक्रमित तर स्वास्थ्य अवस्था सामान्य भएका बिरामीलाई राखिने छ।

‘कोरोना संक्रमित तर उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएका बिरामीलाई राखिने छ’, प्रदेशसभा सदस्य इन्द्रजित थारुले भने, ‘प्रदेश सरकारले तराईका जिल्लामा दुई सय बेडको आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको छ। सोही निर्णयको आधारमा शिक्षालयमा अहिलेलाई सय बेडको आइसोलेसन कक्ष तयार भएको छ।’

यो आइसोलेसन निर्माण र व्यवस्थापनमा स्थानीय सरकारको सहयोग तथा समन्वय हुनेछ।

जिल्लामा एक सय ६६ बेडको आइसोलेसन तयारी अवस्थामा भएको बताइए पनि कोरोना विशेष अस्पतालमा ५० बेडको आइसोलेसन मात्रै सञ्चालनमा रहेको छ। बाँकी भनिएका आइसोलेसन बेडमा बिरामी भर्ना गरिएको छैन। कोरोना विशेष अस्पताल बेल्झुण्डीमा सय बेड भनिएको छ। तर त्यहाँ ५० बेड मात्रै छ। बाँकी अन्य निजी अस्पताल तथा स्वास्थ्य संस्थामा आइसोलेसन बेडको विवरण टिपाइएको छ।

क्वारेन्टाइनलाई आइसोलेसनमा रुपान्तरण गरिँदै


बंगलाचुलीमा वडा अध्यक्षसहित अन्य व्यक्तिमा कोरोना देखिएपछि आइसोलेसन वेड पालिका स्तरमै बनाउन दबाब परेकाे छ।

अहिले बंगलाचुली गाउँपालिकाले वडा नंं ४ को झुलीडाँडामा १५ बेडको र वडा नं. १ को प्राथमिक स्वस्थ्य केन्द्र स्यूजामा २५ बेडको आइसोलेसन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेवबहादुर वलीले जानकारी दिए।

५० वेडको आइसोलेसन बनाउने तयारी गाउँपालिकाले गरेको छ।

जेष्ठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्