भोलि म्यान्मारबाट आउने २६ जना होम क्वारेन्टाइनमा बस्ने

काठमाडौं- म्यान्मारबाट शुक्रबार स्वदेश फर्कन लागेका सबै २६ जना होम क्वारेन्टाइनमा बस्ने भएका छन्।

कोरोना संकट ब्यवस्थापन केन्द्र-सिसिएमसी स्रोतका अनुसार उनीहरु सबैले म्यान्मारमै पिसिआर टेस्ट गरी नेगेटिभ देखिएकाले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने सुविधा दिइएको हो।

त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई होल्डिङ सेन्टमा पुर्‍याएर त्यहाँबाट सेनाले घरसम्म पुर्‍याउने छ। म्यान्मारबाट आउने नेपालीको टोलीमा सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश-१ का एक जना छन्।

अन्य ८ जना थप दुई प्रदेशका छन्। म्यान्मारले आफ्नो सेनाको विमानमा राखेर नेपालीलाई स्वदेश फर्काउँदै छ। यूएईबाट पनि शुक्रबार एक सय ६८ जना नेपाली स्वदेश फर्कँदैछन्। यूएईले नै उनीहरुलाई नेपाल फर्काउन लागेको हो।

सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने तयारी गरिरहेको छ। रोजगारदाता देश आफैले पठाएपछि बाँकी रहेकालाई आफूले उद्धार गर्ने सरकारको तयारी छ।  दैनिक २ देखि ३ हजारसम्म नेपालीलाई स्वदेश फर्काउने तयारीअनुसार सरकारले व्यवस्था गरिरहेको छ।

 

जेठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्