हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो

काठमाडौं-हवाई इन्धनको मूल्य घटेसँगै निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भाडादर घटाएको छ ।

हवाई इन्धनको मूल्य घटेकाले सोहीअनुसार आफ्ना विभिन्न गन्तव्यमा भाडा समायोजन गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।

हवाई दूरीअनुसार नेपाली यात्रुको हकमा अधितम रु एक हजार १०५ देखि न्यूनतम रु २२५ सम्म भाडादर घटाएको कम्पनीले उल्लेख गरेको छ । सबैभन्दा बढी धनगढी र कम सिमरा गन्तव्य रहेको छ ।

नेपाल आयल निगमले गत अप्रिल १ तारिखदेखि हवाई इन्धनको मूल्यमा रु १५ घटाएको थियो । त्यस्तै बजेटमार्फत सरकारले इन्धनमा लाग्दै आएको पूर्वाधार कर बापतको रु १० पनि छुटको घोषणा गरेको थियो।

बुद्धको माउन्टेन उडानमा रु ८६० घटेर दुई हजार २३० कायम गरिएको छ । काठमाडौँ–भरतपुर जम्मा ६९५ बनाइएको छ । यो गन्तव्यमा रु २७० घटेको छ ।

त्यस्तै काठमाडौँ–पोखरा रु ३९५ घटेर रु एक हजार ३० बनाइएको छ । काठमाडौँ–विराटनगर साविकको भाडामा रु ६०० घटाई एक हजार ५६० कायम गरिएको छ।

काठमाडौँ–धनगढीमा रु एक हजार १०५ घटेर जम्मा रु दुई हजार ८७० भएको छ भने नेपालगञ्ज गन्तब्यमा रु ८१५ घटेर दुई हजार ११५ बनाइएको कम्पनीले जनाएको छ ।

यसैबीच जुन १ तारिखदेखि प्रमुख पर्यटकीय गन्तव्य काठमाडौदेखि पोखरा र चितवन आसपासका गन्तव्यको बजारीकरणको योजनामा जुटेको बुद्ध एयरले बन्दाबन्दी खुल्नासाथ उडानका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाएको छ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको मार्ग निर्देशनअनुसार बुद्धले ‘सुरक्षा निर्देशिका’ बनाएको छ। सुरक्षा निर्देशिकामा यात्रु, कर्मचारी जहाजको विशेष सरसफाइ, र्‍याम्प बस, कार्गो, ट्रली, विभिन्न काउन्टर तथा कार्यालयलाई कसरी सुरक्षित राख्ने भन्ने उल्लेख छ। उक्त निर्देशिका अनुसार आफ्ना कर्मचारीलाई आगामी सातादेखि तालिम प्रदान गर्ने बुद्धले विज्ञप्तिमार्फत जनाएको छ।

जेठ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्