जातीय विभेदको माखे-साङ्ग्लो

म जैसी बाहुनको छोरी भएर जन्मिएँ। म हुर्किंदै गर्दा घर नजिकै उपाध्याय बाहुनको परिवारहरु थिए। ती घरमा मैले छोए उनीहरुको भान्छा चल्दैन थियो। त्यसैगरि मेरो घरमा पनि जातिय सवालमा मेरो बुवा त्योभन्दा पनि चर्को हुनुहुन्थ्यो। घरमा क्षेत्री, नेवार, गुरुङ थरका मेरा साथीहरुलाई भान्छामा लैजानु हुँदैन भन्ने कुरा कानून जत्तिकै कडा थियो। उपाध्यायको परिवारमा मैले छोएको नखाँदा मलाई जति पिडा हुन्थ्यो, त्यति नै गर्व मेरो बुवालाई जैसी बाहुन भएर क्षेत्री वा अरु जातले छोएको नखाँदा हुन्थ्यो। ब्राह्मणवादको यो अन्तरद्वन्द्वमा हामी सबै गिजोलिएका थियौं।

पछि मेरो बिहे उपाध्याय घरमा हुने तय भयो। यो निर्णय मेरो आफ्नो थियो। मेरो निर्णयमा घरमा कुनै आपत्ति त थिएन तर उहाँहरुमा छोरी उपाध्याय बाहुनको परिवारमा गएर अपमानित हुने हो कि भन्ने डर थियो। जुनकुरा बिहेको बेलामा पटक-पटक उठ्यो तर सकारात्मक कुरा बिहेपछि घरमा जैसीको छोरी भन्ने कहिले बहसमा नै आएन। मैले बिहे गरेर गएपछि घरमा जैसीको छोरी भनेर सोच्नु परेन। म जैसीको छोरीभन्दा पनि उपाध्याय बाहुनकै बुहारी भनेर भित्रिएँ र सम्मान पाएँ।  तर घरले सम्मान दिए पनि समाजले पटक–पटक जैसी बाहुनको छोरी होस् भनेर घोचिरह्यो। बिहे भएको केहि समयमा एक जना आफन्तले तिमीहरुबाट जन्मिने बच्चा जैसी हुन्छ भनेर सुनाउनु भयो। हाम्रो समाजलाई बच्चा नजन्मदै जात छुट्याउन कति हतार हुन्छ?

यो कथा मेरो आफ्नो हो। यसले मलाई अहिले पनि घोचिरहन्छ। यति सामान्य विभेदले त मलाई यति पिडा हुन्छ भने समाजले अछुत बनाएर कसैको ज्यान जाँदा कस्तो होला? मैले अनुभूति होइन अनुमान मात्रै गर्न सक्छु।

समाजभित्र धेरै तह छ। तपाईं हामी आफूलाई प्रगतिशिल र जागरुक छौँ भनेर सामाजिक सञ्जालमा चर्का कुरा लेखिरहँदा हामी आफैले कुनै न कुनै रुपमा बाहुनवादको अवशेष बोकेका छौँ कि? एकपल्ट आफैलाई चिमोट्ने बेला आएको छ।

मैले यहाँ समाजका विभिन्न व्यक्तिहरुको सोच, मैले देखे र भोगेको आधारमा प्रस्तुत गर्ने प्रयास गरेकी छु। यदि यो कुनै व्यक्तित्व तपाईंसंग मिल्छ भने स्वीकार्नुहोस् कि तपाई आफूबाटै परिवर्तनको आवश्यकता छ।

एक जागरुक युवा: ‘यो जातभात बुवा-आमाको पुस्तासम्म मात्र हो।’ तर त्यही युवाले अस्ति मात्र भनेको, ‘अर्को जातसंग बिहे गर्‍याे भने जीन बिग्रिन्छ। आफ्नो जातकै केटिसंग बिहे गर्नु पर्छ।’

एक बुझ्रुक ब्राह्मण: ‘यो बाहुनलाई मात्र किन गाली गर्छन्? बाहुनले होइन बाहुनवादले हो जातको कुरा गर्ने।’ तर उसको आमाले आफ्नो घरमा जोत्ने ‘दलित वर्गको’दाईलाई चियाको गिलास भुईंमा दिँदा हातमा दिनुस् भनेको सुनेको छैन।

एक उपाध्याय युवक: ‘मेरो लागि जातको कुरा खासै महत्व राख्दैन तर बुवा आमाले मानुहुन्न। त्यही भएर आफ्नै जातको केटी खोज्नु पर्छ।’ अलिसमयपछि आफ्नो जातको र आफ्नो स्तर मिल्ने केटी नभेटेपछि, राम्री र  जागिर गर्ने जैसी बाहुन पनि चल्छ भनेर धुमधामसंग  बिहे गर्छ। तर अहिले बुहारी भएर गएको महिला भन्छिन् ‘मलाई कुलपूजामा सामेल गरिँदैन। हजुरबुवाहरुले मैले छोएको खानुहुन्न। श्रीमान् केही बोल्नुहुन्न।’

एक अभियन्ता: ‘मैले जानेरै त अपहेलित गर्ने शब्द प्रयोग गर्दिनँ। मैले मानव अधिकारका कुरा पनि बुझेकी  छु।  तर म पनि  यही समाजको पात्र हुँ। बाहुन भएर हुर्केको हुनाले कतै न कतै उच्च जातको हुँ भन्ने कुरा मनमा रहँदो रहेछ, कति ठाउँमा झुक्किएर जातीय विभेदलाई प्रश्रय दिने  टुक्का प्रयोग गरेको छु। यही समाजमा हुर्केको हुनाले त्यो स्वाभाविक नै हुँदो रहेछ।’

एक प्रगतिशील व्यक्ति: ‘समाज परिवर्तन गर्ने जिम्मा त्यसले मात्र लिएको छ र? जैसी वा क्षेत्रीसंग बिहे गरेको भए हुन्थेन?  कोही नपाएर दमिनी नै रोज्न परेको? प्रेम गर्नलाई अरु जातका पनि थिए त। उसको कारणले गर्दा गाउँ जाँदा अझै पनि सुन्नुपर्छ। आफूहरु दुई भने विदेश गएर बसेको छन्।आजको भोलि समाज परिवर्तन हुँदैन। समय लाग्छ। समाज खलबलाउने काम किन गर्नु?’

एक दलित आमा: ‘सन्तानको माया मारेर जनयुद्धमा लड्नलाई  छोरो पठाएँ। तर फर्किएर छोरो आएन। छोरो नआए पनि समानता आउँछ भनेर पर्खेको पनि जुग जान लाग्यो। खै!  केही परिवर्तन भएन।’

एक दलित यौनकर्मी: ‘मसंग त कसैले पनि जात सोध्दैन। मेरो विस्तारामा सबै समान छ। कुनै विभेद छैन।’

एक दलित महिला: ‘एक जना उपल्लो जातको पुरुषबाट बलात्कृत भएँ। अनि उसको श्रीमतीसंग गएर सबै कुरा भनेँ। सबै जना भद्र भलाद्मी बसेर मलाई १८०० दिएर अर्को गाउँको दलितसंग  बिहे गराइदिए। बिहे भयो तर पछि महिनाबारी नै भएन। मेरो श्रीमान्‌ले आफ्नो बच्चा हैन भनेर कहिले पनि मेरो जेठो छोरोलाई अरु छोराछोरीलाई जस्तो माया गर्नु हुन्न।’

एक मधेसी दलित महिला: ‘हिजो बहिनी पैखाना जाँदा दुई जना केटाहरुले (उच्च जातको)बलात्कार गरे। बहिनीलाई जाँचको लागि अस्पताल लागिएको छ। पहिला २ लाख दिन्छु भनेको थिए।हामीले मानेनौँ। अनि फेरि बढाएर ५ लाख दिने भनेका छन्।’

एक दलित युवा:  ‘हाम्रो सुनको काम छ। राम्रै कमाई हुन्छ। तर हिजो बाउबाजेको पेशालाई निरन्तरता दिएको कारण आफू हेलामा परेकाले पेशा परिवर्तन गर्न डिग्री पास गरेँ। अहिले जागिर खोज्दैछु।’

आफूलाई पर्दा बोल्ने नत्र आफ्नो मुद्दा हैन भनेर अन्यायमा मौनता साध्नु पनि आफैमा हिंसा हो। हरेक जातभित्र पनि जात रहेको छ। अर्थात् हरेक जातलाई ब्राह्मणवादले गाँजेको छ। यस्तो अवस्थामा हरेकले आफूभित्रको ब्राह्मणवादको अवशेषलाई पहिचान गर्नु जरुरी छ।

माथिका सबै मैले आफैले देखेका र सुनेका घटनाहरु हुन्। सबैले हाम्रो समाजको ऐना देखाएको छन्। बाहुनवाद विभिन्न स्वरूप र तहमा हामी व्यक्तिले पनि बोकेको छौँ।

रुकुमलाई जातीय छुवाछुत मुक्त घोषणा गरेको धेरै भैसक्यो। तर रुकुममा घटेको बर्बर घटनापछि सामाजिक सञ्जाल तातेको छ। सामाजिक सञ्जालमा बाहुनलाई गरिने गाली र त्यसमा दलित र गैरदलितको कमेन्ट देख्दा लाग्छ यो जातीय खाडल झन् बढिरहेको छ।

हिजो कामको आधारमा गरिएको विभाजनलाई सामाजिक स्तरको मान्यता  दिने हाम्रै समाज हो। आजको समयमा आइपुग्दा, हरेक जातभित्र पनि जात छ। उपाध्याय बाहुनले  जैसी बाहुनले  छोएको नखाने। जैसी बाहुनले क्षेत्रीले छोएको नखाने। क्षेत्रीले नेवारले छोएको नखाने। नेवारभित्र आफ्नै जातीयताको आफ्नै सञ्जाल छ। कामी, दमाई र सार्कीको बीचमा पनि एकआपसमा छुवाछुत नगर्ने, छोएको नखाने चलन छ। हरेक जातका मानिस ब्राह्मणवादको सिकार छन्। तर त्यसलाई कतै न कतै सबैले आफ्नो स्वतन्त्रतासंग जोडेर यसलाई बचाई राख्न खोजिरहेको देखिन्छ।

‘जातीयताको सूत्रधार बाहुनहरु हुन्’ भनेर गाली गरेर मात्रै समाज सुध्रिन्न। इतिहासलाई गाली गरेर र आज आफ्नो थरको पछाडी कामी राखेर समाज सुध्रिने भए समाज परिवर्तन गर्न गाह्रो थिएन। कोही पनि जन्मिँदा जातिय विभेद सिकेर आउँदैन। एउटा जातको व्यक्तिले अर्को जातको व्यक्तिप्रति घृणा लिएर जन्मिएको हुँदैन। हामी हुर्किएको समाजले समयसंगै उच्च, कम उच्च र तल्लो जात भनेर सिकाएको छ। यो विभेदको अन्त्य हाम्रो मानसिकतामा हुने परिवर्तन पछि मात्रै सम्भव छ।

हाम्रो समाज ढोंगी छ। मानिसले मानिसलाई आफ्नो दर्जाको सम्झिन्न सक्दैन। जातीय विभेद संस्थागत रुपमा जगडिएको छ। मान्छेको मूल्य मान्यता प्राणभन्दा प्यारो हुन्छ। नियम कानुन बनाएर मात्रै सामाजिक मूल्य मान्यता बदल्न सकिँदैन। कानुन एउटा हतियार हो तर पूर्ण समाधान होइन।

हाम्रो इतिहास, सामाजिक मान्यता र धर्मको आडमा मानव-मानव  बीच ठूलो खाडल बनेको हो। समयको माग अनुसार राम्रा कुरालाई जोगाएर भेदभावपूर्ण कुराहरु हटाउँदै र धार्मिक पुस्तकहरु पनि  पुनर्लिखित गर्दै जानुपर्छ। अहिलेको संविधानमा उल्लेख भएको समानता र समावेशिताको विपरित उल्लेखित सबै धार्मिक पुस्तकहरुमाथि पनि प्रश्न उठाउन सक्नु पर्छ।

‘रुल अफ ल’को कुरा गर्ने तर सामाजिक कुरीतिलाई आकार दिने धर्म संस्कृतिलाई पनि प्रश्न गर्न सकेन भने त्यो कानुनले समाजलाई लगाम लगाउन सक्दैन। त्यस्तै प्रत्येक व्यतिलाई सम्मानपूर्वक बाँच्न पाउने हक सविधानको धारा १६, धारा २४ , धारा ४० हरु ‘देखाउने दाँत’मात्रै नबनोस्।

आफूलाई पर्दा बोल्ने नत्र आफ्नो मुद्दा हैन भनेर अन्यायमा मौनता साध्नु पनि आफैमा हिंसा हो। हरेक जातभित्र पनि जात रहेको छ। अर्थात् हरेक जातलाई ब्राह्मणवादले गाँजेको छ। यस्तो अवस्थामा हरेकले आफूभित्रको ब्राह्मणवादको अवशेषलाई पहिचान गर्नु जरुरी छ। सबैभन्दा पहिले यो हिंसाविरुद्ध आफूले आफूलाई खबरदारी गर्न जरुरी छ। नत्र यी हिंसाका कुराहरु समाजमा बहसको विषय त बन्ला तर त्योभन्दा माथि उठ्दैन।जातीय विभेद अन्त्य र मानव अधिकारको स्थापना गैरसरकारी संस्थाको डलरको खेती मात्रै बनिरहने छ। राजनीतिज्ञको बजेट सक्ने र नारा बनाएर चुनाव जित्ने हतियार मात्रै बनिरहने छ।

दलितको छोरीसंग सम्भोग चल्ने तर पानी नचल्ने हाम्रो समाजमा, दलितका छोरीहरु गैरदलितबाट बलात्कृत भइरहने छन्। रुकुममा नवराज जस्ता कयौँ युवाहरुको आत्मा भेरी नदीको जातीय भड्खालोमा भड्किरहने छ। केही समय सामाजिक सञ्जाल तात्ने छ। तर विस्तारै सामान्य बन्ने छ, भेरीको वहाव जस्तै।

जेष्ठ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्