नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

हुम्ला – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको हो ।

१४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवाको बुधबार राति मृत्यु भएको थियो ।

भारतबाट फर्केका उनलाई १४ दिन क्वारेन्टिनमा राखेर आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

तर बुधबार राति मृत्यु भएपछि उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पञ्चपुरी नगरपालिका–१का वडाअध्यक्ष धनबहादुर थापाले जानकारी दिए ।

उनले शव व्यवस्थापनको तयारी सुरु भइरहेको जानकारी दिए ।

जेठ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्