'नो जस्टिस, नो पिस'

रंगभेदविरुद्ध यी बालिकाको बुलन्द आवाज

संस्थागत विभेदले सीमा नाघेपछि पीडित समुदायले प्रदर्शनलाई विकल्पका रुपमा लिने गरेको इतिहास मानव सभ्यता जस्तै पुरानो छ ।

अमेरिकामा अहिले रंगभेद र प्रहरी ज्यादती विरुद्ध दशक यताकै ठूलो प्रदर्शन भइरहेको छ । मिनेशोटाको मिनियापोलसमा ४६ वर्षका निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरी अधिकारीले झण्डै ९ मिनेट घुँडाले घाँटी थिचेका कारण निधन भयो । मे २५ मा उनको निधन भएपछि अमेरिकाभर संस्थागत रुपमा रहेको रंगभेद विरुद्ध प्रदर्शन भइरहेको छ ।

प्रदर्शनमा सबै उमेर, वर्ग र समुदायका मानिस सहभागी भएका छन् । प्रदर्शन अमेरिकामा मात्रै सीमित छैन, विश्वका विभिन्न देशमा विभेद विरुद्ध प्रदर्शन भइरहेको छ ।

रंगभेद विरुद्ध र न्यायको पक्षमा प्रदर्शनमा आउन बाध्य भएका छन् बालबालिकाहरु पनि । खेल्ने र विशुद्ध बालबालिका रहेर बाँच्न पाउनु पर्ने उमेरमा उनीहरु विदेश विरुद्ध मार्चमा निस्कन बाध्य भएका हुन् ।

लङ्ग आइल्याण्डको मेरिककी विन्ट एमोर रोजर्स । सात वर्षकी उनी अहिले सामाजिक सञ्जालमा सबैको चर्चाको केन्द्रमा छिन् । विन्ट रंगभेद विरुद्धको आन्दोलनमा सबैभन्दा कलिलो पुस्ताको प्रतिनिधि अनुहार बनेकी छन् ।

गएको बुधबार मेरिकमा अश्वेत व्यक्तिमाथि हुँदै आएको विभेद र प्रहरी ज्यादती विरुद्ध प्रदर्शनमाम विन्ट अभिभावकसँगै सहभागी भइन् । उनले अति उर्जाका साथ नारा लगाइन्, नो जस्टिस नो पिस, अर्थात जबसम्म न्याय हुँदैन तबसम्म शान्ति हुँदैन ।

स्थानीय लङ्ग आइल्याण्ड हेराल्डका कार्यकारी सम्पादक स्कट ब्रिन्टनले विन्टले नारा लगाउँदै गरेको १५ सेकेण्डको भिडियो खिचे र त्यसलाई ट्वीटरमा पोस्ट गरे ।

लगत्तै सो भिडियो भाइरल भयो, अर्थात विन्टमा सबैको नजर गयो । स्कटले खिचेको सो भिडियो धेरैले रिपोस्ट गरेका छन् ।

केहीले उनमा भविष्यको परिपक्क नेतृत्वकर्ता देखेका छन् । केहीले वर्तमान र विगतका सत्ताले न्याय समान रुपमा प्रदान गर्न नसक्दा विन्टको बालापन खोसिएको भन्दै चासो र चिन्ता जताएका छन् ।

विन्टले आफू शान्तिपूर्ण समाज होस् र सबै मिलेर बस्न पाइयोस् भनेर आन्दोलनमा गएको स्थानीय सञ्चारमाध्यमसँग बताएकी छन् ।

विन्टकी आमाले उनले अहिले भइरहेको आन्दोलनको सम्पूर्ण परिवेश नबुझे पनि विभेद रहेको र राम्रा तथा नराम्रा प्रहरी अधिकारी रहेको बुझेको बताइन् ।

कक्षा एक मा अध्ययन गर्ने विन्टले सबै हाँसीखुशी अंकमाल गरेर बसेको अवस्था हेर्न चाहेको बताएकी छन्।

जेठ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्