अमेरिकामा प्रहरी ज्यादतीको अर्को डरलाग्दो नमूना, दुई प्रहरी निलम्बित

अमेरिकामा प्रहरी ज्यादतीको अर्को डरलाग्दो घटना सार्वजनिक भएको छ । स्थानीय समय अनुसार बिहीबार राति ८ बजेपछि पश्चिम न्यूर्योकको बफेलो शहरमा दुई प्रहरी अधिकारीले ७५ वर्षका एक वृद्धलाई धकेलेर लडाएको भिडियो भाइरल भएको छ ।

जर्ज फ्लोइडको हत्याको विरोध तथा न्यायको माग गर्दै भएको प्रदर्शन नियन्त्रणका लागि न्यूर्योकको दोस्रो ठूलो शहर बफेलोमा कर्फ्यू जारी गरिएको थियो । कर्फ्यू कार्यान्वयनका लागि खटिएका अस्त्र युक्त दुई प्रहरीले ७५ वर्षका वृद्धलाई धकेलेर लडाएका हुन् ।

लडेका ती वृद्धको टाउको गम्भीर चोट लाग्यो । रगत बग्यो, उनी बेहोस भए । धकेल्ने प्रहरी अघि बढे । अरु सुरक्षाकर्मी आएर उनलाई उठाए ।

ती वृद्धको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनको अवस्था गम्भीर तर स्थिर रहेको जनाइएको छ ।

बफेलो शहरका मेयर बायरन ब्राउनले वक्तव्य जारी गरेर घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै ती वृद्धलाई धकेल्ने दुई प्रहरी अधिकारीलाई निलम्बित गरिएको जानकारी दिएका छन् ।

न्यूर्योक राज्यका गभर्नर एन्ड्रयू कुओमोले घटनाको गम्भीर निन्दा गर्दै बफेलोमा भएको घटना पूर्णरुपमा अनुचित र अपमानजनक रहेको बताएका छन् ।

कुओमोले मेयर ब्राउनलाई घटना लगत्तै टेलिफोन गरेका थिए । टेलिफोनमा दुई प्रहरी अधिकारीलाई तत्काल निलम्बित गर्ने सहमति भएको हो । प्रहरी अधिकारीले आफ्नो जिम्मेवारी निभाउनु पर्ने तर कसैमाथि दुर्व्यवहार गर्न नहुने उनले उल्लेख गरेका छन् ।

बफेलोमा भएको घटना सम्बन्धी भिडियो रेडियो स्टेशन डब्लुबिएफओले पोस्ट गरेको हो ।

जेष्ठ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू