कोरोना अपडेटः संक्रमित ३२३५, निधन १३, संक्रमणमुक्त ३६५

काठमाडाैँ– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ।

डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीय महिलाको कोरोना संक्रमणको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या १३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको जेठ २१ गते मृत्यु भएको बताए।

जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका उनलाई १८ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो। दम रोगले समेत पिडित रहेका उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए।

यस्तै त्यसैगरी मिर्गौलाको समस्या भएकी ५५ वर्षिय महिलाको धनगढीको सेती अस्पतालमा डायलासीस गराउँदै गर्दा शुक्रबार मृत्यु भएको प्रवक्ता देवकोटाले बताए। मृत्यु भएपछि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना देखिएको उनले बताए।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ। जसमध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका छन्।

यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ। जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन्।

प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन्। उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन्। यससँगै कुल निको हुनेको संख्या ३ सय ६५ पुगेको छ।

अहिलेसम्म कोरोना भाइरसको आशंकामा कुल ९२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएको छ। त्यस्तै १ लाख ३७ हजार ४ सय ३५ आरडिटी परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण भएको छ भने ५ हजार ५ सय ७० आरडिटी परीक्षण भएको छ।

देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै देशभर २ हजार ८ सय ५७ जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको मन्त्रालयले जनाएको छ।

जेठ २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्