कर मिनाहाको माग गर्दै वीरगञ्जमा कांग्रेसको विरोध प्रदर्शन

वीरगञ्ज– कोरोना महामारीको बेलामा पनि कर उठाउने संघीय सरकारको नीतिको विरोध गर्दै नेपाली कांग्रेसले शनिबार वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ।

कांग्रेस पर्सा क्षेत्र नम्बर १ को अगुवाईमा वीरगञ्जको आदर्शनगर चोकमा मध्याह्न १२ बजेदेखि एक बजेसम्म एक घण्टासम्म विरोध प्रदर्शन गरिएको हो।

विरोध प्रदर्शनमा सहभागी भएकाहरुले लकडाउन अवधिभरीको कर, बैंक व्याज तथा बिजुलीको बिल मिनाहा गर्नुपर्ने माग गरेका थिए। उनीहरुले घर भाडामा छुट, विद्युत खपत बक्यौतामा सहुलियत तथा बैंक कर्जाको ब्याजमा पूर्ण रूपले सरकारले छुट दिनुपर्ने लगायतका मागसमेत गरेका थिए।

कोरोना महामारीको बेलामा व्यापार व्यावसाय लगायत सबै क्षेत्र प्रभावित भएको बेलामा पनि सरकारले कर लिन ताकेता गरेको भन्दै यस्तो अवस्थामा सरकारले प्रभावितलाई राहत दिनुपर्ने कांग्रेस पर्साका क्षेत्रीय अध्यक्ष विजय सर्राफले बताए।

सर्राफले सरकारको कर असुल्ने नितीविरुद्ध पहिलो चरणको आन्दोलन स्वरुप एक घण्टा विरोध प्रदर्शन गरिएको र आफूहरुको माग पूरा नभए चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए।

जेष्ठ २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्