कोशी अस्पतालमा एक सय शैयाको प्रसुति गृह निर्माण हुने

माेरङ– विराटनगरस्थित कोशी अस्पतालमा एक सय शैयासहितको प्रसुति गृह निर्माण हुने भएको छ।

शनिबार सामाजिक विकासमन्त्री जीवन घिमिरे, महानगरपालिका प्रमुख भीम पराजुली र अस्पतालकी निमित्त मेसु डा.संगीता मिश्रले संयुक्त रुपमा प्रसुति गृहको शिलान्यास गरेका छन्।

अस्पताल परिसरकै करिब १० कट्ठा क्षेत्रफलमा निर्माण हुने प्रसुति गृहको कार्य एक वर्षभित्र पूरा गर्ने लक्ष्यसहित कार्य अघि बढाइएको महानगर प्रमुख पराजुलीले जानकारी दिए।

हाल अस्पतालमा एक सय शैयाको प्रसुति सेवा सञ्चालनमै रहेको र निर्माण हुने प्रसुति गृहमा अत्याधुनिक प्रविधिसहित प्रसुति सेवालाई थप विस्तार गरिने अस्पतालले जनाएको छ।

अमेरिकी सेनाको ११ करोडको सहयोगमा नयाँ प्रसुति गृह निर्माण हुने भएको हो।

यस्तै करिब ५ महिनाअघि कोशी अस्पतालको जिम्मेवारी वहन गरेकी डा. मिश्रको केहीदिन अघि मात्र काठमाडौंस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा सरुवा भएको छ।

जेठ २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्