जर्ज फ्लोइड मृत्यु प्रकरण

रंगभेदविरुद्धको आन्दोलन : अमेरिकाको राजधानीमा दशौँ हजारको प्रदर्शन

अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा रंगभेद र प्रहरी बरबर्ताको विरोधमा दशौँ हजार मानिसले प्रदर्शन गरेका छन् ।

मिनेशोटाको मिनियापोलसमा निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरी हिरासतमा मृत्यु भएको विरोधमा सुरु भएको प्रदर्शनले संस्थागत रुपमा रहेको रंगभेद र प्रहरी बरबर्ता विरोधी आन्दोलनको रुपमा लिएको छ । अमेरिकामा लगातार १२ दिनदेखि प्रदर्शन भइरहेको हो ।

फ्लोइडको गएको मे २५ मा निधन भएको थियो । उनलाई स्थानीय प्रहरी अधिकारीले पक्राउ गर्ने क्रममा घुँडाले घाँटीमा लगातार झण्डै नौ मिनेट थिचेका थिए ।

फ्लोइडले ‘मैले सास फेर्न सकिरहेको छैन’ भन्दा पनि प्रहरी अधिकारीले घाँटीबाट घुँडा हटाएका थिएनन् । त्यसको केही समयपछि फ्लोइडको मृत्यु भयो ।

सो घटनाको भिडियो सार्वजनिक भएपछि अमेरिकासहित विश्वभर रंगभेद विरुद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शनको क्रममा केही स्थानमा लुटपाट, तोडफोड तथा आगजनी भए पनि अधिकांश रुपमा शान्तिपूर्ण छ । तर शान्तिपूर्ण प्रदर्शनमै पनि सत्ताको बलमा प्रहरीले ज्यादती गरेको भन्दै तीव्र आलोचना भइरहेको छ ।

वासिङ्गटको लिंकन मेमोरियल र लाफयेत्ती पार्कमा मानिसहरु भेला भएका हुन् । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई नजिकै रहेको राष्ट्रपति कार्यालय ह्वाइट हाउस तर्फ जान दिएनन् । प्रदर्शनकारीले त्यहिँ नारा लगाएका हुन् ।

यसैबिच फ्लोइडको जन्मभएको नर्थ क्यारोलाइनामा मानिसहरु भेला भएर स्मृतिसभा गरेका छन् । त्यहाँ पनि प्रदर्शन भएको छ ।

अमेरिकासहित अरु देशमा पनि रंगभेदविरुद्ध प्रदर्शन भएको छ । बेलायतमा पनि हजारौँ मानिस सहभागी भएर प्रदर्शन गरेका हुन् । मध्य लण्डनको पार्लियामेन्ट स्क्वायरमा मानिसहरु भेला भएर ‘ब्ल्याक लाइफ म्याटर्स’ अभियानमा ऐक्यवद्धता जनाएका हुन् ।

बेलायत सरकारले कोरोना भाइरसको महामारी फैलिन सक्ने भएकाले ठूलो संख्यामा भेला नहुन भने पनि मानिसहरु त्यसलाई तोडेर प्रदर्शनमा उत्रिएका हुन् ।

यसैगरी अस्ट्रेलियामा पनि प्रदर्शन भएको छ । सिड्नी, मेलबर्न र ब्रिसबेनसहितका शहरमा प्रदर्शन भएको हाे।

जेठ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्