युएस ओपन टेनिसका लागि तय गरिएको प्रोटोकल ‘एक्सट्रिम’ : विश्व नम्बर एक नोभाक जोकोविच

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविचले युएस ओपन टेनिसका लागि तय गरिएको कोरोना भाइरस सेफ्टी प्रोटोकल अति कडा अर्थात चरम भएको बताएका छन् ।

युएस ओपन ग्राण्डसलाम टेनिस आउँदो अगस्ट ३१ देखि न्यूर्योकमा सुरु हुने तय भएको छ ।

जोकोविचले भनेका छन्, ‘हप्ताको दुई वा तीन पटक परीक्षण गर्नका लागि हामी म्यानहटन पुग्न सक्ने अवस्था हुँदैन । त्यसका लागि हामी विमानस्थलकै होटलमा सुत्नु पर्छ ।’

उनले अघि भनेका छन्, ‘एक व्यक्तिलाई मात्रै क्लबमा ल्याउन पाउने भन्ने कुरा पनि वास्तवमै असम्भव देखिन्छ।’

सर्बियाको प्राभा टिभीमा दिएको अन्तर्वार्तामा ३३ वर्षका जोकोविचले भने, ‘अर्थात हामीलाई हाम्रो कोच चाहिन्छ, फिटनेश ट्रेनर चाहिन्छ, फिजियोथेरापिस्ट चाहिन्छ ।’

विश्व नम्बर दुई स्पेनिस राफायल नाडालले तत्काल न्यूर्योक जाने चाहना त्यति नरहेको बिहीबार बताएका थिए । उनी युएस ओपन टेनिसका साबिक विजेता हुन् ।

सबै खेलाडीहरु स्वतन्त्र तथा सुरक्षित रुपमा यात्रा गर्न सक्ने अवस्था नआएसम्म प्रतिस्पर्धाहरु सुरु हुन नहुने उनले बताएका थिए ।

जेष्ठ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्