‘भारतीय चेली’ शब्दबारे छानबिन हुन्छः सभामुख सापकोटा

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रयोग भएको भारतीय चेली शब्दबारे छानबिन गर्ने बताएका छन् ।

सांसदहरुले लगातार उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गर्न थालेपछि सभामुख सापकोटाले त्यसबारे छानबिन गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले यसबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने जानकारी दिए ।

गत जेठ १९ गतेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेकपाकी सांसद गंगा चौधरी सत्गौवाले समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई लक्षित गर्दै भारतीय चेलीले नेपालको संसदमा दादागिरी गरिरहेको बताएकी थिइन् ।

त्यसपछि जेठ २३ गतेको बैठकमा सांसद गिरीले भारतीय चेली भनेर आफूलाई लगाइएको आरोप घृणाको अभिव्यक्ति रहेको भन्दै संसदको रेकर्डबाट हटाएर आवश्यक कारबाही गर्न गृहमन्त्रालउको ध्यानाकर्षण गराएकी थिइन् ।

उक्त दिन सभामुख सापकोटाले त्यसबारे पछि छलफल गरौँला भन्दै संसदको कारबाही अघि बढाएका थिए । भारतीय चेली शब्द रेकर्डबाट नहटाइएको भन्दै समाजवादीकी सांसद चन्दा चौधरीले आइतबारको संसद बैठकमा पनि ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताएका हुन् ।

चौधरी बोलिरहँदा उनलाई रोक्दै सभामुख सापकोटाले भने ‘यस विषयमा मैले रुलिङ गरिसकेको छु त्यसबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल हुन्छ । त्यो विषयमा नजानुहोला ।’

तर सांसद चौधरी यतिमै रोकिइनन्, उनले नेपाल भारतबीच सदियौँदेखि विवाह सम्बन्ध कायम रहिरहेको भन्दै कुनै पनि भाषा, भेष, संस्कृति, राष्ट्रियता र मधेसका इतिहासका विषयलाई सामान्य रुपमा नलिन आग्रह गरिन् ।

आफूहरुले संसद नियमावलीको व्यवस्थाअनुसार हिन्दीमा सपथ लिएको र हिन्दीमा बोलिरहेको पनि उनले बताइन् ।

समाजवादीकी सांसद गिरीले नेपालले सीमा विवाद समाधानका लागि भारतसँगै चीनसँग पनि छलफल गर्नुपर्ने बताएकी थिइन् । त्यसबारे टिप्पणी गर्दै सत्तारुढ सांसद गंगा चौधरीले नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गर्दा पनि भूमि मिचाहसँग सोध्नुपर्यो रे भन्दै भारतीय चेलीको दादागिरी बढेको बताएकी थिइन् ।

जेठ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्