उदयपुरको क्वारेन्टाइनमा रहेका तीनजनामा कोरोना ‘पोजिटिभ’

सिवाइ-उदयपुरका दुईवटा स्थानीय तहका क्वारेन्टाइनमा बसेका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बेलका नगरपालिकाका दुईजना र चौदण्डीगढी नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितहरुमध्ये दुईजना बेलका नगरपालिका-३ का ३५ वर्षीया महिला र ३६ वर्षीय पुरुष रहेका छन्। भारतको सिलोङमा मजदुरीका लागि गएका उनीहरु जेठ १५ गते सुनौली नाकाबाट नेपाल प्रवेश गरी हिंडेर बेलका आइपुगेका थिए।

संक्रमित दुवै उनीहरु श्रीमान् श्रीमति रहेको बेलका नगरपालिकाका सामाजिक शाखाका प्रमुख एकबहादुर निरौलाले जानकारी दिए । उनीहरुलाई वडा नम्बर ३ कै एबिसी अधारभूत विद्यालय कोसीटप्पुमा तयार पारिएको क्वारेन्टाइनमा राखिएको थियो।

त्यसैगरी संक्रमित मध्ये एकजना चौदण्डीगढी नगरपालिका-५ का २६ वर्षीय युवक हुन्। उनी दुई साता अघि काठमाडौंबाट फर्किएका थिए ।

क्वारेन्टाइनबाट घर फर्काउने बेलामा गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट ‘पोजेटिभ’ आएको मेयर खगेन्द्र राईले बताए। उनले भने, ‘हामीले उहाँको क्वारेन्टाइनको अवधि सकेर घर फर्काउने बेलामा रिपोर्ट आउँदा पोजिटिभ देखायो। अब त सतर्क हुनै पर्‍यो नि फेरि।’

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले तीन दिनअघि उदयपुरका विभिन्न पालिकाका क्वारेन्टाइनमा राखिएका साढे चारसय बढि व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो । आइतबार तीनजना थपिएपछि संक्रमितको संख्या ३६ पुगेको हो।

जेठ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्