मर्यादीत ढंगले बोल्न सांसदहरुलाई सभामुखको निर्देशन

सभामुख अग्नि सापकोटा। फाइल तस्बिर

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले संदीय गरिमा र मर्यादामा रहेर मन्तव्य दिन सांसहरुलाई रुलिङ गरेका छन् ।

सांसदहरुले बोल्ने क्रममा एक अर्कालाई आरोप प्रत्यारोप गर्ने सिलसिला संसद बैठकमा बढ्दै जान थालेपछि प्रतिनिधिसभाको आईतबारको बैठकमा सभामुख सापकोटाले संसदीय मर्यादालाई पालना गर्न सांसदहरुलाई रुलिङ गरेका हुन् ।

उनले भने, ‘माननीय सदस्यहरुले बोल्ने क्रममा आरोप प्रत्यारोप जस्तो भईरहेको छ । त्यसकारण म नियमावलिको २१ को ‘ङ’ तिर सबै माननीय सदस्यहरुको ध्यानाकषर््ाण गराउन चाहन्छु । हामीले सबैको बुद्धि विवेक लगाएर असाध्यै जोखिम पुर्ण समयमा पनि सदन चलाईरहेका छौँ । राष्ट्रिय महत्वका विषयमा हामी निष्कर्षमा पुग्नुपर्ने आवश्यकता छ । एउटा शक्तिशाली सन्देश दिन सफलतामा गइरहेको बेलामा व्यक्तिगत टिकाटिप्पणी आरोप प्रत्यारोपतिर नजाऔँ । विषय उठिसकेको छ । मैले रुलिङ पनि गरिसकेको छु । सबै विवरणहरु हामी पल्टाएर हेर्नेछौँ । ”

नियमावलि को नियम २१ को ‘ङ’ मा “अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्नेगरी बोल्न नहुने” उल्लेख छ । नियम २१ का अन्य वुँदामा छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमहरु छन् । साथै सांसहरुले गर्न हुने र नहुने विषयको सूचि पनि छ ।

राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले हिन्दी भाषा बोल्नेप्रति संसदमा अपमान गरिएको भन्दै जेठ १९ गतेको प्रसंग उठाएपछि सभामुखले ती विषयमा प्रवेश नगर्न सचेत गराए ।

सभामुखले भने, ‘माननीय सदस्य त्यो विषयमा मैले रुलिङ गरिसकेको छु । म सबै विवरण लिएर छानविन गर्छु । म कार्यव्यवस्था परामर्श समितिमा राख्छु । त्यो विषयमा तपाई प्रवेश नगर्नुहोला । माननीय सदस्य ज्यू मैले भनिसकेको छु । संसदमा त्यो विषय नदोहोर्याउनुहोला । दुवैथरीले मलाई भन्नुभएको छ । त्यसकारण मैले लाईन काट्नुपर्ने हुन सक्छ । त्यो विषयमा नजानुहोला ।’

जेठ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्