विराटनगरकी एक युवतीमा कोरोना संक्रमण पुष्टि

मोरङ-विराटनगर महानगरपालिका वडा नम्बर-३ की एक युवतीमा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ।

महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार भारतबाट केहीदिन अघि विराटनगर आएकी २२ वर्षीया युवतीमा कोभिड १९ संक्रमण पोजेटिभ रिपोर्ट आएको हो।

महानगरकै एक क्वारेन्टाइनमा बस्दै आएकी युवतीको कोशी अस्पतालमा गरिएको स्वाब नमूना परिक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको मेयर पराजुलीले पुष्टि गरे।गत जेठ १६ गते भारतको जोगबनी हुदैं विराटनगर आएकी संक्रमित युवतीलाई विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको छ।

महानगरले भारतका विभिन्न क्षेत्रबाट विराटनगर आएका सर्वसाधारणहरुलाई निर्माण गरिएको क्वारेन्टाइन र प्रत्यक्ष निगरानीमा राखिएको जनाएको छ।
उनीहरुको रेखदेख र परिक्षण प्रभावकारी रुपमा गरिदै आएको महानगरले जनाएको छ। यससंगै विराटनगर महानगरपालिकामा कोभिड १९ संक्रमितको संख्या चार पुगेको छ।

यसअघि, विराटनगर १५ , ६ र १२ का तीन जनामा संक्रमण पुष्टि भएको थियो। तीनैजना भारतको विभिन्न स्थानबाट विराटनगर आएका थिए। यद्धपी १५ र ६ नम्बरका पुरुष र महिलाले कोरोनालाई जितेर कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज भइसकेका छन्।

महानगरपालिकाले हालसम्म ५ सय ८६ जनाको आरडीटी र ४ सय ८९ जनाको पीसीआर परीक्षण गरेको छ। पीसीआर परिक्षण गरेको मध्ये ७२ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको महानगरपालिकाले जनाएको छ।

जेठ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्