हाम्रो आवाज पनि सुन्नुहोस्- ६

अनि पो मैले थाहा पाएँ- अरुले त कान सुन्दा रहेछन्

मेरो नाम करुणा थापा हो। मेरो उमेर १८ वर्षको हो र म टिकाथली, ललितपुरमा बस्छु। म अहिले कक्षा ११ मा किष्ट कलेजमा पढिरहेको छु। मेरो जन्म बिराटनगरमा भएको थियो। जन्मदेखि नै मलाई कान नसुन्ने समस्या देखा पर्‍यो। सानो उमेरदेखि नै मैले अरुले बोलेको राम्रोसँग सुन्दिनथे।

हातको इशारा र ओपनसिन्क (lip-sync) (Lip Reading) हेरेर अरुले के भन्न खोजेको म बुझ्ने कोशिश गर्थेँ। म ६ बर्षको हुँदा मेरो बाबाले मलाई कानमा लगाउने हेरिङ एड (Hearing Aid) किनिदिनु भयो। त्यो लगाएपछि मैले अलि अलि सुन्न थालेँ। मेरो मामुले मलाई बोल्न र हातको ईशारा बुझ्न सिकाउनु हुन्थ्यो। मामुले मलाई स्पिच थेरापीको लागि अस्पताल लग्नु हुन्थ्यो। थेरापी र मामुको सिकाइले मेरो सुन्ने र बुझ्ने क्षमता बढ्दै गयो।

यसरी थेरापी र सिकाइको आधारमा मैले बिद्यालय जान थालेँ। सानो कक्षामा म अरु साथीहरुसँग खेल्न जान्थेँ। गफ गर्न खोज्थेँ तर उनीहरुले मेरो बोली प्रष्ट नभएकाले बोलेको आवाज बुझेनन् र मैले पनि बुझिन्। त्यसले गर्दा मलाई साह्रै नराम्रो लाग्थ्यो। म मेरो दादासँग एउटै स्कूलमा नर्सरी देखि १ कक्षासम्म पढेँ। दादा हुँदा मलाई सपोर्ट हुन्थ्यो।

दादाले मलाई होमवर्कमा हेल्प पनि गर्नु हुन्थ्यो। पछि दादा अर्को स्कूलमा पढ्न जानु भयो अनि मलाई एक्लै स्कूल जान साह्रै डर लाग्थ्यो। सबैले मलाई जिस्क्याउँथे। मलाई के भनेर जिस्क्याउथे भनेर म पूरै बुझ्दिनथेँ। मलाई हेरेर हाँस्थे। घर पुगेपछि मैले मामुलाई साथीहरुले मलाई किन हेपेर जिस्काउँछन्? भनेर सोधेर हैरान पार्थेँ। अनि मामुले मलाई तिमी अहिले सानै छौ, तिम्रो कानको समस्या छ भन्नु भयो। त्यति बेला म सोचेर बसे मेरो कान किन नसुन्ने भएको होला सबै साथीहरुले सुन्ने रहेछ भनेर बल्ल थाहा पाएँ। अनि मैले म मात्र किन नसुन्ने भएको भनेर ममीलाई सोधेँ, त्यस्तो होईन अरुहरु पनि नसुन्ने हुन्छन् भन्नु भयो।

गाडीमा स्कूल जाँदा बेला बेलामा धेरैले जिस्काउँथे अनि त्यसपछि घरमा आएर धेरै पटक एकदम रोएको छु। त्यसपछि मामुले स्कूलमा प्रिन्सिपलहरुलाई भन्नु भएछ, त्यो बेलादेखि मलाई स्कूल जान झन् झन् डर लाग्न थालेको थियो। त्यो स्कूलमा मैले ग्रेड २ देखि ४ सम्म पढेँ।

पछि म कक्षा ५ मा पुगेपछि मामुले मलाई हेरिटेज बोर्डिङ स्कूलमा भर्ना गरिदिनु भयो। यहाँ पढ्दा नि मलाई यहि समस्याले सतायो। यसले गर्दा मेरो पढाईमा अलिक असर पर्यो। मेरो साथिहरुले मेरो अवस्था, मेरो समस्यालाई तोकेर मलाई जिस्काउथे। कक्षाकोठामा शिक्षकहरुले पढाको कुरा म बुझ्दिनथे। उनिहरुको ओठको चलाई र हातको ईशारा हेरेर अलि अलि मात्र बुझ्थे।

घर पुगेपछि मैले मामुलाई साथीहरुले मलाई किन हेपेर जिस्काउँछन् भनेर सोधेर हैरान पार्थेँ। मामुले मलाई तिमी अहिले सानै छौ, तिम्रो कानको समस्या छ भन्नु भयो। त्यति बेला म सोचेर बसेँ, मेरो कान किन नसुन्ने भएको होला सबै साथीहरुले सुन्ने रहेछ भनेर बल्ल थाहा पाएँ। 

मेरो समस्याको बारेमा प्राध्यापक, शिक्षकहरु र मेरा साथिहरुलाई मेरो मामुले सबै यथावत कुराहरु भन्नु भयो। पहिले त्यहाँ पढ्दा समस्या देखा परेनि मलाई अलि सजिलो भने गर्यो। शिक्षक शिक्षिकाहरुले मलाई राम्रोसँग बुझाउनु हुन्थ्यो। साथिहरुले पनि मलाई अलि अलि सहयोग गर्थे। अनि शिक्षकहरुको बुझाई र साथिहरुको साथको कारण मैले मेरो एस.ई.ई. पास गरे।

स्कूलमा पनि बेला बेलामा साथिहरु मलाई देखेर हास्थे अनि किन हाँसेको मैले बुझ्दिन थे। किन हाँसेको भनेर सोध्दा केहि भन्दैन थे। अनि मैले घरमा मामुलाई सोध्दा तिम्रो बोलि उनिहरूले नबुझेर होला भन्नु हुन्थ्यो अनि स्पिच थेरापी गर धेरै भन्नु हुन्थ्यो। मलाई झर्को पनि लाग्यो जति खेर पनि स्पिच थेरापि गर्नलाई मलाई अल्छि लाग्थ्यो। तर पनि मामुले मलाई गरिरहन भनिरहनु हुन्छ। फोनमा पनि कुरा बुझ्नु पर्छ भनेर मलाई फोनमा कुरा गर्नलाई भनिरहनु हुन्छ तर म फोनमा बोलेको बुझ्दिन। मामुको सहयोगले मैले अहिले पहिलेको भन्दा धेरै बुझ्छु र पहिलेको भन्दा धेरै बोल्न पनि थालेको छु।

मलाई ईयरफोन (Hearing Aid) लगाउदा पनि समस्याहरु देखा पर्छ। कान दुख्नेर आवाज डबलै बजे जस्तो हुन्छ। चस्माले काम गरे जस्तो ईयर फोनले काम गर्दैन। ईयरफोनले आवाज ठुलो बनाउदा हल्ला लाई पनि ठुलो बानाउछ। हाम्रो यस्तो समस्या कसैले बुझ्नुहुन्न। म अरुहरुले जस्तो एकै पटकमा बुझ्न सक्दिन। मलाई सुन्नमा साथ दिने इयरफोन नि साह्रै महंगो छ। एक पटक किने पछि ४-५ बर्ष मात्र टिक्छ। अर्को किन्नलाई भनेको बेलामा पैसा हत्तपत्त हुदैन। यसमा लगाउने ब्याट्री पनि समयमा पाइदैन। र त्यस प्रकारका समस्या निकै आइराख्छ।

मालाई नि अरु सँग रमाइला गफ गर्न, नयाँ साथी बनाउन, विदेशमा बस्ने आफ्ना सित उहाँहरूको हालचाल बुझ्न, उहाँहरु बस्नु भएको ठाउँको बारेमा जान्न मन लाग्छ। नयाँ ठाउ घुम्न जान मन लाग्छ तर सक्दिन् साथ दिने, बुझ्ने नि कोही हुँदैनन्। मेरो एउटै कोठा एउटै ठाउमा बस्न सीमित भएको छ।

मलाई बोलेको कुरा नबुझ्दा लेखेर कुरा गर्न अलि सहज हुन्छ तर अरुसँग लेखेर कुरा गर्न खोजे भने मजाक बनाएर राख्दछन्, लेख्‍न अल्छी गर्छन्। मसँग कुरा गर्दा मलाई सहज हुने गरी बिस्तारै बोल्न मद्दत र सहयोग र्ने मान्छे एकदम कम छन्। अहिले कोरोनाको कारण कलेजको अनलाइन कक्षा राखेको छ।

अनलाईन कक्षामा सहभागी हुँदा केही बुझ्दिन र शिक्षकलाई बुझिन भन्दा मजाक गरे अनि अरु साथीहरु पनि हाँस्न थाले। अनि मलाई निकै नै लाज लाग्यो र मैले अनलाइन कक्षा पढ्न नै छोडेँ। तर मलाई लेखेर पढाउने शिक्षकको खाँचो छ। यस्तो भइदिए मेरो पढाइ राम्रो हुने थियो।

लेखिका श्रुति संस्थामा आवद्ध छिन्।

जेष्ठ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्