लमहीमा ४० करोडको लागतमा सुविधा सम्पन्न ट्रमा सेन्टर बन्ने

दाङ – एक वर्षअघि प्रदेशसभा सदस्य उत्तरकुमार ओली सवारी दुर्घटनामा परेर घाइते भए । तत्काल लमहीमा प्राथमिक उपचार गरेर कोहलपुर पठाइयो ।

लमहीमा सुविधा सम्पन्न अस्पताल हुन्थ्यो भने उनको उपचार सहज हुने चिकित्सकले त्यतीबेला बताएका थिए । उनलाई कोहलपुरबाट काठमाडौँ लगियो । तर, बचाउन सकिएन् । लमहीमा एउटा बहस भने जारी नै थियो–ट्रमा सेन्टर बनाउने ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गर्‍यो ‘लमहीमा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउने ।’ प्रदेश सरकारले लमहीमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको अत्याधुनिक ट्रमा सेन्टर बनाउने योजना अघि सारेको छ ।

सवारी साधन चलेको बेला राजमार्गमा हरेक दिन जस्तो दुर्घटना भइरहन्छ । दुर्घटनामा परेर मानिस घाइते हुन्छन् । उपचारको लागि लमही अस्पताल पुर्‍याइन्छ । प्राथमिक उपचार गरेर त्यहाँबाट नेपालगञ्ज या बुटवल पठाउनुको विकल्प छैन ।

बुटवल या नेपालगञ्ज यात्राको क्रममा केही घाइतले एम्बुलेन्समा प्रणा गुमाउँछन् । उपचारको अभावमा राजमार्गमा हुने सवारी दुर्घटनामा परेका घाइतले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता छ । सोही कारण सवारी दुर्घटना लगायत अन्य दुर्घटनामा परेर घाइते हुनेहरुको उपचारको लागि लमहीमा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउने कार्य सुरु हुन थालेको हो ।

सरकारी निकायले ट्रमा सेन्टर निर्माणको कागजी प्रकृया गरिरहेका छन् । बहुवर्षीय टेण्डर मार्फत लमहीमा सुविधा सम्पन्न अत्याधुनिक ट्रमा सेन्टर बनाइने प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए । उनले भने, ‘यहाँ ट्रमा सेन्टर आवश्यक छ भनेर धेरै पटकका छलफल र बहसमा कुरा उठाइयो । प्रदेश सरकारले प्रथामिकतासाथ लमहीमा ट्रमा सेन्टर बनाउने योजनालाई समेटेको छ ।’

शर्माले अघि भने, ‘लमहीबाट पूर्व बुटवल र पश्चिममा कोहलपुरसम्मको भू–भागमा सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिकले उपचारका लागि निकै सास्ती खेप्नु परेको छ । अब त्यस्तो हुने छैन । बिरामी रेफर होइन, डाक्टर चार्टर गरेर ट्रमा सेन्टरमा ल्याइने छ ।’

४० करोडको लागतमा ट्रमा सेन्टर निर्माण हुने स्टिमेट तयार गरिएको छ । तीन वर्ष भित्र काम सक्नेगरी योजना अघि बढेको शहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवले जानकारी दिए । ट्रमा सेन्टरको मुख्य भवन, आकस्मिक भवन, थेरापी भवन, क्यान्टिन तथा ब्लडबैंक लगायत अन्य पूर्वाधार बनाइने छ ।

पूर्व–पश्चिम राजमार्ग र लमही अस्पतालको बिच भागमा ट्रमा सेन्टर निर्माण गरिने छ । उद्यमशील सहकारी संस्थाको कार्यालय रहेको स्थानमा ट्रमा सेन्टर बन्ने र सहकारी संस्थाको कार्यालय सञ्चालनका लागि स्थानीय सरकारले अनेत्र व्यवस्थापन गर्ने भएको हो ।

जेठ २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्