कसरी अस्ट्रेलियाले कोभिड–१९ लाई नियन्त्रणमा लियो?

पहिला केही तथ्याङ्क

अस्ट्रेलियामा कोरोना भाइरसको पहिलो संक्रमण २५ जनवरी २०२० मा चीनको उहानबाट मेलबर्न फर्केका एक व्यक्तिमा भेटिएको थियो । सोही दिन उहानबाटै सिड्नी आएका अन्य ३ जनामा पनि कोरोना संक्रमण भेटिएको थियो । जनवरी महिनामा अस्ट्रेलियाभर जम्मा ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेब्रुअरीमा मात्रै १४ जना व्यक्तिमा कोरोना संक्रमण भेटिएपछि अस्ट्रेलियाभर जम्मा संक्रमितको सङ्ख्या सो महिनासम्म २३ पुगेको थियो ।

त्यसैगरी १ मार्चमा पर्थनिवासी ७८ वर्षीय एक वृद्धको कोरोना संक्रमणपछि मृत्यु भएपछि उनी अस्ट्रेलियामा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति बन्न पुगे । उनी ‘डायमण्ड प्रिन्सेस क्रुज’ जहाजका यात्रु थिए ।

त्यसलगत्तै, २ मार्चमा थपिएका ४ जना नयाँ कोरोना संक्रमित मध्येका २ जना अस्ट्रेलियाभित्रै संक्रमित बनेका थिए । यो अवधिसम्ममा सबै संक्रमितहरू अरू देशबाट मात्रै भित्रिएका थिए ।  अझ, ४ मार्च र ८ मार्चमा दोश्रो र तेश्रो व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएपछि अस्ट्रेलियामा कोरोना महामारीको अवस्था भयाभह बन्ने सङ्केत देखिएको थियो ।

१८ मार्चमा अस्ट्रेलियाको बन्दरगाहामा उत्रिएका क्रुज पानीजहाजहरू ‘ओभेसन अफ द सी’ तथा ‘भोएजर अफ द सी’ बाट ओर्लेका यात्रुमध्ये २ अप्रिलसम्म क्रमशः ७९ जना र ३९ जना कोरोना संक्रमित भेटिएका थिए ।

त्यसैगरी १९ मार्चमा आएका क्रुज पानीजहाजहरू ‘सेलेब्रिटी सोल्सटिस’ र ‘रूबी प्रिन्सेस’ मा २ अप्रिलसम्म क्रमशः ११ जना र १३ जना यात्रुहरू कोरोना संक्रमित भेटिएका थिए ।

मार्च महिनामा दैनिक नयाँ कोरोना संक्रमितको लगातार वृद्धि हुँदै २८ मार्चमा यो सङ्ख्या सबैभन्दा उच्च ४ सय ६० पुगेको थियो । त्यसपछि भने यो सङ्ख्या निरन्तर रूपमा घटेको थियो ।

अस्ट्रेलियामा मार्च महिनामा मात्रै ३ हजार २ सय ५ नयाँ संक्रमित थपिएका थिए भने यो सङ्ख्या अप्रिलमा घटेर २ हजार १ सय ९८ पुगेको थियो । मे महिनामा जम्मा ४ सय ४७ जना मात्र नयाँ संक्रमित थपिएका थिए ।

७ जुन २०२० सम्म अस्ट्रेलियामा कोरोना संक्रमितको कुल सङ्ख्या ७ हजार २ सय ६० पुगेको छ जसमध्ये १ सय २ जनाले ज्यान गुमाएका छन् भने ६ हजार ७ सय ३ जना निको भइसकेका छन् ।

त्यसैगरी हालसम्म अस्ट्रेलियाले करिब १६ लाख १७ हजार ४ सय भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिसकिएको छ जसमध्ये ०.४ प्रतिशत ‘कोरोना पोजेटिभ’ भेटिएका थिए । (श्रोतः हेल्थ डट गभ डट एयु)

भाइरसप्रति सरकारको प्रतिक्रिया

जनवरीमा उहानबाट अस्ट्रेलिया आएका ९ जना व्यक्तिमा कोरोना संक्रमण भेटिएपछि अस्ट्रेलियन सरकारले ३१ जनवरीदेखि चीनबाट आउने विदेशी यात्रुहरूलाई कमसेकम दुई हफ्ता कुनै तेश्रो मुलुकमा बसेपछि मात्र देश छिर्न दिने निर्णय गरेको थियो भने स्थायी बसोवास अनुमतिप्राप्त मानिस तथा आफ्ना नागरिकका लागि १४ दिन आफ्नै घरमा आइसोलेसनमा बस्नुपर्ने नियम लगाएको थियो ।

यो समयावधि कोरोना भाइरसको ‘इन्क्युवेसन समय’ बढीमा करिब १४ दिनको रहने भन्ने विश्व स्वास्थ्य संगठनको निचोडका आधारमा तोकिएको थियो ।

त्यसैगरी २९ फेब्रुअरीमा इरानबाट फर्केका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएपछि अस्ट्रेलियन सरकारले इरानबाट आउने विदेशीहरूलाई पनि कम्तिमा २ हफ्ता तेश्रो मुलुकमा बसेपछि मात्र देश छिर्न दिने नीति लागू गरेको थियो ।

नयाँ कोरोना संक्रमणको बढ्दो तथ्याङ्कलाई मध्येनजर गर्दै २० मार्चमा अस्ट्रेलियन सरकारले स्थायी वासिन्दा तथा नागरिकबाहेक अरू सबैलाई सिमाना बन्द गर्ने घोषणा गरेको थियो । २१ मार्चदेखि सरकारले अत्यावश्यक सेवाहरू मात्र खोल्ने निर्णय गरेको थियो ।

धेरै मानिसहरू जम्मा हुन सक्ने स्थलहरू रेष्टुरेन्ट, पब, क्लब आदिमा कडाइ गरिए पनि सरकारले पूर्ण रूपमा देशलाई ‘लकडाउन’ भने घोषणा गरिएन । अत्यावश्यक क्षेत्रहरू खुल्ला राखे पनि सामाजिक दूरीलाई कडाइका साथ पालना गर्न सबैलाई निर्देशन दिइएको थियो ।

१९ मार्चमा कोरोना संक्रमणको बढ्दो आँकडालाई मध्येनजर गर्दै अस्ट्रेलियाको सरकारी वायुसेवा क्वान्टासले करिब ६० प्रतिशत घरेलु उडान तथा सम्पूर्ण अन्तर्राष्ट्रिय उडानलाई रद्द गर्ने घोषणा गरेको थियो । यसबाट कम्पनीका करिब १ सय ५० वटा जहाजहरू ठप्प हुन पुगेका थिए ।

विद्यालयहरू पूर्ण रूपमा बन्द नगरे पनि अभिभावकहरूले ‘अनलाईन कक्षा’ माथि बढी भर परेका थिए ।  पूर्ण रूपमा लकडाउन अस्ट्रेलियामा कतै नगरिए पनि यहाँका राज्य सरकारहरूले आआफ्ना राज्यको स्थितिअनुसार नियमहरू लागू गरेका थिए ।

त्यसैगरी मार्चको अन्त्यमा विदेशमा अस्ट्रेलिया छिरेका हरेक व्यक्तिलाई अनिवार्य रूपमा २ हफ्ता विभिन्न होटलहरूमा क्वारेन्टाइनमा राखेर कोरोना नभएको पुष्टि भएपछि मात्रै घर जान दिने निर्णय गरिएको थियो ।

पूर्ण रूपमा ‘लकडाउन’ नगर्ने नीतिलाई सुरुमा केही आलोचना गरिए पनि प्रधानमन्त्री स्कट मोरिसनले देशको अर्थतन्त्रमा आउन सक्ने मन्दीलाई मध्येनजर गर्दै त्यसो नगरिएको बताएका थिए ।

नयाँ संक्रमितको तथ्याङ्कलाई आधार बनाएर संक्रमण बढिरहेको अवस्थामा दुई जनाभन्दा बढी सँगै हिँड्न नपाउने नीति समेत लागू गरिएको थियो । विस्तारै संक्रमण घट्दै गएपछि चरणबद्ध रूपमा मानिसहरू जम्मा हुन पाउने नियमलाई खुकुलो पार्दै लगिएको थियो ।

आर्थिक सहायता

१२ मार्चमा प्रधानमन्त्री स्कट मोरिसनले १७ दशमलव ६ अर्ब अस्ट्रेलियन डलर बराबरको कोरोना भाइरस राहत प्याकेजको घोषणा गरे । सो राहत विशेष गरेर कोरोना भाइरसका कारण खस्किँदो रोजगारको अवस्थालाई उकास्न तथा स्वास्थ्य क्षेत्रमा बढी केन्द्रित थियो । यसमध्ये ‘सामाजिक सुरक्षा भत्ता’ र ‘पेन्सन’ लिएर जिविकोपार्जन गर्ने करिब ६५ लाख अस्ट्रेलियनहरूको खातामा ७ सय ५० डलर सोझै ट्रान्सफर गरिएको थियो । यसले अर्थतन्त्रका केही सकारात्मक प्रभाव समेत पारेको थियो ।

त्यसैगरी २२ मार्चमा सरकारद्वारा ६६ अर्ब अस्ट्रेलियन डलर बराबरको दोश्रो राहत प्याकेज घोषणापश्चात् जम्मा ८९ अर्ब डलरको राहत प्याकेज बन्न पुगेको थियो । यस प्याकेजअन्तर्गत्  साना व्यवसायीहरूलाई सहयोगदेखि लिएर रोजगार गुमाएकाहरूलाई समेत सहयोग दिइने कुराहरू उल्लेख थिए ।

त्यसैगरी ३० मार्चमा कोभिड–१९ द्वारा मार खेपिरहेका व्यवसायलाई मध्येनजर गर्दै सरकारले १ खर्ब ३० अर्ब डलर सहयोगको घोषणा गरेको थियो । ‘जबकिपर पेमेन्ट’ तथा ‘जबसिकर पेमेन्ट’ नामाकरण गरिएको सो राहतका माध्यमद्वारा रोजगार गुमाएका लाखौँ अस्ट्रेलियनहरूले राहत पाउनुका साथै खस्कँदो अर्थतन्त्रलाई जोगाउनका लागि सहयोगी समेत बनेको थियो ।

कन्ट्याक्ट ट्रेसिङमा प्रविधिको प्रयोग

२६ अप्रिल २०२० मा अस्ट्रेलियन सरकारले मोबाइल फोनमा डाउनलोड गर्न मिल्ने ‘कोभिड सेफ’ नामक एप्लिकेसन शुरू गरेको थियो । सो एप फोनमा डाउनलोड गरेपछि २१ दिनसम्म निश्चित समयभन्दा बढी आफ्नो सम्पर्कमा आएका फोनहरूको तथ्याङ्क संकलन गर्ने काम गर्दथ्यो।

यसले गर्दा स्वास्थ्यकर्मीहरूले यदि कोही कोरोना संक्रमित भएको भेटिएमा यसका आधारमा सम्पर्कमा आएका अरू व्यक्तिहरूलाई पत्ता लगाउन निकै सजिलो हुने बताइएको थियो । केही विज्ञले व्यक्तिगत गोपनियता भङ्ग हुन सक्ने चेतावनी दिए तापनि सरकारले यसको तथ्याङ्क केवल स्वास्थ्यकर्मीले मात्र प्रयोग गर्न पाउने तथा २१ दिनपछिका सबै सङ्कलित तथ्याङ्क एपले स्वयम् नष्ट गर्ने बताएको थियो ।

सरकारले यो एप डाउनलोन गर्न अनिवार्य नगरे तापनि केही दिनअघिसम्म करिब ६० लाख पटक यो एप डाउनलोड गरिएको थियो भने कमसेकम एकपटक यसैको माध्यमबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने काम पनि गरिएको थियो ।

आइसोलेसन, क्वारेन्टाइन र अस्पताल

कोरोना परीक्षणपश्चात् संक्रमण पुष्टि भइसकेको खण्डमा अनिवार्य रूपमा सुरक्षित स्थानमा आइसोलेसनमा बस्नुपर्ने तथा ती व्यक्तिसँग सम्पर्कमा आएकाहरूलाई पनि ट्रेस गरेर अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नीतिले गर्दा कोरोना भाइरसलाई समुदायमा फैलनबाट रोक्न मद्दत पुगेको मान्न सकिन्छ ।

अस्ट्रेलियामा कुल संक्रमितमध्ये ज्यादै कम व्यक्तिलाई मात्र अस्पताल भर्ना गरिएको थियो । हाल रहेका कोरोना संक्रतिम जम्मा ४ सय ५८ केसमध्ये केवल २३ जना मात्र अस्पतालमा भर्ना छन् । अस्ट्रेलियाभर करिब ९५ हजार अस्पताल शैयया रहेको सरकारी तथ्याङ् छ जुन ३ दशमलव ८ प्रति १ हजार व्यक्ति हुन आउँछ ।

चारैतिर समुद्रले घेरिएर रहेको भौगोलिक अवस्थिति तथा सरकारले बेलैमा आफ्ना सिमानाहरू बन्द गरी आफ्ना नागरिकहरूमाज सामाजिक दूरी प्रभावकारी रूपमा कायम गर्न सक्नुले यहाँ कोरोना संक्रमण नियन्त्रण गर्नमा प्रभावकारी भूमिका खेलेको मान्न सकिन्छ ।

यीबाहेक प्रभावकारी परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङ गरेर जोखिममा रहेका सबै मानिसलाई आइसोलेसनमा राख्न सकिनु पनि यो रोग नियन्त्रणमा फलदायी सावित भएका थिए ।

कोरोना परीक्षणको वर्तमान तथ्याङ्कलाई मध्येनजर गर्दै अस्ट्रेलियाको प्रभावकारी नीतिले विश्वका अन्य मुलुकलाई पनि केही महत्वपूर्ण पाठ सिकाउन मद्दत गर्ने पक्का देखिन्छ ।

जेष्ठ २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू