उत्तर कोरियाले दक्षिण कोरियासँगको ‘हटलाइन’ सहितका सबै सञ्चार सम्पर्क बन्द गर्ने

उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिएका सबै अन्तर–कोरिया सञ्चार सम्पर्क स्थापित गर्ने माध्यमहरु बन्द गर्ने बताएको छ । दुई देशका नेताबिच सम्पर्क स्थापित गर्ने हटलाइनसहित सबै अन्तर–कोरिया सञ्चार सम्पर्क बन्द गर्ने उत्तर कोरियाले बताएको हो ।

दक्षिण कोरियालाई ‘शत्रु’ का रुपमा परिभाषित गर्दै उत्तर कोरियाले सञ्चार सम्पर्क बन्द गर्नु पहिलो चरणको काम रहेको बताएको हो ।

उत्तर कोरियाको सीमावर्ती शहर केइसङ्गमा रहेको सम्पर्क कार्यालयबाट हुँदै आएका टेलिफोनहरु मंगलबारदेखि बन्द गरिने भएको हो ।
दुई कोरियाबिच सन् २०१८ मा भएको वार्तापछि तनाव कम गर्ने प्रयास स्वरुप सो कार्यालय स्थापना गरिएको थियो ।

दुई काेरियाकाे सीमा क्षेत्र

उत्तर कोरियाले दुई कोरियाका अधिकारीबिच सम्पर्क स्थापित गर्ने सबै लाइनहरु पूर्ण रुपमा बन्द गर्ने जनाएको छ ।

उत्तर र दक्षिण कोरियाको संयुक्त सम्पर्क कार्यालयबाट हुँदै आएका सञ्चार सम्पर्क स्थानीय समय अनुसार मंगलबार मध्याहन्न १२ बजेदेखि बन्द गरिने उत्तर कोरियाको समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) ले जनाएको छ ।

गएको जनवरीमा कोभिड–१९ का कारण सम्पर्क कार्यालय अस्थायी रुपमा बन्द गरिएको थियो । सो बेला फोन मार्फत सम्पर्क स्थापित हुने गरेको थियो । सम्पर्क कार्यालयबाट दैनिक दुई पटक टेलिफोन हुने गरेको थियो ।

जेठ २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्