प्रतिकूल समयमा लेखक र कलाकारहरू पनि इतिहास कोर्दै छन्

भोलि समयको कठघरामा उभ्याएर कसैले संसारलाई जग देखिनै हल्लाउने कोभिड-१९ को महासङ्कटको बेला लेखक तथा रचनात्मक कलाकारले के योगदान गरेका थिए भनेर प्रश्न सोध्यो भने कतै हामी अमूर्त पत्थरझैँ चुपचाप बस्नु त पर्दैन? यस समयमा अग्र पङ्क्तिमा उभिएर जीवनको जोखिमबिच डाक्टर, नर्स, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालक अहोरात्र खटिरहेका छन्। किसानहरू खेतमा काम गरी रहेका छन्। खाद्यान्न ओसार पसार गर्ने र पसले आफ्नो काँधमा जिम्मेवारी बोकिरहेका छन्। पत्रकारहरू समाचार सम्प्रेषणण गरी रहेकै छन्। यस्तो बेलामा लेखक तथा रचनात्मक कलाकारको भूमिका के हुन सक्छ भन्ने प्रश्न सान्दर्भिक छ।

अमेरिकन कवि टोनि मोरिसनका विचारमा रचनात्मक र सृजनशील व्यक्तिका लागी सङ्कटको समय काम गर्ने अनुकूल समय हो। उनी भन्छिन्, “कलाकारलाई दुःख मनाउ गर्ने कुनै छुट छैन न व्यक्तिगत पिडा अभिव्यक्तिको छुट हुन्छ। कलाकारलाई न निष्क्रिय बस्ने छुट छ न त डर र त्रासमा बाँच्ने छुट हुन्छ। कलाकारले बोल्नु पर्छ, लेख्नु पर्छ, रङ्ग पोत्नु पर्छ, मूर्ति कुँद्नु पर्छ र सङ्गीत सृजना गर्नु पर्छ। सफल कलाकार त्यै हो जसले सङ्कटका बेला दुखेको मानव सभ्यतामा मलम लगाउन सक्छ”।

मोफसलमा बसेर आफ्नो पहिचान बनाएका मूर्तिकार हिम्मत नेम्वाङ झापाको सुरूङ्गा स्थित आफ्नै घरमा ढुङ्गाको मूर्ति कुँद्न व्यस्त छन्। व्यावसायिक माग भएका कामको चाप त छँदै छ यही बिचमा दुई वटा कोभिड-१९ ले संसारलाई कसरी जकडेको छ भन्ने आशयको मूर्ति ढुङ्गामा कुदेका छन्। एउटा मूर्तिमा सात वटा कोरोना भाइरस आकृतिका महादेशलाई सिक्रीले बाँधेर ताल्चा लगाइएको छ। अर्को मूर्तिमा एकातिर एउटा सङ्क्रमित बालक मास्क लगाएर सुतेको छ भने अर्को तिर पैसाको थैलोमा सिक्रीले बाँधेर ताल्चा लगाइएको छ तर थैलो तलबाट फाटेर पैसा चुहिएको छ। उनको विचारमा कलाकार चलायमान हुनु पर्छ। लकडाउनले धेरै समय दिएको छ। यो लकडाउनको एकान्तपन सृजनाको स्रोत बनेको छ उनका लागि। आफ्नो सामाजिक र विश्व चेतना कलामा प्रतिबिम्बित गर्न व्यस्त छन्। उनी भन्छन्, “मेरो कलाले आजको इतिहास प्रतिबिम्बित गर्न सकोस् यही मेरो समाजका लागी योगदान हुनेछ।’

हाम्रो वरिपरि मानिसहरूको बीभत्स मृत्यु भइरहेको छ। स्रोत र साधनहरू अभूतपूर्व रूपमा खुम्चिएका छन्। स्वतन्त्रता कैद भएको छ। यद्यपि रचनात्मक कलाकारलाई कल्पना र सोचको आफू भित्रको यात्रामा निस्कन छुट छ जुन सम्भवतः उपेक्षित थियो।

१९६२ मा “ग्रेप्स अफ राथ” का लागी साहित्यमा नोबेल पुरस्कार विजेता जोन स्टेनबेकले अमेरिकाको १९३० को चरम आर्थिक मन्दीका बेला लेखेको उक्त उपन्यास धेरैका लागि प्रेरणादायी सावित भयो। स्टेनबेकले सङ्कटका बेला अमेरिकी किसानको पक्षमा लेखेर गरेको योगदानका लागि उक्त पुरस्कार दिइएको थियो। विलियम फल्कनर भन्छन्, “ सङ्कटका बेला साहित्यको प्रभाव त्यति नै हुन्छ जति एउटा विशाल खेतको बिचमा मध्यरातमा बालिएको बत्तीको हुन्छ। स्वाभाविक रूपमा त्यस बत्तीले मधुरो प्रकाश दिन्छ तर वरिपरि कति अँध्यारो छ भन्ने पूर्ण आभास गराउँछ”।

नेपालका वरिष्ठ कवि तथा गीतकार कृष्ण हरि बराल पनि सङ्कटको अन्धकारलाई आशाको दियो बालेर भगाउन सकिने बताउँछन्। साहित्यकार र कविको काम कोठा भित्र र कलमको भएकाले सृजनामा कुनै बाधा नपरेको बताउँछन्। सङ्कटका बेला  पीडा र निराशाबाट माथि उठाउने र मनोवैज्ञानिक त्रासबाट मुक्त गराउने खालका जनचेतना मूलक गीत र कविताको रचना गरी रहेको बताउँछन्। उनी थप्छन्, “हामीलाई के थाहा हुनु पर्छ भने जस्तो सुकै सङ्कटको बेला पनि मानव जीवन आन्तरिक रूपमा कलात्मक हुन्छ किनकि यो बेगिलो भावनात्मक र  सृजनात्मक शक्तिले सिंचित हुन्छ। यसले हामीलाई वस्तु र मानव बिच फरक बनाउन मदत गरेको हुन्छ। यस्तो अवस्थामा मेरो स्थान र योगदान के हो भनेर वैधानिक रूपमा देख्न र बुझ्न सक्नु नै रचनात्मक कलाकारको विशिष्ट क्षमता हो”।

हाम्रो वरिपरि मानिसहरूको बीभत्स मृत्यु भई रहेको छ। स्रोत र साधनहरू अभूतपूर्व रूपमा खुम्चिएका छन्। स्वतन्त्रता कैद भएको छ। यद्यपि रचनात्मक कलाकारलाई कल्पना र सोचको आफू भित्रको यात्रामा निस्कन छुट छ जुन सम्भवतः उपेक्षित थियो। जीवन लक्षहीन र निरर्थक मात्र हुन्छ र यस लाई व्यक्तिगत भन्दा बाहिरी शक्तिले नियन्त्रण गर्छ भन्ने कुरालाई कलाले अस्वीकार गर्छ। यस्ता महासङ्कटले कलालाई असर गर्न सक्ला तर नियन्त्रण गर्न भने सक्दैन। संसार भरीका लेखक कलाकार आज एक प्रकारको मनोवैज्ञानिक त्रास झेली रहेका छन्। सृजना गर्ने अनुकूल स्थिति सबैको लागी नहुन सक्छ। यसो भन्दैमा रचनात्मक जिम्मेवारीबाट विमुख हुन भनेको बौद्धिक बेइमानी हो।

चीनका वरिष्ठ सङगितकार जियाङ ज्याङहाइ रसिया-जर्मनी(नाजी) युद्धका बेला रसिया र कजाकस्तानमा युद्ध प्रभावित नागरिकलाई सङ्गीतको धुन सुनाएर प्राण सिन्चित गरिरहेका थिए। आफ्नो जीवनको महत्त्वपूर्ण समय र उम्दा सङ्गीत उन्ले त्यही बेला सृजना गरेका थिए। युद्धको त्रासदीले उन्को सृजनशीलतालाई रोक्न सकेन बरु दिनरात युद्धमा मरिरहेका सिपाहीका परिवारलाई नयाँ धुन सृजना गरी जीवन ऊर्जा प्रदान गर्न समर्पित भए। उनी निरन्तर एक ठाउँबाट अर्को ठाउँ यात्रा गरी रहे। जियाङले यस कार्यलाई मानवता प्रतिको जिम्मेवारी र समयको आवश्यकताका रूपमा स्विकारेका थिए।

रङ्गमञ्चमा आफ्नो जीवनको चार दशक समर्पण गरेका रङ्गकर्मी अशेष मल्लले २०३६, २०४६, र २०७२-७३ को परिवर्तनकारी आन्दोलन र त्यो भन्दा अघि पछिका सङ्कटका अवस्था झेलेको अनुभव सुनाउँछन्, “जब जब राजनैतिक सङ्कटहरू आउँथे त्यति बेला कलाकारहरू कि पलायन हुनु पर्थ्यो कि अग्र पंतिमा उभिनु पर्थ्यो। मैले दोस्रो बाटो रोजेँ”। उनी थप्छन्, “हामी समाज परिवर्तनको जिम्मेवारी बोकेर सडक नाटक गर्थौ। पञ्चायतले वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएपछि हामीलाई प्रजातन्त्रको लागि आवाज उठाउन थप ऊर्जा प्राप्त भएको थियो”। अहिलेको महामारी र सङ्कटको बेला कलाकारको जिम्मेवारी गुणात्मक हिसाबले वृद्धि भएको बताउँछन्। उनी थप्छन्, “सङ्क्रमण बढेको छ, मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। नेपालीले रोजगारी गुमाएर विदेशबाट घर फर्कनु पर्ने छ। पर्यटन,  उद्योग,  कल कारखाना,  व्यापार सबै धराशायी भएका छन्। घर घरमा नैराश्य बढेर जाने देखिन्छ। यस अवस्थामा कलाकारले घर, समाज र देशको पिडामा मलम लगाएन भने हामीलाई इतिहासले माफ गर्ने छैन”।

हामी महसुस गर्न या नगर्न पनि सक्छौ तर यो सङ्कट र एक्लोपनको समयमा कलाको भूमिका हाम्रो जीवन प्रति झन् केन्द्रीकृत हुन्छ। आम सञ्चारको दिक्क र पट्यारलाग्दो सूचना प्रवाह, बीभत्स चित्रणले आजित भएका कलाकारलाई कलाको नवीनतम सृजनाले स्वतन्त्रता प्रदान गर्छ। कलाले हामीलाई चेतना र कल्पनाको अद्भुत र असम्भव पाटो सँग जोडी दिन्छ। त्रासदीको समयमा प्राप्त हुने क्षणिक खुसी पनि प्राय जसो कला र त्यसको अभिव्यक्ति बाट प्राप्त हुने हुनाले कलाकारले आफ्नै र अरूका लागि भए पनि निरन्तर सृजनामा लागिरहनु पर्छ।

महामारी र युद्ध जस्ता विपद्हरूले नागरिकलाई मानसिक रूपमा विक्षिप्त बनाएको हुन्छ। निराश भएकाहरूलाई निराशाको भुमरीबाट बाहिर निकाल्न केही डाक्टर र सामान्य नागरिकले कलाको सहारा लिएको पाइयो। अमेरिकाका केही अस्पतालहरूमा नर्सहरूले नाच्दै बिरामीहरूलाई खुसी बनाएको दृश्य देखियो। इटालीका सडकमा कलाकार र केही नागरिकहरू सङ्गीतको धुन बजाउँदै र गीत गाउँदै डाक्टर र बिरामीको हौसला बढाइरहेका थिए। हामीसँग पनि सामाजिक सञ्जाल, रेडियो, टी.वि जस्ता माध्यमहरू प्रशस्त प्रयोगमा छन्। धेरै जसो क्वारेनटिन र आइसोलेसन, काम र घरमा बस्नेहरूले यस्ता सूचनाका माध्यमहरूको प्रयोग गरिरहेका हुन्छन्। के हामी रचनात्मक कलाकारले आशा र खुसीले ओतप्रोत सङ्गीत,  कविता,  चित्र,  मूर्ति,  नृत्य,  नाटक,  चलचित्र आदि सृजना गरेर निराशा र विषाक्त सोचले भरिएको परिवेशमा आशाको जीवन दियो जलाउन सक्दैनौ?

जेठ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्