हाम्रो आवाज पनि सुन्नुहोस्-७

कान सुन्दैन भनेर नै मलाई भेदभाव गरेको होला

मानिसको जीवनमा भोलि के हुन्छ भन्ने कुरा कसलाई के नै थाहा हुन्छ र ? सानो छँदा बाल्यकालमा अन्य सामान्य बालबालिकाहरु जस्तै रमाउदै हुर्केको म मेरा ती रमाइला पलहरु धेरै समय टिक्न सकेनन्। म १३ वर्षको हुँदा मैले दुवै कानले सुन्न नसक्ने भए। त्यस समय देखि नै मेरो जिन्दगी नै बदलिएको थियो। अब मेरो जिन्दगी नै त्यही समाप्त भए जस्तो लाग्थ्यो।

अस्पतालमा कान पहिलो पटक देखाउन जाँदा डाक्टरहरुले कानको शल्यक्रिया बिना नै श्रवणयन्त्रको सहायताले सुन्न सकिन्छ भन्दा म कति खुशी भएकी थिए। मनमा सानो आशा पलाएको थियो। तर ति मेरा आशाहरु पनि धेरै समय सम्म रहेनन्। सुरु सुरुमा त श्रवणयन्त्रले हल्का भएनी सुन्न सकिन्थ्यो तर पछि भने फेरि उस्तै सुन्न नसक्ने अवस्था भयो।

मेरो विद्यार्थी जीवन निकै दुख र संघर्षले बितेको थियो। मैले सुन्न नसक्ने भएकै कारणले म साथीभाईहरुसँग घुलमिल हुन सकेकी थिएन न त सर मिसहरुले कक्षामा पढाएको नै बुझ्दथे। श्रवण यन्त्रको सहायताले उहाँहरु बोल्नु भएको अलि-अलि आवाज त आउथ्यो तर म के भन्नु भाको हो भन्ने कुरा प्रष्टसँग बुझ्दिन थिए। कहिले काँही सरहरुले सोध्नु भएको प्रश्न नबुझ्दा मैले कानले राम्ररी सुन्दिन भन्दा फेरी दोहोराएर चर्को आवाजमा सोध्नु हुँदा मैले झनै नबुझि म सरको पिटाई खान मात्र बाध्य हुन्थे।

मैले आफ्नै आवाज राम्रोसँग नसुन्दा र अरु मान्छेहरु बोलेको नबुझ्दा कहिले काँही त कसै संग बोल्न मन लाग्दैन थियो। कहिले काँही एक्लै खुब रुन्थे पनि। कानले नसुन्दा एकदमै दुःख लाग्थ्यो। घरको सदस्यमा म मात्र हो सुन्न नसक्ने। परिवारका अन्य सदस्यहरुले कुराकानी गरेको देख्दा मलाई पनि के कुरा गर्दै हुनुहुन्छ भन्ने जान्न मन लाग्थ्यो तर केही बुझ्दिन थिए।

स्कुलमा पनि म मात्र हुन्थे नसुन्ने विद्यार्थी। मलाई पनि अन्य बालबालिकाहरु जस्तै उनीहरु संग हाँस्न खेल्न र रमाउन मन लाग्थ्यो। तर मैले उनीहरुले बोलेको सुन्न र बुझ्न नसक्ने भएकोले म तिनीहरु संग घुलमिल हुन सकेकी थिइन। मलाई धेरैले जिस्काउने गर्थे। त्यसैले म प्राय एक्लै बस्न रुचाउथिए। कहिले काही किन मैले मात्र नसुनेको होला भन्ने लाग्थ्यो। कसैले केही भनेको कुराहरु राम्रो संग नबुझ्दा कहिलकाही त आफै संग पनि रिस उठ्थ्यो।

समय बित्दै गर्दा भने मलाई विधालयमा धेरैले चिनेका थिए। मैले नसुने पनि म विधालय भने सधै जाने आउने गर्थे तर त्यहाँ पढाएको बोलेको केही पनि नबुझेर ट्वाँ परेर हेरेर बस्ने काम मात्र हुन्थ्यो। मैले पढ्ने तरिका भनेको सर मिसहरुले लेखाई दिनु भएको नोटहरु साथीहरुको कापीबाट सारेर पढ्ने गर्थे।

घर परिवार, साथीभाई र सर मिसहरुको सहयोग र मायाले समय बित्दै गर्दा मैले म सुस्तश्रवण भएको महसुस नै नगरी आफूलाई शारीरिक र मानसिक रुपमा तैयार गरी अघि बढ्दै त्यही कापी कलम र श्रवण यन्त्रको सहयोगले जसोतसो गरेर भएपनि स्नातक तहम्मको पढाई पूरा गरे। यसरी कापी कलम र ब्याट्रीबाट चल्ने श्रवणयन्त्रबाट नै मेरो जिन्दगी चलिरहेको थियो र अहिले पनि चलिरहेकै छ।

स्नातक तह गर्दा सम्मको अवधिमा पनि मेरो सुन्ने सक्ने क्षमतामा कुनै परिवर्तन नभएकोले मैले चार ओटा श्रवण यन्त्रको प्रयोग गरिसकेकी थिए। यसरी जति वटा श्रवणयन्त्र परिवर्तन गरे पनि मेरो सुन्ने क्षमताले काम नगरे पछि मेरो लागि कक्लियर इम्प्ल्यान्ट गर्ने बाहेक अरु कुनै विकल्प रहेन। यसको लागि अपरेसन गरेर भित्री कानमा र कानको पछाडी मेसिन राख्नु पर्ने हुन्छ। जसको मुल्य पनि धेरै महँगो हुने रहेछ। हुन त कक्लियर इम्प्ल्यान्ट गरे पनि मैले अझै पनि सुन्नेहरु जस्तो प्रष्टैसंग बुझ्दिन। यसबाट कुरा बुझ्न केही समय लाग्ने रहेछ। जसको लागि हरेक छ छ महिना मा म्यापिङ्ग गरिरहनु पर्ने र स्पिच थेरापी र रिहाब गरिराख्नु पर्ने हुन्छ।

यो हियरिङ्ग मेसिन (कक्लियर इम्प्ल्यान्ट) ब्याट्री चार्ज गरेर लगाउन सकिन्छ तर चार्ज गर्न नसक्ने अवस्था मा भने ब्याट्री किनेर लगाउनु पर्ने हुन्छ। जुन महङ्गो तथा खोजेको र भनेको ठाउँ समयमा पाउदैन। साथै कहिले काही मेसिनको तार चुडिदा नयाँ तार किन्नु पर्ने हुन्छ। जुन किन्न पनि धेरै महँगो छ। साथै यो महामारी को अवस्थामा मैले यी सम्पूर्ण सेवाहरु लिन सकिएको छैन। जस्ले गर्दा मलाई बेला बेलामा सुन्न नपाउँदा निकै गाह्रो भएको छ।

मेरो मम्मी डेड्डीले मेरो लागि धेरै दुःख र कष्टहरु गर्नु भएको छ। मलाई मेरो सम्पूर्ण परिवारले धेरै माया गर्नु हुन्छ। मलाई एक्लोपन महशुस नहोस र मैले हल्का भए पनि सुन्न सक्ने आशाले मलाई कक्लियर इम्पल्यान्ट गरिदिनु भयो। अहिले मैले मेशिन लगाउदा मलाई कुराहरु गर्न अलिक सजिलो महाशुस भएको छ। मैले अझै पनि सबै कुराहरु प्रस्ट संग त बुझ्दिन तर म पहिलाको भन्दा स-साना आवाजहरु र बोलेको कुराहरु भने सुन्ने गरेकी छु। म मेरो घर परिवार, साथीभाईहरु र आफन्तहरु संग अलि अलि भए पनि कुरा गर्ने गर्छु। यसरी सबैसंग खुलेर कुरा गर्न पाउदा मलाई खुशी लाग्छ। कहिले काही मैले कानले सुन्न सक्दिन भन्ने कुरा पनि बिर्सिन्छु।

मेरो सुन्ने सक्ने क्षमतामा कमी भएको कारणले मैले समाजमा पनि धेरै दुख कष्ट र विभिन्न चुनौती र समस्याहरु भोग्नु परेको छ। हाम्रो समाज अझै पनि अन्ध विश्वासमा नै रहेका छन्। उनीहरुले अपांगता भएको व्यक्ति देख्यो भने मानिसहरु त्यसलाई पुर्वजन्मको फल वा पापको सजाय भोग्नु परेको भन्ने ठान्छन्। अझ भन्नु पर्दा उल्टै अपांगता भएका व्यक्तिहरु लाई के पाप गरेको थियौ भन्दै सोध्न थाल्छन्।

अबका दिनहरुमा भने मैले मेरो भविष्यको लागि आफैले अरुको सहयोग बिना नै अघि बढ्नु पर्ने छ। यसको लागि मैले आउदा दिनहरुमा विभिन्न चुनौती र समस्याहरुको सामना गर्नुपर्ने हुन्छ। मैले मेरो पढाई सकेपछि आफ्नै खुट्टामा उभिनको लागि केही काम गरु की भनेर पटक पटक रोजगारीहरु खोजे तर अह कतै पाइन। रोजगारी दिनेहरुले हामीले पछि पद खाली हुदा खबर गर्नेछौ पछि आउनु होला भनेर मात्र पठाए।

एक दुई हप्तासम्म त बोलाउछन् होला भनेर आशा नी गरियो तर हप्ता महिना हुदै वर्ष बितिसक्दा पनि कुनै खबर पाईन। संगै जागिर खोज्न गएको साथीहरुले भने पछि काम पाएका रहेछन्। सायद मलाई म नसुन्ने भएको भएर नै होला के नै काम गर्न सक्छ होला र भनेर भेदभाव गरेको। यसरी मैले सुन्न नसक्ने कारणले नै मलाई जागिर पाउन पनि निकै गाह्रो भएको छ। त्यसैले म अहिलेसम्म पनि बेरोजगार भएर बस्न बाध्य भएकी छु। यदि मैले पर्याप्त सिप तालिम र अवसरहरु पाए भने मैले पनि आफ्नो क्षमता प्रदर्शन गरी समाजमा उदाहरणीय काम गर्न सक्नेछु।

मेरो सुन्ने सक्ने क्षमतामा कमी भएको कारणले मैले समाजमा पनि धेरै दुख कष्ट र विभिन्न चुनौती र समस्याहरु भोग्नु परेको छ। हाम्रो समाज अझै पनि अन्ध विश्वासमा नै रहेका छन्। उनीहरुले अपांगता भएको व्यक्ति देख्यो भने मानिसहरु त्यसलाई पुर्वजन्मको फल वा पापको सजाय भोग्नु परेको भन्ने ठान्छन्। अझ भन्नु पर्दा उल्टै अपांगता भएका व्यक्तिहरु लाई के पाप गरेको थियौ भन्दै सोध्न थाल्छन्।

कतैकतै त अपांगता भएका व्यक्तिहरुको संगत गर्दा आफ्ना छोराछोरीहरुमा पनि रोग सर्न सक्छ भनेर अपांगता भएका व्यक्तिहरुबाट टाढा बस्न लगाउछन्। यसरी समाजका मानिसहरुले हाम्रो भावनाहरु माथि चोट पुग्ने गरी कति सजिलैसंग भनिदिन्छन्। बिचरा उसको छोराछोरी यस्तो छ उस्तो छ भन्दै कुरा काट्छन। मलाई थाहा छ मेरो मम्मी डेड्डीले पनि म सुन्न नसक्ने भएकोले समाजमा धेरै दुख र नानाथरीका कुराहरु सुन्नु परेको छ।

कुनै कामले कतै हिड्न पर्यो भने देख्नेहरुले एक्लै कता हिडेको भनि सोधी हाल्छन्। उनीहरुले मैले सुन्दिन भनेर झन ठुलो आवाजमा चिच्याएर कुरा गर्छन् उनीहरुलाई लाग्छ यसरी कुरा गर्दा मैले भनेको सुन्ने छु तर हामीहरूलाई ठुलो स्वरमा बोलेको कुराहरु बुझ्न झनै गाह्रो हुन्छ। अझ धेरै मान्छेहरु भएको ठाउँमा बोलेको बुझिन भने हाँसोको पात्र मात्र हुन्छु। त्यसैले मलाई कहिले काही कसै संग कुरा नै गर्न मन लाग्दैन।

मलाई कतिपय मान्छेहरुले लाटी पनि भन्ने गर्छन् तर मलाई लाटी भनेको मन पर्दैन। म लाटी होइन म बोल्न सक्छु अरुले जस्तै म पनि देख्न हिडडुल गर्न सक्छु मैले केबल सुन्न सक्ने क्षमता हो गुमाएको। म यस्तै छु यसमा मेरो के दोष छ र ? यसरी सुन्न नसक्नु मेरो रहर पनि त होइन मेरो बाध्यता हो। समाजका मान्छेहरुले किन बुझ्न सक्दैनन्। म पनि एक मानिस नै हु। मेरो पनि उहाँहरुको जस्तै मन छ। उहाँहरुले भेदभाव गरी बोलेको शब्दले मेरो मनमा पनि चोट पुग्ने गर्छ।

मैले केही गर्न खोज्दा कसैले पनि मलाई मैले कानले सुन्न सक्दिन भनेर मलाई पटक पटक भनेर सम्झाउन जरुरी छैन। मलाई मेरो कानको अवस्था को बारेमा राम्रो संग थाहा छ। म पनि उहाँ हरुको छोरा छोरी जस्तै समान छु। मैले सुन्न नसके पनि मैले पनि तिनीहरुले जस्तै काम गरिदेखाउन सक्छु भन्ने अठोटका साथ म अगाडि बढ्न खोजेकी छु। केवल मैले काम गरेर आत्मनिर्भर हुने अवसर मात्र खोज्दै छु। मैले यो अवसर पनि छिटै पाउने छु भन्ने आशा लिएकी छु।

हाल विश्वव्यापी रुपमा तिव्र गतिमा फैलिरहेको कोरोना भाइरसको कारणले जीवन झन् कष्टकर भएको छ । नेपाल सरकारको सूचनामा पहुच नभएको कारणले विशेष गरी हामी सुस्त श्रवण भएकाहरुलाई अझ धेरै असर परेको छ । यो महामारीमा के के भइरहेको छ भन्ने कुरा पनि थाहा पाँउदैनौ। अन्तमा म के भन्न चाहन्छु भने हामी जस्ता सुस्तश्रवणहरुलाई पनि ध्यानमा राखेर सरकारको सम्पूर्ण अधिकारिक सूचनाहरु तथा टेलिभिजनहरूले समाचार प्रशारण गर्दा क्याप्सनिङ्गको व्यवस्था गरेमा हामी सुस्तश्रवण भएकाहरु सूचना र जानकारीहरुबाट वन्चित हुनेछैनौं।

लेखिका श्रुति संस्थाको बुटबल कार्यक्षेत्रमा आवद्ध छिन्।

जेष्ठ २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्