लकडाउन खुकुलो भएपछि के कोरोना भाइरस हराउँछ?

गत वर्षको चैत ११ गतेदेखि शुरु भएको लकडाउन विभिन्न मितिमा थपिँदै गएर आज ८0 औं दिनबाट खुकुलो भयो। हुन त यसअघि गरेको निर्णयअनुसार असार १ गतेदेखि लकडाउन खुकुलो बनाउने निर्णय पनि सरकारले लिन सक्थ्यो। व्यापक जनदबाब आएको र विकल्प दिन नसकेको अवस्थाको कारण ४ दिनअघि नै लकडाउन खुकुलो पार्न सरकार बाध्य भयो। यसलाई सभ्य भाषामा भन्नुपर्दा परिस्थितिअनुसारको निर्णय भन्न सकिन्छ। लकडाउन पुरै खोलिएको छैन। स्कूल, कलेज, सिनेमाहल, मल खोलेको छैन। सार्वजनिक गाडी चलाउन दिइएको छैन। गतेअनुसार जोर र बिजोर नम्बरका निजी सवारी साधनहरु चलाउन दिने भएको छ।

लकडाउन खुकुलो हुँदा नागरिकलाई राहत मिल्यो। त्यसमा दुई मत छैन। खुकुलो गर्नुको विकल्प पनि थिएन। सरकार त्यसको लागिउपयुक्त समयको पर्खाइमा थियो । त्यसमा राजनीति र अरु कुराहरु पनि मिसिन गयो । त्यसैले कोरोनाभाइरस संक्रमण र नागरिकको स्वार्थको दृष्टिले उपयुक्तता खोज्नु भन्दा पनि सरकारको आफ्नो उपयुक्तता र स्वार्थमा बढी ध्यान गएको पनि देखियो, बुझियो । जे होस्, ढिलो चाँडो खोल्नै थियो, खुल्यो ।

नेपालमा कोरोनाभाइरस भित्रिएदेखि आजसम्मको स्थितिबारे सबैजसो जानकारै छन् । यसलाई लिएर सरकार कति सफल रह्यो, कति असफल रह्यो, नागरिकले कति कष्ट र सास्ती भोगे,कतिले के कति गुमाए, त्यसको लेखाजोखाआ–आफ्ना ठाउँमा छन् । सरकारले गरेको दशअर्ब रुपैयाँ खर्चको विवरण सरकारसँग छ । त्यसको लेखाजोखा गर्ने यो लेखको उद्देश्य होइन । यसमा उठाउन खोजिएको कुरा अबका दिनमा कोरोनाभाइरसको संक्रमणले के कस्तो रुप लिन सक्छ र कसरी अघि बढ्नु पर्छ भन्ने नै हो ।

कोरोनाभाइरसको संक्रमण मौसमसँग खासै जोडिन आएन । भर्खरै विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसमा मौसमको प्रभाव स्पष्ट छैन भनिसक्यो । यो अर्थमा संक्रमण बढ्ने संभावना अर्को २ हप्ता वा २ महिना छ र त्यसपछि कम हुन्छ भन्ने रहेन । सरकारको शुरुको प्रक्षेपण १ हजार पाँच सय थियो, केही हप्ताअघि यसको पुनर्मूल्याङ्कन गरेर ५ हजार पुर्‍यायो। त्यो ५ हजार आजभोलिमा पुग्दैछ । अहिलेलाई यतिमात्र भन्न सकिन्छ, त्यो संख्या सरकारले सोचेभन्दा धेरै गुणाले बढी हुनेछ । यो कुरा यहाँ उठाउनुको कारण हो, सरकारको अबको रणनीति के हो ? यसअघि भनेझैँ १ हजार ५ सयको आंकलन गरेर त्यहीअनुसार पिपिइ, परीक्षण कीट र उपचारको व्यवस्था गरियो, अब ५ हजारको लागि व्यवस्था गर्नुपर्ने भयो, गर्दैछौं भन्ने मात्र हो वा त्योभन्दा धेरै परसम्मको सोचाइ छ ?

भनिरहनु पर्दैन, नेपालमा थप संक्रमित भित्रिने भनेको भारतबाटै हुन् । भारतमा दिन दुगुना रात चौगुना बढिरहेको छ । अमेरिका र ब्राजिलपछि तेस्रो मुलुक बन्दैछ । त्यस अवस्थाबाट नेपाल अछुत रहन सक्दैन । यो त भित्रिनेको कुरा भयो । नेपालभित्रै संक्रमण भएर निरन्तर बढ्ने हिसाब बेग्लै छ । अहिले संक्रमित र निको हुनेहरुको अनुपात मात्र ६:१ छ । विश्वको स्थितिचाहिँ लगभग २:१ छ । यसले नेपालमा संक्रमण दिनप्रतिदिन बढिरहेको देखाउँछ ।

क्वारन्टीनको कुरा गर्दा नेपालले शुरुमा चीनबाट ल्याएका १७५ जनालाई अति विशिष्ट व्यवस्था गर्‍यो। त्यसले सरकारको वाहवाही भयो । भन्नै पर्दा क्वारन्टीन भनेको कस्तो हुनुपर्छ भनेर अरु देशलाई समेत सिकाउन लायकको व्यवस्थापन थियो । यतिसम्म कि कुन छाकमा के के परिकार थिए, मनोरञ्जनको लागि के के साधन उपलब्ध गराइएका थिए, टहल्नेदेखि खेलकुदसम्मका आदिइत्यादिका कुराहरु पढ्न, सुन्न र देख्नमा आए । म त्यसबेला भन्थेँ, १ सय ७५ लाई त व्यवस्था गर्‍यो, भोलि १ हजार ७५ लाई गर्न पर्‍यो भने थाहा हुन्छ । अरु देशमा झैँ १० हजार, लाख त धेरै टाढाका कुरा हुन् । मैले सम्झेको छु, त्यसैबखत स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भन्नुभएको थियो- सबैलाई सरकारले यसरी कहाँ राख्न सक्छ ? आ–आफैँले व्यवस्था गर्ने हो । त्यसलाई लिएर उहाँको आलोचना पनि भयो । त्यसबेला उहाँले जानेर नजानेर त्यसो भन्नुभयो । आखिर भयो त्यही नै । यसलाई सरकारको दुरदृष्टि नभएको पनि भन्न सकिन्छ, सरकार असफल भएको पनि भन्न सकिन्छ, वा मन्त्रीले भन्नु भएझैँ असम्भव काम हो भनेर पनि भन्न सकिन्छ । तर त्यो राज्यको दायित्व हो र त्यसमा राज्य चुक्यो र चुकिरहेको छ  । अब थप चुक्नु भएन ।

अहिलेसम्म जेजस्तो भएपनिअब लकडाउन खुकुलो गरिसकेपछिको चरणमा सरकारले परीक्षण, क्वारन्टीन, आइसोलेसन र उपचारको व्यवस्था के कसरी गर्छ, त्यसले ठूलो माने राख्नेछ । किनकि संक्रमितको संख्या बढिरहेको छ, बढ्ने पक्का छ । लकडाउन खुकुलो भयो, थप खुकुलो हुँदै जानेछ । यो भनेको सरकारले आफ्नो कार्यभार कम गर्दै लाने पनि हो । अर्थको अनर्थ नलागेमा सरकार आफ्नो जिम्मेवारीबाट बिस्तारै पन्छिँदै जाने पनि हो ।

परीक्षणको कुरा गर्दाआरडिटी विवादित रहँदै आयो । आरडिटी नतिजाको आफ्नै महत्व छ । त्यसको के कसरी विश्लेषण गर्ने र उपयोग गर्ने आफ्नो ठाउँमा छ । सबैको जोड पिसिआरमै छ । किनकि त्यसैबाट प्राप्त हुने नतिजाले मात्र संक्रमितभएको नभएको एकिन गर्छ । तर चाहेरै पनि पिसिआर परीक्षणलाई बढाउन नसकिरहेको अवस्था छ भन्ने सरकारको स्वीकारोक्ति छ । हिजोसम्मको आंकडाअनुसार जम्मा १ लाख १० हजार ७८४ जनामा पिसिआर परीक्षण भएको छ । त्यो संख्या भनेको कुल जनसंख्याको करिब ०.४ प्रतिशतभन्दा केही बढी मात्रै हो । त्यसलाई बाहिरकाले सिधा अर्थमाबुझ्ने भनेको सरकारले क्षमता बढाउन सकेन भन्ने नै हो । सबैले बुझेकै कुरा हो, संक्रमितको खास संख्याको आंकलन यथेष्ट परीक्षणको नतिजाले मात्र निर्धारण गर्न सक्छ । अहिले हामीमा एउटा मानसिकता के छ भने परीक्षण नै कम भइरहेको छ अनि संक्रमितको संख्या पनि कम देखिने त स्वभाविकै हो नि । पक्कै पनि यसलाई नकार्न सकिन्न । परीक्षण यथेष्ट हुन सकेको भए यथार्थ थाहा हुन्थ्यो । त्यो अहिले सोचेकोभन्दा बेग्लै पनि हुन सक्थ्यो ।

अहिलेसम्म जेजस्तो भएपनिअब लकडाउन खुकुलो गरिसकेपछिको चरणमा सरकारले परीक्षण, क्वारन्टीन, आइसोलेसन र उपचारको व्यवस्था के कसरी गर्छ, त्यसले ठूलो माने राख्नेछ । किनकि संक्रमितको संख्या बढिरहेको छ, बढ्ने पक्का छ । लकडाउन खुकुलो भयो, थप खुकुलो हुँदै जानेछ । यो भनेको सरकारले आफ्नो कार्यभार कम गर्दै लाने पनि हो । अर्थको अनर्थ नलागेमा सरकार आफ्नो जिम्मेवारीबाट बिस्तारै पन्छिँदै जाने पनि हो । किनकि सरकारले आफ्नो हिसाबले लकडाउन खोलेको होइन । चौतर्फी दबाब र नागरिकबाट हुन थालेको अवज्ञाको कारण लकडाउन खुकुलो बनाएको हो । अब यसपछिको परिस्थितिमा संक्रमण कम हुँदै गयो भने त्यसको जस सरकारले लिनेछ भने बढ्दै गएमा त्यसको अपजस नागरिकलाई दिनेछ । सबैको एउटै उद्देश्य हो, जस जोसुकैले पाओस् तर कोरोना भाइरस नियन्त्रणमा आओस् । नियन्त्रणमा आएपछि त्यसको जस पाउने सरकारले नै हो । यी कुराहरु म यो कारणले उठाइरहेछु किअबको मुख्य जिम्मेवारी नागरिकको हुनेछ । मुखै खोलेर भन्नु पर्दा एक किसिमले सरकार मुक दर्शक भएर हेरेर बस्न सक्छ । सरकारसँग यथेष्ट परीक्षण कीट नहुन सक्छ । भएपनि परीक्षण गर्ने पर्याप्त साधन (पिसिआर मेसिन) र दक्ष जनशक्ति छैन । क्वारन्टीन र आइसोलेसनको लागि पर्याप्त ठाउँ र व्यवस्था छैन । भोलि रोगले च्यापेको अवस्थामा पर्याप्त भेन्टिलेटरसहितको कोभिड अस्पताल छैन । यी वास्तविकता कसैबाट लुकेको छैन ।

आजबाट लकडाउन खुल्ने कुरा हिजै आयो । त्यसको विस्तृत जानकारी भोलि (आज) मात्रै घोषणा हुने भनियो । यो लेख तयार गर्दासम्म औपचारिक रुपमा त्यो जानकारी आएको छैन । जेजस्तो सूचना जारी भए पनि मुख्य कुरा हो, सुरक्षा विधि अपनाउनुपर्ने भन्ने नै हो । काठमाडौंको जनजीवन आजैदेखि सामान्यीकरण भइसक्यो । रातो र पहेँलो जोनमा नपरेका अरु सहरहरुको पनि स्थिति लगभग त्यस्तै होला । एउटा राम्रो कुरा भनेको बाटोमा हिँड्ने धेरैले मास्क लगाउन छोडेका छैनन् । तर सबैले लगाएका छैनन् । बिस्तारै मास्क लगाउन पनि छोड्ने छन् । यो पक्का छ । २ मिटरको सामाजिक∕भौतिक दुरी कसैको मनमा छ जस्तो लाग्दैन । त्यो चाहे बैंकमा लाइनमा लाग्दा होस् या कुनै पसलमा किनमेल गर्दा होस् । बेलाबेला साबुनपानीले हातधुने वा स्यानिटाइजर प्रयोग गर्ने कुरामा पनि आम मानिस अभ्यस्त भइसकेको लाग्दैन । घर र अफिसमा बस्ने त साबुन पानीले हात धोलान्, अरुले कहाँ कति बेला धुने ? सार्वजनिक ठाउँमा त्यसको व्यवस्था कहाँ कति होला? कतिले स्यानिटाइजर बोकेर हिँडेका होलान् । भन्नै पर्दा बोकेर हिँड्नु पर्ने हो ।

अन्त्यमा, हिजो बिबिसीमा प्रकाशित एउटा समाचार सम्झेँ । भारतको दिल्ली निबासी मुकुल गर्गको १७ सदस्यीय एउटा परिवारमा ११ जना संक्रमित पाइयो । एकै रातमा उहाँको घर अस्पतालमा परिणत भयो । भारतमा झैँ नेपालमा पनि हामी ३∕४ पुस्तासम्म संयुक्त परिवारमै बस्छौं । दुभाग्यवश एकजनामा कतैबाट संक्रमण भइहाल्यो भने पुरै परिवार जोखिममा पर्छ । त्यसपछि त्यही घरलाई अस्पतालको रुप नदिई सुखै छैन, जसरी मुकुल गर्गको घर अस्पताल बन्यो । त्यही समाचारमा यो पनि उल्लेख छ, कोरोना भाइरस बाहिरी वातावरणमा भन्दा घरभित्रको बातावरणमा बढी फैलिन्छ। यो अध्ययन अनुसन्धानबाट पत्तालागेको कुरो हो।

जेठ २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्