सरकार विरोधी प्रदर्शन बढेपछि गृहले धम्क्यायो- जुलुसमा सहभागी नहुनुस् नत्र थुन्छौँ

काठमाडौँ- लकडाउनको विषयलाई लिएर पछिल्लो समय जनस्तरबाट सरकार विरोधी प्रदर्शन बढेपछि गृह मन्त्रालयले कडा चेतावनी दिँदै जुलुसहरुमा सहभागी हुनेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

लकडाउनका लागि जारी गरिएका मापदण्ड विपरीत मानिसहरुले सुनियोजितरुपमा उल्लंघन गरिरहेको भन्दै संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी गृह मन्त्रालयले  दिएको छ।

‘विगत केही दिन अगाडीदेखि विभिन्‍न बहाना र माग राखेर सामाजिक सञ्‍जालबाट सर्वसाधारणलाई निश्‍चि स्थानमा जम्मा हुन आह्‍वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, गृह मन्त्रालयद्धारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।

‘ बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि ६०० सम्म जरिवाना र १ महिना देखि ६ महिनासम्म थुनामा राख्‍ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरा समेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने जो कोहीलाई पनि प्रमुख जिल्ला अधिकारीले उक्त ऐनले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न बाध्य हुनुपर्ने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय सार्वजनिक गरेपनि गृह मन्त्रालयले भने पुरानै स्थितिको पृष्ठभूमिमा चेतावनी दिएको छ।

जेष्ठ २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू