नेपाल एयरलाइन्सले कतारबाट एकैदिन ल्याउँदैछ नेपाली कामदारका १९ शव

फाइल तस्बिर।

काठमाडौँ– विदेशमा अलपत्र नेपालीलाई उद्धार गर्ने सरकारको निर्णय कार्यन्वयनको प्रकृयामा अगाडि बढिरहेका बेला यतिबेला विभिन्न देशमा रहेका नेपाली दूतावासले स्वदेश फर्कने चाहनेहरुको तथ्यांक संकलन गरिरहेका छन्।

सरकारको स्वदेश फर्कन निर्धारण गरेका १५  प्राथमिकताका आधारमा पहिलो चरणमा नेपाल फर्कनेहरुको सूची तयार हुनेछ। सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको छ।

त्यसका लागि खाडीलगायत विभिन्न देशबाट फर्काउने मितिसमेत सार्वजनिक  भएकाे छ। स्वदेश फर्कन चाहने नेपालीले हवाई टिकट र फर्किएपछि होटलमा क्वारेन्टिनमा बसे त्यसको खर्च ब्यहोर्नु पर्नेछ। नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले उनीहरुलाई ल्याउने जिम्मा पाएका छन्। त्यसका लागि सरकारले देश अनुसारको हवाई भाडा तोकिसकेको छ।

उद्धारका लागि नेपाल एयरलाइन्सको वाइड वडीले १४ र न्याराे वडीले १० वटा उडान भर्ने छन्। वाइड वडी २ सय ६५ र न्यारो वडी एक सय ५६ जना यात्रु बोक्ने क्षमताकाे छ। त्यसैगरि हिमालयन एयरलाइन्सको एयरबस ३२० ले १९ वटा उडान भर्नेछ।  एयरबस ३२० को यात्रु बोक्ने क्षमता एक सय ५६ जना रहेकाे छ।

पहिलो चरणमा सरकारले बंगलादेश, थाइल्यान्ड, सिंगापुर, कम्बोडिया, श्रीलंका, जापान, नाइजेरिया, साइप्रस, दक्षिण कोरिया, पाकिस्तान, अस्ट्रेलिया, युगाण्डा, माल्दिभ्स, मलेसिया, कतार, साउदी अरब, यूएई, बहराइन, ओमान, कुवेतलगायत देशबाट नेपालीलाई ल्याउँदै छ। विमानको कुल यात्रु क्षमताको कम्तिमा ८५ प्रतिशत भरिए मात्र चार्टर्ड उडान हुने सरकारको भनाई छ।

सरकारले आफ्ना विमान पठाएर नागरिकको उद्धार सुरु गर्नु अगावै विभिन्न देश आफैले उनीहरुलाई स्वदेश फर्काउन थालिसकेका छन्। कुवेत सरकारले तीनवटा फ्लाइटमा ४ सय ३९ जना नेपाली कामदार पठाइसकेको छ।

उनीहरु सबै महिला हुन्। उनीहरुसँग ७ जना दुई वर्ष मुनीका बच्चा र दुई जना १२ वर्ष मुनीका बालबालिका पनि आएका छन्। यसैगरि यूएईका विभिन्न कम्पनीले आफ्नो खर्चमा एक सय ६८ जना नेपाली कामदार पठाएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता राजन पौडेलका अनुसार नेपाल एयरलाइन्स र  हिमालयन एयरलाइन्सबाहेक अन्य २४ वटा उडानहरु (यसमा यूएई र म्यानमारबाट अस्ती भएको उडान भने समावेश छैन तर कुवेतबाट भइसकेका तीनवटै उडानहरु समावेश छन्) विदेशी एयरलाइन्सले पनि नेपालमा गर्दैछन्। उनीहरुले विदेशबाट नेपाली यात्रुहरु लिएर आउनेछन्। सम्बन्धित देशका सरकार वा कामदारका कम्पनीको खर्चमा अलपत्र नेपाली कामदार  स्वदेश फर्कने छन्।

अमेरिका, युरोपियन युनियन, ओमानलगायतले केही नेपालीलाई आफै विमान चार्टर्ड गरेर स्वदेश फर्काउन लागेको पर्यटन मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार पहिलो चरणको उद्धार जुन २५ तारिखसम्म सन्चालन हुनेछ। सम्बन्धित देशले आफै चार्टर्ड गरेर नेपालीलाई फर्काउन सक्ने उडानहरु थप हुन सक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन्।

चासो अलपत्र शवमा पनि


कोरोना भाइरसको महामारीका कारण सरकारले लागु गरेको लकडाउनका कारण विदेशमा अहिले एक सय ५० भन्दा बढी नेपाली कामदारको शव अलपत्र अवस्थामा रहेको छ।

सरकारले नेपालीको उद्धार गर्ने निर्णय गरेसँगै ती शव पनि नेपाल ल्याउने बाटो खुलेको छ। यसबीचमा एउटा शव भने नेपाल आईसकेको छ, यूएईबाट। नेपाल एयरलाइन्सले असार ३ गते कतारबाट १९ शव लिएर आउने निश्चित भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

‘संख्या आइपुगे पनि हामीलाई नामहरु प्राप्त भइसकेको छैन। नाम र ठेगान आइसकेपछि हामी अझ तयारी अवस्थामा बस्ने छौँ’, बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले भने।

त्रिभुवन विमानस्थलमा शव आइसकेपछि मृतकका परिवारको घरसम्म पुर्‍याइदिने काम बोर्डले गर्दछ। सुवेदीले विभिन्न देशमा रहेका कूटनीतिक नियोगलाई शवलाई पनि प्राथमिकता दिन आग्रह गरिएको बताए बताए।

कतारसहित साउदी अरब, कुवेत, मलेसियालगायत अधिकांश नेपालको वैदेशीक रोजगारीका प्रमुख गन्तव्य राष्ट्रहरुमा नेपाली कामदारको शव अलपत्र रहेको छ।

नेपालमा निरन्तर लकडाउनपछि सरकारले विदेशमै दाहसंस्कारका लागि सहमति दिने मृतकका परिवारलाई ५० हजार रुपैयाँ प्रोत्साहन दिने निर्णय पनि गरेको थियो। सुरुका दिनहरुमा परिवारले सहमति दिएपछि उद्धार गर्ने निर्णयपछि त्यो क्रम घटेको छ।

जेठ ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्