कुवेतबाट फर्किएका सहित १०७ जना खरिपाटी क्वारिन्टनमा

भक्तपुर– भक्तपुरको खरिपाटीको विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेन्टिनमा शुक्रबार कुवेतबाट फर्किएका १०३ सहित १०७ जनालाई राखिएको छ।
चाँगुनारायण नगरपालिका–७ खरिपाटीमा शुक्रबार नेपाल फर्किएका एक सय ५० जना महिला कामदारमध्ये बाग्मती प्रदेशको ४५ जनाबाहेक सबैलाई भक्तपुर ल्याइएको हो।
टोलीमा ९ जना बालबालिका छन्। यस्तै जापानबाट आएका ६ जनामध्ये ४ जनालाई पनि खरिपाटीको क्वारेन्टिनमा राखिएको छ। बाग्मती प्रदेशका ४५ जनालाई भने ललितपुर, जावलाखेलको स्टाफ कलेज क्वारेन्टाइनमा राखेको छ।
शुक्रबार कुवेतबाट जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको विमानबाट उनीहरुलाई नेपाल ल्याइएको हो।
कुवेतबाट नेपाल आएकाहरुमध्ये दुई जनालाई ज्वरो धेरै आएकोले शंकास्पद भन्दै उपचारको नमूना संकलन गरेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ। उनीहरुको रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा राखिएकाहरुलाई पनि सम्बन्धित जिल्ला नपठाउने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
यस्तै शुक्रबार नै जापानबाट आएका ६ मध्ये एक पुरुषलाई क्यान्सर उपचारको लागि हरिसिद्धिको क्यान्सर अस्पताल लगिएको छ। पुरुषसँगै उनकी श्रीमती पनि अस्पतालमा नै गएकी छन्।
कुवेत र जापानबाट नेपाल फर्केको टोलीलाई विमानस्थलबाट नेपाली सेना, नेपाल प्रहरीको स्कटिङमा साझा यातायात, नेपाली सेनाको बस मार्फत क्वारेन्टिन पुर्याइएको हो । यसअघि बिहीबार कुवेतबाट फर्किएका नेपाली कामदार महिलाहरुलाई स्वास्थ्य परिक्षण गराई सम्बन्धित जिल्ला पठाइसकिएको छ ।