संविधान संशोधन विधेयकमाथि संसदमा आज मतदान हुने

काठमाडौँ – नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्नका लागि संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयकमा शनिबार मतदान हुँदैछ । प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने बैठकमा मतदान हुने कार्यसूचि छ ।

दलहरुसँगको परामर्शपछि सभामुख अग्निप्रसाद सापकोटाले शनिबार मतदान गर्ने गरी बैठक बोलाएका हुन् । संसद सचिवालयलाई त्यसको तयारी लगभग पूरा भएको जनाएको छ ।

संविधान संशोधनमाथि संशोधन दर्ता गराउन दिइएको ७२ घण्टाको समय शुक्रबार राति ८ः३० बजे सकिएको छ । सरकारले त्यस लगत्तै मतदान गरी टुंग्याउन लागेको हो ।

संशोधनका लागि पूरा गर्नु पर्ने सबै प्रक्रिया नियम निलम्बन नगरी पूरा गर्ने तर अतिरिक्त समय बेतित नगर्ने सरकार र दलहरुको चाहना अनुसार संशोधनका लागि दिइएको समय सकिने वित्तिकै विधेयक अघि बढाउन लागिएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

सत्तारुढ नेकपाले सदनमा हुने संविधान संशोधनसँग सम्बन्धित सबै कारबाहीमा भाग लिन ह्वीप जारी गरिसकेको छ । त्यस्तै विपक्षी नेपाली कांग्रेसले पनि पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

विधेयकमाथि विशेष समिति गठन गरेर छलफल गर्न सकिने भए पनि दलहरु सदनमै छलफल गरेर टुंग्याउन तयार भएका छन् ।

प्रतिनिसभामा मंगलबार राति विधेयकमाथि सैद्धान्तिक छलफल गरेर संशोधन दर्ता गराउने प्रस्ताव सर्वसहमतिले पारित गरेको थियो। उक्त छलफलमा संसदका ८४ जना सांसदले भाग लिएका थिए ।

शनिबार दिउँसो १ बजे सुरु हुने बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेले दफावार छलफलका लागि विधेयक प्रस्तुत गर्ने छिन् ।

दफावार छलफलमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। छलफलपछि कानुन मन्त्रीले नै ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछिन् ।

संविधान संशोधन विधेयकमाथि हस्तक्षरसहितको मत विभाजन हुनेछ । संशोधनको पक्षमा दुई तिहाइ अर्थात् २७५ सदस्यीय प्रतिनिसभामध्ये एक सय ८४ जना सांसदको समर्थन चाहिन्छ । सबै दलले संशोधनको पक्षमा मतदान गर्ने घोषणा गरिसकेकाले विधेयक पारित हुने निश्चित जस्तै छ ।

विधेयकमा समाजवादी जनता पार्टीकी सांसद सरिता गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी छन् । पार्टीले उनलाई सो संशोधन प्रस्ताव फिर्ता लिन भने पनि उनले मानेकी छैनन् । त्यसबारे छलफल गर्न सजपाको संसदीय दलको बैठक शनिबार बिहान ११ बजे बस्दैछ ।

संविधानको अनुसूचि ३ मा रहेको निशासन छापमा प्रयोग भएको नेपालको नक्सामा लिम्पियाधुरा, कुटी, गुञ्जीसहितका भू–भाग समेट्न सरकारले जेठ ९ गते संविधान संशोधन विधेयक सचिवालयमा पेश गरेको थियो ।

संघीय संसद सचिवालयले जेठ २० गते गोरखापत्रमा सर्वसाधरणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो । सूचना प्रकाशित गरेको सात दिनको अवधि पूरा भएसँगै मंगलबार विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो ।

शनिबार प्रतिनिधिसभाले विधेयक पारित गरेपछि आइतबार बस्ने राष्ट्रियसभाको बैठकमा सूचनासहित विधेयक पेश हुनेछ । राष्ट्रियसभा स्रोतका अनुसार प्रतिनिधिसभाबाट सूचनासहित आएको विधेयकमाथि आइतबार नै सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टको समय दिइनेछ ।

७२ घण्टको समय सकिएपछि राष्ट्रियसभाले पनि तुरुन्तै विधेयक पारित गर्ने तयारी गरिएको सत्तापक्षका राष्ट्रियसभाका सचेतक खिमलाल भट्टराईले जानकारी दिए । राष्ट्रियसभा पनि विधेयक दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

जेठ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्