हाम्रो आवाज पनि सुन्नुहोस्- ८

‘साथी नपाउँदा जीवनदेखि विरक्तिन्छु, आमाको त्यागले संसार जित्ने साहस आउँछ’

सायद म जन्मेदेखि नै कान नसुन्ने थिएँ वा जन्मेको ८ महिनाभित्र विशेष कारणले नसुन्ने भएँ, जन्मेको ८ महिनापछि मात्र शिक्षण अस्पताल, महाराजगञ्जमा जँचाउँदा मेरो अवस्था पत्ता लाग्यो। झण्डै १७, १८ वर्ष अगाडि नै नेपालमा कोक्लियर इम्प्लान्ट भन्ने एउटा प्रविधि थियो जस्ले कान नसुन्लाई सुन्न सजिलो बनाउँछ जुन साह्रै महंगोको कारणले गर्न सकिएन। त्यसैले मलाई १०, ११ महिनाको उमेरदेखि नै कान सुन्ने मेसिन (हियरिङ एड) लगाई दिनुभयो, जुन हेयरिङ एडभन्दा भन्दा धेरै सस्तो थियो।

हियरिङ एड लगाएरै मलाई सुरुमा थोरै विद्यार्थी भएको र चिनेको विद्यालयमा पढाउनुभयो। त्यही विद्यालयमा थोरै शिक्षकबाट र थोरै अभिभावक तथा साथीहरुबाट सिक्दै गएँ। जति जति कक्षा चढ्दै गएँ, मलाई पढाईमा त्यति त्यति गाह्रो हुँदै गयो। कक्षा ८ पुग्दा मलाई धेरै गाह्रो महसुस भयो। शिक्षकहरुले मेरो कान कम सुन्ने कारणले गर्दा अरु विद्यार्थिहरुलाई पढाउन गाह्रो भएको कुरा मेरो अभिभावकलाई सुनाउनु भयो।

त्यसपछि मेरो अभिभावकले नक्सालस्थित बहिराहरुले पढ्ने विशेष स्कूलमा राख्ने सोच बनाई बुझ्न थाल्नुभयो र कुरा गर्नुभयो। ‘छोरीले कान पूरा नसुन्ने तर मुखामुख गरेर कुराकानी गर्दा सबै कुरा बुझ्छे, के गर्दा ठिक हुन्छ ?’ भनेर सोध्नुभएछ। उक्त बहिरा विद्यालयका प्रधान्याध्यापकले मसँग कुरा गरी मेरो अक्षर, लेखाइ हेरिसकेपछि बाँकी कक्षा पनि हालकै स्कूलमा पढाउने सल्लाह दिनुभयो।

यहाँ (बहिरा स्कूलमा) पढाएपछि मैले अहिले जति बोलेको हो त्यो पनि हराउँदै जान्छ, यहाँ साँकेतिक भाषामा मात्र पढाइन्छ, बोलेर कुरा गर्न पाइँदैन अनि बोलेर कुरा गर्नेहरुसँग बहिरा विद्यार्थीहरु आफूहरु पनि नसुन्ने भएको कारणले अलि शंकालु र इर्ष्यालु दृष्टिले पनि हेर्ने गर्दछन् भन्ने जानकारी दिनुभयो। जसले गर्दा मलाई झन् गाह्रो हुन्छ भनी मेरो अभिभावकलाई पहिलेकै स्कूलमा पढाईदिन अनुरोध गर्नुभयो। मलाई पढ्न गाह्रो हुँदै आएकाले सिकाउनको लागि मेरो आमाले विवाह हुँदा छाडेको एसएलसी पुनः परीक्षा दिई पुनः पढ्न सुरू गर्नु भयो। हाल उहाँ स्नातकोत्तर गरी रहनुभएको छ।

आमाले मेरो बोलीको सुधारको लागि हप्तामा २ पटक एक वर्ष सम्म शिक्षण अस्पतालमा लगेर मलाई ‘स्पिच थेरापी’ गराउनु हुन्थ्यो। त्यस पछि पनि झर्को नमानी आफैँ बच्चा जस्तो भई छिटो सिकोस् भनि अभिनय गरेर सिकाउनु हुन्थ्यो। थेरापीको कक्षामा सिकाउनु भएको बाहेक पनि आमाले आफैँ आफूले थाहा पाएसम्मको ज्ञान नयाँ नयाँ तरिका लगाएर, फोटो तथा चित्रहरू देखाई, रँग, वस्तु, जनावरको आवाज, नफुट्ने वस्तु खसालेर निस्किने आवाज, आदि सिकाउनु भएको थियो।

आमाको मेहनत देखेर ‘यो नानी अरुको हातमा परेको भए लाटी नै बनाई घरमै राख्थ्यो होला’ भनी छिमेकीहरुले भनेको सुन्छु। मलाई चिन्नु हुने र बुझ्नेहरु जो कोहीले पनि भन्नु हुन्छ, ‘तिमी त धेरै भाग्यमानी छौ, तिम्रो लागि पढि दिने आमा भेटाएका छौं’ भन्नुहुन्छ। हुन पनि हो मेरो लागि आमाले धेरै दुःख र कष्ट झेल्नु भएको छ।

म एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएपछि विद्यालय, मेरो परिवार लगायत आफन्तजनको खुसीको सिमाना नै रहेन। त्यसपछि कुन विषय लिएर ‘प्लस टु’ पढ्ने चिन्ता, कलेजको वातावरण विद्यालयको जस्तो नहुने, मेरो सुन्ने क्षमतामा हुँदै गएको कमीको अवस्थामा डाक्टर तथा अडियोलोजिस्टले अहिले लगाई रहेको एनालग हेरिङ एड परिवर्तन गरी डिजिटल हेरिङ एड परिवर्तन गर्न सुझाव दिनु भयो जुन महंगो थियो। साथै आर्थिक संकटको बावजुद पनि मेरो अभिभावकले मलाई नयाँ हियरिङ एड किनिदिई व्यवस्थापन पढाउने निर्णय गर्नुभयो।

सुस्त श्रवण भएकाहरुले अनुहार हेरेर कुरा गर्दा धेरै कुरा ओठको चलायमानबाट थाहा पाउँछन्। तर अहिले सबैले सुरक्षाको लागि मास्क लगाएकोले बोलेको बुझ्नु पर्ने भएकोले झनै गाह्रो हुने गरेको छ। वर्तमान सरकारले हामी जस्ता सुस्त श्रवण भएकाहरुको लागि शिक्षा र आत्म निर्भरताको लागि कार्यक्रम तथा बजेटको व्यवस्था गरेको छैन।

मैले मेहनतका साथ ‘प्लस टु’ पनि प्रथम श्रेणीमै उत्तीर्ण गरेँ। तर घरको आर्थिक अवस्थाको अन्यौल उस्तै रह्यो। तै पनि मेरो अभिभावकले मेरो इच्छाअनुरुप मेरो भविष्यको लागि आर्थिक बोझ भोगेर भए पनि ४ वर्षे ‘व्याचलर इन इनफर्मेशन म्यानेजमेन्ट’ (बिआइएम) पढाउने निर्णय गर्नुभयो। जस्को लागि झण्डै चार लाख पचास हजार खर्च चाहिने भयो।

जसोतसो आर्थिक व्यवस्थापन गर्नु भयो र हाल म जाँचको नतिजा पर्खेर बसेकी छु। आमाले आफ्नो अफिस अनि गरी रहेको व्यवसाय छाडेर पछि मलाई आफ्नो खुट्टामा उभिन सजिलो होस् भन्दै ब्युटीपार्लरको व्यवसाय सुरु गर्नु भयो। पढाइको साथ साथै मलाई श्रृंगारसम्बन्धि सिपको साथमा कम्युटर सिक्न पठाउनुभयो।

अहिले देश कोभिड – १९ बाट लकडाउनमा परेको बेलामा मैले समय मिलाएर पढेको साँकेतिक भाषाले थोरै भए पनि मद्दत मिलेको छ। सांकेतिक भाषाले मात्र धेरै शब्दको अर्थ बुझ्न गाह्रो छ। सांकेतिक शब्दको कमीले गर्दा धेरै कुराहरू आफै मिलाएर बुझ्नु पर्छ। सुनाईको क्षमता अनुसार बुझाइमा असर परेको हुन्छ। कसै कसैलाई एकपटकको सुनाइबाट बुझ्न गाह्रो भएको हुन्छ। दोस्रो, तेश्रो पटक सोध्दा स्कूल कलेजमा झर्को मान्ने, साथीहरुले दिक्क मान्ने, आफन्तजनले वास्ता नगर्ने आदि इत्यादि कुराले जीवन दिक्क बनाउँछ।

देशमा संकट पर्दा, चाहे २०७२ सालको महाभूकम्प होस् या अहिलेको कोभिड– १९ को माहामारीमा हामीहरू सूचनाको अधिकारबाट बञ्चित भएको जस्तो लाग्छ। सांकेतिक भाषाको सूचनाहरू बहिरा साथीहरुले जस्तो बुझिदैन। सुस्त श्रवणहरु बोलेर र लिखित रुपमा सञ्चार गर्ने भाषामा निर्भर हुने भएकोले समाचार तथा सूचनाहरू प्रसारणमा हामिलाई चाहिने अनु–शिर्षक (क्याप्सनिङ्ग) प्रयोग भएको छैन।

सुस्त श्रवण भएकाहरुले अनुहार हेरेर कुरा गर्दा धेरै कुरा ओठको चलायमानबाट थाहा पाउँछन्। तर अहिले सबैले सुरक्षाको लागि मास्क लगाएकोले बोलेको बुझ्नु पर्ने भएकोले झनै गाह्रो हुने गरेको छ। वर्तमान सरकारले हामी जस्ता सुस्त श्रवण भएकाहरुको लागि शिक्षा र आत्म निर्भरताको लागि कार्यक्रम तथा बजेटको व्यवस्था गरेको छैन। हामी पनि यस देशको नागरिक हौँ। हामीलाई पनि आत्मनिर्भर भई आफ्नो खुट्टामा आफै उभिएर सबैसँग मिलिजुली गरी हाँस्न र रमाइलो गर्न मन लाग्छ।

यीबाहेक हामी जस्तो कान कम सुन्नेहरुका लागि हुने अप्ठेरा कुराहरू गरेर साध्य नै छैन। पाइलापाइलाका अप्ठेराहरू – आफन्तजनबाट, साथीहरुबाट, समाजबाट, आ–आफ्नै किसिमको पीडाहरू कहिलेकाहिँ त जीवनदेखि नै विरक्त लाग्छ। यसको बावजुद पनि मेरो आफ्नो परिवारको माया र हौसलाको साथसाथै म अघि बढ्दै छु।

‘स्कूल अनि कलेजका साथिहरुले मलाई साथी नबनाई वास्ता नगर्दा जति दुःख लाग्छ त्यति नै मेरी आमाले मेरै लागि छाडेको पढाइलाई निरन्तरता दिएर मेरो पढाइ लगायत हरेक कुरामा साथ दिएका हुनाले कहिलेकाहिँ यो संसारलाई नै जितौं कि जस्तो लाग्छ।’

(लेखिका रिहा महर्जन श्रुति संस्थाकी कार्यकारी सदस्य हुनुहुन्छ।)

जेष्ठ ३१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्