डिप्रेसन र आत्महत्याबारे अभिनेत्री सुरक्षा पन्तसँग कुराकानी

हरेक मानिससँग एउटा यस्तो साथी होस्, जसले सबै कुरा सुनोस् तर जज नगरोस्

म ‘डिप्रेसन वास्तविक हो, भ्रम होइन! यो अस्तित्वमा छ र अस्तित्वमा रहन्छ’ भनेर विश्वास गर्छु।

कलाकार हुँदा होइन, युवाअवस्था हुँदादेखि नै मेरा इच्छाहरु, सपनाहरु, महत्वाकांक्षाहरु, मेरो भित्री कुरा र बाहिरको कुराहरु फरक हुँदा र त्योसँग जुध्दाखेरि केही समय तनावको माहोल मैले भोगेको छु। तर कोही मानिसहरुले त्यसलाई नियन्त्रणमा लिन सक्दैनन्, अनि अन्तिम समयमा सबै कुरा नियन्त्रणबाहिर हुन्छ, सबै कुरा नराम्रो हुन्छ। समय गलत हुन्छ, साथ गलत हुन्छ। सबै कुरा गलत भइरहेपछि मानिसले गलत निर्णय लिन्छ।

तनावको त्यो बिन्दुमा पुगेको अवस्थामा वरपरका मानिसहरु सही भइदिने, साथ सकारात्मक भइदिने, उत्पादनशील समय भइदिने अथवा केही राम्रो वातावरण हुने हो भने मानिस डिप्रेसनको तहमा पुग्दैन।

सुशान्तसिंह राजपूतको सवालमा उनी एकदमै प्रतिभाशाली व्यक्तित्व थिए, उनको दिमागमा पक्कै पनि धेरै किसिमका योजना, कल्पना, धेरै आशा थिए होला जुन स्वाभाविक हो। त्यो हुँदाहुँदै पनि उनी कसरी त्यो अवस्थामा पुगे, कारण अज्ञात छ।

मानिसले कहिलेकाहिँ आफ्नो भावनालाई नियन्त्रणमा राख्न सक्दैन। आफ्ना अपेक्षालाई र उसले पाएको प्रशंसाहरुलाई सन्तुलनमा राखेर धेरै महत्वाकांक्षी नभईकन ‘भोलि मसँग केही पनि नहुन सक्छ’ भन्ने कुरा दिमागमा राखेर ‘म पुन: पहिलाको जीवनमा पनि जान सक्छु’ भनेर बुझ्नुपर्छ। जबसम्म ‘सबै कुरा उस्तै हैन, सबै कुरा फेम हैन, पैसा हैन। हामीसँग केही नहुँदा पनि हामी खुसी हुन सक्छौ’ भनेर मनन हुँदैन, तबसम्म यस्ता घटनाहरु आउँछन्। सायद सुशान्तको जीवनमा पनि त्यस्तो केही भयो होला।

सुशान्त छोटो समयमा नै धेरै अगाडि आएका एकदमै सम्भावना बोकेका कलाकार भनेर सबैले बुझेका छन्। उनी टेलिभिजनको सिरियलबाट आएर एउटा चलचित्रमा काम गर्ने बित्तिकै उदाएका उत्कृष्ट कलाकार हुन्। छोटो समयमा पोख्त देखिएका कलाकार भनेर मैले बुझेको छु। म उनको वास्तविक अभिनय कला र कार्यदक्षतादेखि प्रभावित हुन्थेँ। कलाकार भएकै नाताले मलाई लाग्छ, उनको जीवनमा पक्कै पनि केही उतारचढाव भइरहेको छ।

किनभने ‘एक्कासी जब सफलता हात लाग्छ, वा एक्कासी जब असफल भइन्छ’ धेरै चिजहरु आक्रामक रुपमा आइपर्छ। त्यसमा ‘नाम, दाम’ जे पनि हुनसक्छ, सन्तुलन गर्न गाह्रो हुन्छ, सबैमा त्यसलाई व्यवस्थापन गर्न सक्ने क्षमता हुन्न।

युवाअवस्थामा हुँदा, मभित्रको व्यक्ति एक र बाहिरको समाज अर्को जस्तो हुन्थ्यो। त्यसको द्वन्द्व मैले जहिले पनि अनुभव गर्न सकेँ। मलाई लाग्थ्यो- म किन ‘म’ हुन सकिरहेको छैन? यो मेरो कलेज पढ्दाको समय थियो, त्यो बेलामा मलाई धेरै तनाव हुन्थ्यो। मलाई लाग्थ्यो ‘मलाई जे मन लाग्छ त्यो म किन गर्न सक्दिन?’ बिस्तारै म त्योभन्दा माथि उठ्न सकेँ, किनभने मैले अन्तिममा आफ्नो लगावलाई पच्छ्याएँ।

कसैले ‘यो गर’ भनेर गरिन कि मलाई जे गर्न मन लागिरहेको थियो, त्यो गरेँ। मेरो सपनालाई पच्छ्याएँ। त्यसले गर्दा मलाई सहयोग भयो। सबैभन्दा ठूलो कुरा मानिस स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ। मनदेखि चाहेको गर्न नपाउने वातावरण कहिले पनि हुनुहुन्न। कसैको दबाबमा बस्न हुन्न। भाग्यवश चलचित्र क्षेत्रमा मलाई अहिलेसम्म यस्तो नराम्रो अनुभव भएको छैन।

मानिसले मानसिक स्वास्थ्यलाई जति कुरा गर्छन्, व्यवहारमा अहिले पनि गम्भीरतापूर्वक लिँदैनन्। मलाई त यो आधारभूत आवश्यकता जस्तो लाग्छ। डिप्रेसनको बारेमा धेरैलाई थाहा छ, मानिसभित्रबाट शान्त हुँदैन। ऊ घरको छतभित्र बसेको छ भने पनि सुरक्षित महसुस गर्दैन। कपडा लगाउँदा पनि उसलाई आफू नाङ्गो भएको महसुस हुन्छ।

नेपालमा त मानसिक समस्या भयो भन्यो भने अझै पनि ‘पागल’ को ट्याग लाग्छ। जसलाई समस्या छ उसलाई थाहा नहुन सक्छ। यसमा सामाजिक आयामहरु पनि जोडिन्छन्। नेपालमा पनि डिप्रेसनको बारेमा छलफल बहस हुन जरुरी छ।

यो कुरालाई हाम्रो समाजमा विद्यालय स्तरमा नै स्थापित गर्न जरुरी छ। विद्यार्थीहरुमा नै छलफल गरेर यो कुरालाई अगाडि लैजान जरुरी छ। यदि यस्तो गरिएन भने यस्ता घटना धेरै हुनसक्छन्।

भनिन्छ, ‘डिप्रेसनको बारेमा खुलेर कुरा गरौँ।’ तर मलाई लाग्छ डिप्रेशन वा तनावको कुरा खुलेर गर्नु हुँदैन, जोसँग पनि । यो एकदमै जटिल अवस्था वा कुरा हो। किनभने मानिसले सजिलै ‘जज’ गर्दिन्छन्। भनेको व्यक्ति सही नहुन सक्छ। नेपाल अझै पूर्ण शिक्षित समाज हैन। यस्तोमा कुरा नबुझेर अफ्ठेरो अवस्थामा पुग्न सकिन्छ, झन समस्या थपिन सक्छ। त्यसैले सकेसम्म नजिकको त्यो पनि विश्वासिलो मानिसलाई आफ्नो समस्या सुनाउनुपर्छ जसले सबै कुरा सुनोस् र जज नगरोस्।

किनभने मैले बुझेअनुसार यो सुझाव दिएर समाधान हुने कुरा नै हैन, यसले नियन्त्रण हुन पनि सक्छ वा अझै बिग्रन पनि सक्छ। किनभने डिप्रेसनको ढाँचा व्यक्तिपिच्छे फरक हुन्छ। जसले आफ्नो भावना बाँड्छ, उसलाई सुरक्षित महसुस हुन पर्‍यो। बहसमा आउन पर्‍यो।

नेपालमा त मानसिक समस्या भयो भन्यो भने अझै पनि ‘पागल’ को ट्याग लाग्छ। जसलाई समस्या छ उसलाई थाहा नहुन सक्छ। यसमा सामाजिक आयामहरु पनि जोडिन्छन्। नेपालमा पनि डिप्रेसनको बारेमा छलफल बहस हुन जरुरी छ।

मानिसलाई यही नै गर्नुपर्छ भन्ने दबाबमूलक अवस्था कहिले पनि नआओस्। हामी बिस्तारै सिक्दै छौँ। बालबालिका विशेष गरी किशोर अवस्थामा स्वतन्त्रताको ख्याल गर्नुपर्छ । करियर छान्ने स्वतन्त्रता लगायतका कुरा अहिले आइरहेका छन्, बिस्तारै हामी यसलाई सामूहिक रुपमा विकास गर्दै लैजानुपर्छ। यो एकैपल्ट समाधान हुन सक्दैन।

म फेरि पनि भन्छु, डिप्रेसनको सवालमा जसलाई यो समस्या छ उसँग एउटा मान्छे हुनुपर्छ जसले कुरा सुनिदिन्छ र जज गर्दैन। त्यसले आत्महत्यामा केही नियन्त्रण हुन्छ।

(अभिनेत्री सुरक्षा पन्तसँग सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)

जेष्ठ ३२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू