मेस्सीसँग सेल्फी लिन सुरक्षा घेरा तोड्नेविरुद्ध कानूनी कारवाहीको खोजी गर्दै बार्सिलोना

बन्द रंगशालामा भएको खेलमा सुरक्षा घेरा तोडेर लियोनल मेस्सीसँग सेल्फी लिन खोज्नेविरुद्ध कानूनी कारवाहीका लागि प्रक्रिया थाल्ने बार्सिलोनाले बताएको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको मालोर्कासँगको खेलको क्रममा एक व्यक्ति सुरक्षा घेरा तोडेर मैदानमा छिरेका थिए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी स्वरुप बन्द रंगशालामा भएको खेलमा भएको यस्तो गतिविधि कुनै पनि हिसाबले स्वीकार्य नहुने बार्सिलोनाले उल्लेख गरेको छ ।

मेस्सीको नाम लेखिएको अर्जेन्टिनाको जर्सी लगाएका एक फ्यान दोस्रो हाफको सुरुमा मैदानमा पसेका हुन् । सो खेलमा बार्सिलोना ४–० ले विजयी भयो ।

ती फ्यानले मेस्सी भन्दा केही मिटर पर रहेर तस्बिर लिन सफल भए । त्यसपछि उनलाई सुरक्षा गार्डले बाहिर निकाले।

ला लिगाले यसलाई अपाराधिक गतिविधिका रुपमा लिने जनाएको छ ।

असार १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्