चीनसँग तनाव चुलिएपछि भारतले फिर्ता बोलायो छुट्टीमा नेपाल आएका गोर्खा सैनिकलाई

काठमाडौँ- चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ।
भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए। तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको हो।
भारतको रक्षामन्त्री राजनाथ सिंहले चीनसँग युद्धको स्थिति बनेसँगै गोप्य बैठक बोलाएका छन् जसमा चीफ अफ डिफेन्स स्टाफ विपीन रावत र अन्य अधिकारीहरु सहभागी छन्। भारतीय विदेशमन्त्री एस जयशंकर समेत बैठकमा सहभागी छन्।
Delhi: Chief of Defence Staff (CDS) General Bipin Rawat arrives at the residence of Defence Minister Rajnath Singh. pic.twitter.com/1BSJBr7Co4
— ANI (@ANI) June 16, 2020
Delhi: Army Chief General MM Naravane arrives at Defence Minister Rajnath Singh’s residence pic.twitter.com/31Rz7IqylT
— ANI (@ANI) June 16, 2020
सोमबार रुपन्देहीको बेलहिया नाकाबाट भारतीय सेनामा भर्ती भएका १८ जना गोर्खा रेजिमेन्ट सैनिकहरु भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिएका छन्।
उनले भने, ‘केही दिनयता भारतीय सेनामा भर्ती भएका नेपालीहरु भारत जाने क्रम बढेको थियो। आज पनि गइरहेका छन्। आज कति जना गए भन्ने तथ्यांक बेलुका ७ बजेसम्म आउँछ।’
दुई दिनदेखि गोर्खाली सेना नेपालबाट भारत प्रवेश गर्न थालेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। नेपाल–भारत बोर्डरमा उनीहरूको थर्मल स्क्यानिङ भएको थियो।
भारतीय सेनामा १ लाखको हाराहारीमा नेपाली कार्यरत छन्। गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरू सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएको नाकामा अत्याधिक मात्रामा कार्यरत छन्।
भारतमा नेपाली सेनाको उपस्थिति सन् १८१५ देखिको मानिन्छ, जब ब्रिटिश सत्तासँग नेपालको कुमाउँमा हार भएको थियो। सन् १९४७ मा ब्रिटिश शासकले भारतलाई सत्ता सुम्पिएर जाँदा गोर्खाली सेनाको चार रेजिमेन्ट आफूले र भारतलाई ६ रेजिमेन्ट छोडेर गएका थिए।त्यो बेलादेखि नै नेपालीहरू भारतीय सेनामा कार्यरत छन्।