कांग्रेस अंगीकृत नागरिकतामा कडाइ गर्न तयार, जसपा एक्लिने

मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक। तस्विर : प्रकाश ढकाल

काठमाडौँ– वैवाहिक अंगीकृत नागरिकता पाउने प्रावधानमा कडाइ गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सकारात्मक देखिएको छ। मधेस केन्द्रित दलसहित कांग्रेसले वैवाहिक अंगीकृत नागरिकता लिन हालको प्रावधानलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिदै आए पनि आफ्नो अडानमा पुनर्विचार गर्ने भएको हो।

राष्ट्रियतासँग जोडिएको लिम्पियाधुरासहितको भूभाग समेटिएको नक्सा जारी गर्न र संविधान संशोधन विधेयकमा सत्तारुढ नेकपासँग सँगसँगै उभिएको कांग्रेस अब नागरिकताको विषयमा पनि पूर्ववत अडानबाट त्याग्ने अवस्थामा पुगेको छ।

नागरिकतामा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच कुराकानी भएको सांसद दीलेन्द्रप्रसाद बडूले जानकारी दिए। उनले भने, ‘नागरिकताको विषयमा सभापति ज्यूले प्रधानमन्त्रीसँग कुरा गर्नुभएको छ। परिवर्तित परिवेशमा नागरिकताप्रतिको हाम्रो अडान फेरिन सक्छ।’

भारतमा वैवाहिक अंगीकृत नागरिकता पाउन सात वर्ष कुर्नपर्ने भएकाले नेपालले पनि त्यस्तै कडा खालको प्रावधान राख्नुपर्ने अडान नेकपाले लिँदै आएको छ।

गत वर्ष भदौ २८ गते नै कांग्रेसको असहमति भए पनि सात वर्षपछि मात्र नागरिकता पाउने प्रावधानलाई राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित गराउन खोजे पनि नेकपा अन्तिम समयमा पछि हटेको थियो।

त्यसबेला नागरिकता संशोधन विधेयकको छलफल २० मिनेटका लागि स्थगित भएको बैठक मंगलबार मात्र बसेको छ। मंगलबार बसेको बैठकमा सभापति शशी श्रेष्ठले वैवाहिक अंगीकृत नगारिकता सात वर्षपछि मात्र पाउने र त्यो अवधिसम्मका लागि आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता सरहको अनुमतिपत्र दिने प्रस्ताव पेश गरेकी छिन्।

उक्त प्रस्तावलाई सभापति श्रेष्ठले मंगलबार नै बहुमतले पारित गर्न खोजे पनि कांग्रेसले थप समय मागेपछि बुधबार दिउँसोसम्मका लागि रोकिएको छ।

समितिको बैठकमा कांग्रेस सांसदहरु बडू, डा. डिला संग्रौला, मीना पाण्डेले नागरिकता जस्तो विषयमा समान धारणा बनाएर जाँदा नै राम्रो हुने भएकाले बहुमतबाट अघि नबढ्न र एक दुई दिन थप छलफल गर्न आग्रह गरेका थिए। कांग्रेसकै सांसद अमरेशकुमार सिंहले भने प्रस्तावित प्रावधान मान्य नहुने बताए।

सभापति श्रेष्ठसहित नेकपाका केही सांसदले भने मंगलबार नै उक्त प्रस्तावलाई बहुमतबाट पारित गर्न जोड दिएका थिए। एक दुई दिन थप छलफल गर्ने विषयमा कांग्रेस सांसद र सभापति श्रेष्ठबीच चर्काचर्की नै भएको थियो। नेकपाभित्रकै केही सांसद तयार नभएपछि सभापति श्रेष्ठ कांग्रेसलाई ‘पेलेर’ जाने मुडबाट पछि हटेकी हुन्।

उनले बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाएकी छिन्।

बैठकपछि देश सञ्चारसँग कुरा गर्दै सांसद बडूले बुधबारको बैठकमा आफूहरु पार्टीसँग सल्लाह गरेर ठोस धारणासहित आउने बताए। उनले भने, ‘मैले आज नै सभापतिसँग छलफल गर्न खोजेको थिएँ। तर हुन सकेन। भोलिसम्म पार्टीका नेताहरुसँग छलफल गरेर आउँछौँ।’

उनले नेपाली पुरुषसँग विवाह गर्ने वित्तिकै वैवाहिक नागरिकता पाउने हालको प्रावधानलाई निरन्तरता दिनुपर्ने अडान आफूहरुले छाडेको जानकारी दिए। ‘छलफल गर्दै जाँदा पाँच वा सात जति वर्ष पनि हुन सक्छ’, बडूले भने।

सरकारले २०७५ साउनमा संसद सचिवालयमा दर्ता गरेको नागरिकता संशोधन विधेयकमा वैवाहिक अंगीकृत नागरिकता लिएकी महिलाले ‘नेपालको नागरिकता प्राप्त गरेको मितिले ६ महिनाभित्र विदेशी नागरिकता परित्याग गरेको निक्सा पेश गर्नुपर्ने’ प्रस्ताव गरेको छ।

उक्त व्यवस्थाले नागरिकता जस्तो संवेदनशील विषयलाई अझ पनि अन्य देशको तुलनामा खुकुलो पार्न खोजेको भन्दै नेकपाका सांसदहरुले असहमति जनाउँदै आएका छन्।

गृहमन्त्री रामबहादुर थापाले विधेयकका प्रावधानका विषयमा समितिले गर्ने निर्णय सरकारलाई मान्य हुने बताउँदै वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि पाउने सभापतिको प्रस्तावप्रति घुमाउरो रुपमा समर्थन गरेका थिए।

थापाले भने, ‘पेश गरेको संशोधन विधेयक नै सरकारको आधिकारिक धारणा हो। समितिले विधेयक प्रावधानका विषयमा निर्णय गर्न सक्छ।’

साविकका राजपा र समाजवादीले भने दिइसकेको अधिकारलाई खोस्न नहुने तर्क गर्दै साविककै व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताउँदै आएका छन्।

राज्य व्यवस्था समितिका सदस्यसमेत रहेका जपपाका नेता राजकिशोर यादवले आफूहरुको अडान नफेरिने बताए।

उनले भने, ‘वैवाहिक अंगीकृत नागरिकताबारे हाम्रो साँस्कृति सम्बन्ध छ। विवाह हुने वित्तिकै नागरिकता पाउने व्यवस्था पञ्चायत कालदेखि कै हो। हामी त्यसैको पक्षमा रहन्छौँ।’

अंगीकृत नागरिकताकै विषयमा कुरा नमिल्दा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दुई वर्षदेखि राज्य व्यवस्था समितिमा अड्किएको छ।

असार २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू