जोन बोल्टनको पुस्तक प्रकाशित हुनबाट राेक्न ट्रम्प प्रशासनले दायर गर्‍यो मुद्दा

अमेरिकाको न्याय विभागले ह्वाइट हाउसका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको पुस्तक प्रकाशन रोक्नका लागि मुद्दा दायर गरेको छ।

बोल्टनले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा कार्यरत रहँदाको अनुभव समेटेर लेखेको पुस्तक प्रकाशनको तयारी गरेपछि न्याय विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो।

न्याय विभागले आफ्नो उजुरीमा बोल्टनको पुस्तकका सुरक्षा जोखिम बढाउने खालका अति गोप्य जानकारीहरु रहेकाले सो पुस्तक प्रकाशित हुनबाट रोक्न माग गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पुस्तक प्रकाशित गरेमा बोल्टनले आपराधिक मुद्दाको सामना गर्नु पर्ने चेतावनी दिएको भोलिपल्ट मंगलबार न्याय विभागले मुद्दा दायर गरेको हो ।

‘द रुम ह्वेयर इट ह्यापेन्ड’ नाम गरेको बोल्टनको पुस्तक जुन २३ अर्थात आउँदो मंगलबार प्रकाशित हुँदैछ।

राष्ट्रपति ट्रम्पले सोमबार पत्रकारहरुसँग ‘मसँग भएका सबै कुराकानीहरु वर्गिकृतका रुपमा लिन्छु। त्यसैले उनले (जोन बोल्टन) ले किताव लेखेर र त्यो प्रकाशित भयो भने उनले कानून उल्लंघन गरेको हुन्छ । जसका लागि उनले आपराधिक समस्या झेल्नु पर्ने हुन्छ ।’

ट्रम्प प्रशासनले बोल्टनको पुस्तक प्रकाशित हुनबाट रोक्न हरसम्भव प्रयास गरिरहेको छ । तर गैरसरकारी संस्था अमेरिकन सिभिल लिबर्टिज युनियनले बोल्टनको पुस्तक प्रकाशन हुनबाट रोक्ने ट्रम्प प्रशासनको कुनै पनि प्रयास सफल नहुने बताएको छ ।

गएको जनवरीमा राष्ट्रपति कार्यालयले बोल्टनको पुस्तकमा अति गोप्य जानकारीको विस्तृतमा उल्लेख रहेको भन्दै सो कुरा पुस्तकबाट हटाइनु पर्ने बताएको थियो । तर बोल्टनले सो कुरा अस्वीकार गरेका थिए ।

बोल्टनको पुस्तकमा ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर त्यहाँका राष्ट्रपतिलाई जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार अभियोगमा छानबिन गर्न दबाब दिएको कुरा विस्तृतमा उल्लेख गरहेको दाबी गरिन्छ ।

सोही कार्यका लागि ट्रम्पले सदनमा महाअभियोगको सामना गर्नु परेको थियो ।

बोल्टन सन् २०१८ को अप्रिलमा ह्वाइट हाउसमा सुरक्षा सल्लाहकारका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनी सन् २०१९ को सेप्टेम्बरमा जिम्मेवारीबाट बाहिरिएका थिए ।

असार ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्