हाम्रो आवाज पनि सुन्‍नुहोस्-९

सुस्त-श्रवण हुनु मेरो रहर होइन

कार्यालयमा काम गर्ने सिलसिलामा सेवाग्राहीसँग दोहोरो सम्वादका क्रममा केही कुराहरु नबुझी एक पटकबाट दुईपटक सोध्यो भने धेरै जसो सेवाग्राहीबाट प्राय: जसो मैले सुन्ने एउटै आवाज हुन्छ, ‘कानमा वाकमेन लगाएपछि कहाँबाट सुनिन्छ र ?’ अनि म मेरो मन अमिलो पार्दै जवाफ दिन्छु, ‘मैले वाकमेन लगाएको होइन मैले कान कम सुनेर हेयरिङ मेशिन लगाएको हो हजुर। भोलि हजुर र हजुरको परिवारको कोही सदस्य कान कम सुन्ने हुनुभयो भने के गर्नुहुन्छ नि?’ सायद अहिले पनि समाजमा कानमा हेयरिङ मेशिन लाउने मान्छेहरुलाई यिनीहरुले कान कम सुनेर हेयरिङ मेशिन लगाएको होला भन्ने सम्म पनि धेरैलाई थाहा छैन होला।

मैले आफैँले जान्ने बुझ्ने (८ बर्ष) हुँदा सम्म मैले केही थाहा पाइन। मेरी आमाले भन्नुभए अनुसार म ५ वर्षको उमेरसम्म मेरो बोल्ने र सुन्ने शक्ति केही पनि थिएन रे। पूर्ण रुपमा बहिरो थिएँ। दैवी शक्ति भनौँ या के भनुँ- पाल्पा जिल्लाको भैरवस्थान मन्दिर दर्शन गर्न जाँदा उक्त स्थानमा रहेको मूलको पानी पिएमा बोली नफुट्ने बच्चाको पनि बोली फुटछ् रे भन्ने विश्वास लिएर मलाई पनि भैरवस्थान मन्दिरको दर्शन गराई उक्त स्थानको पानी पिलाउनुभयो।

घरमा आएपछि बिस्तारै मेरो मुखबाट आवाजहरु आउन थाल्यो रे। नजिकैबाट पटकपटक बोलाउँदा कहिले कसो सुन्ने टाढाबाट बोलाउँदा नसुन्ने जस्तो भयो। जब म बिस्तारै आफ्नै धुनका आवाजहरु बोल्ने खेल्ने, आफैँले सुनेको आवाजमा रम्ने, कसैको कुरा पनि नसुन्ने नबुझ्ने जस्तो लक्षणहरु देखिएपछि बुवाले मलाइ उपचारको लागि भारतको दिल्ली लिएर जानुभयो। उपचारका क्रममा मेरो देब्रे कानले कम सुन्ने र दाहिने कानले सुन्दै नसुन्ने भएको रहेछ।

उपचारबाट सम्भव नभएपछि डाक्टरले मलाइ हेयरिङ मेशिन प्रयोग गर्ने सुझाव दिए। सायद पहिलो पटक होला ८ बर्षको उमेरमा मैले हेयरिङ मेशिन प्रयोग गरेको। त्यो मेशिन घडीको ब्याट्रीबाट चल्थ्यो। मेशिन लगाउँदा र स्कुल जाँदा मलाइ धेरै समस्याहरु आए। साथी भाइहरुले पनि जतिखेर पनि वाकमेन लगाउँछ केही सुन्दैन, बोल्दैन भनेर जिस्काउने। केही समय चलाएपछि मेशिनको तार तथा पार्टपुर्जाहरु बिग्रन थाल्यो र ४/५ महिनामै मैले मेशिन लगाउन छोडिदिएँ।

त्यो बेलामा मेशिन बनाउने तथा नयाँ तार पाउने ठाउँ नेपालमा त कहाँ हो कहाँ थाहा पनि थिएन। मेशिन लगाउन छोडेपछि पनि मलाई स्कुलमा धेरै समस्या भयो। कान नसुनेपछि कसैसँग बोल्न पनि मन नलाग्ने। साथीहरुसँग कुरा गर्न खोज्यो कुरा गर्न केही नबुझिने। बिस्तारै शिक्षकहरुको सहयोगले यसले कान कम सुन्छ भनेर अगाडिको बेञ्चमा राखेर पढाउनु हुन्थ्यो। सर नजिकै आउँदा, मुख चलाउँदाको हाउभाउ र ब्लाकबोर्डमा लेखेका जे जस्ता अक्षरहरुलाई टिपोट गरेर भएपनि मैले पढ्नु पर्छ भन्ने भावनाका साथ जसो तसो पढाइलाइ निरन्तरता दिँदै २०५६ सालमा एसएलसीसम्मको शिक्षा पूरा गरेँ।

घरको जेठो छोरा बुवा आमाको कृषि पेशा चार जना सन्तान गरी छ जनाको परिवार पाल्न धौ धौका बाबजुद पढाइलाई निरन्तरता दिन नसकी पैसा कमाउन भारततिर लागेँ। पहिलो पटक पैसा कमाउन भारत हिडेको म मनुवा हिन्दी भाषा नजान्ने, कान कम सुन्ने र बोल्न पनि त्यति नजान्ने, मैले निकै हण्डर खाँदाखाँदै फलामको कम्पनीमा फलामपिट्ने काम गर्नुपर्यो। पैसा कमाउने लोभमा दिनको १५/१६ घन्टा काम गर्थे। यसरी काम गर्दा म धेरै बिरामी भएर निकै दु:ख पाए। ज्यानलाइ जोगाएर ६/७ महिनामै घरमा फर्किएँ।

घरको आर्थिक  अवस्था उस्तै नाजुक थियो। भाइ बहिनीहरु साना थिए। के गर्ने कहाँ जाने केही मेसो थिएन। त्यसमाथि कान नसुन्ने भएसी साह्रै दु:ख पाइदो रहेछ । कामको लागि मैले धेरै ठाउँमा गुहार मागे कतै केही मेसो परेन। गाउँको एकजना दाजुले मलाइ कम्युटर सम्बन्धी तालिम पनि सिक्न पाइने सहयोगीको रुपमा काम पनि गर्ने भनेर बुटवलको एउटा कम्प्युटर इन्ष्टिच्युटमा काम लगाइदिनु भयो। हेयरिङ मेशिन नहुँदा मलाइ काम गर्दा समस्याहरु भोग्नु पर्‍यो। धेरै समस्या भएपछि जसोतसो गरी आफ्नो दु:ख बिसाइ बुटवलमै एउटा हेयरिङ मेशिन किनेर लगाएँ। काम प्रतिको लगाव र मेहनतले गर्दा मेरो जिन्दगीले अर्के मोड लियो।

सुस्तश्रवण हुनु मेरो रहर थिएन। समय परिस्थितिले म सुस्तश्रवण हुन पुगेँ। जसमा मलाई कत्ति पनि आत्म ग्लानि भएको छैन। भगवानले मानिसहरुलाई एउटा न एउटा चीज दिनुभएको हुन्छ। त्यसैमा म आफैँले आफैँलाई भाग्यमानी ठादन्छु। पढाइलाई पनि ४ वर्षपछि पुनः निरन्तरता दिएँ। अहिले स्नातक तहसम्मको पढाइ पूरा गरी स्नातकोत्तर पढ्ने तयारीमा छु। जागिर र परिवारलाइ समय दिँदा पढाइलाई निरन्तरता दिन सकेको छैन।

बुटवलमा किनेको हेयरिङ मेशिन लगाएको दिनदेखि मैले घरमा नै आमाको सहयोगमा कुरा गरिरहने, दोहोर्‍याई तेहेर्‍याई गरेर सोधी मेरो बोली सुधार गर्ने कार्य सुरू गरेको थिएँ। कुरा नबुझ्दा र दोहोर्‍याएर कुरा गर्दा निकै समस्या हुन्छ जुन अहिले पनि त्यस्तै छ। काम गर्दै जाँदा एउटा अपाङ्ग पुनर्स्थापना गर्ने संस्थामा सदस्यको रुपमा आवद्ध भई अपाङ्गताको क्षेत्रमा धेरै कामहरु गर्ने अवसर प्रदान भयो। सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुसँग काम गर्दै जाँदा यी समस्याहरु मेरो मात्र हैन, सायद नेपालमा हेयरिङ समस्या भएका सुस्तश्रवण व्यक्तिहरुको संख्या धेरै रहेछ भन्ने थाहा पाएँ।

मलाई पनि गाउँघरमा मैले सुन्ने मेशिन लगाएको थाहा पाउनेहरुले मलाई पनि यस्तै मेशिन उपलब्ध गराइदेऊ न बाबु भन्नु हुन्छ। उहाँहरुको आफ्नै स्रोत साधनले पनि हेयरिङ मेशिन किनेर लगाउन सक्ने अवस्था छैन। नेपाल सरकारले हेयरिङ मेशिन नि:शुल्क वितरण गर्न सकेको छैन। हेयरिङ मेशिन धेरै महंगो पर्ने हुँदा केही संघसस्था मार्फत २/४ जनालाइ उपलब्ध गराइने सस्तो हेयरिङ मेशिनले उनीहरुको जीवनलाई सहज बनाउन सकेको छैन ।

२०६८ सालको जनसंख्याको तथाङ्क हेर्दा नेपालको कुल जनसंख्या मध्ये १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुमध्ये सुनाई अपाङ्गता भएका व्यक्तिहरुको संख्या १५.४५ प्रतिशत मात्र देखाएता पनि यो बहिरा र सुस्त श्रवण दुवैको मिश्रित तथ्यांक भएको हुनाले वास्तविक सुस्त श्रवणको भएका अपाङ्गता भएकाहरुको यथार्थ विवरण छैन र जुन तथ्याङ्क भन्दा धेरै होलान्। मैलै अध्ययन गरेको माध्यमिक विद्यालयमा पनि ८/९ कक्षा पढ्दा पढ्दै सुनाइ शक्ति र बोल्ने शक्ति पूर्ण रुपमा बन्द भएर २ जना विद्यार्थीहरु बहिरा हुन पुग्नु पर्यो। सायद नेपालभरि यस्ता समस्या भएका व्यक्ति कति होलान नगन्य छन्। उमेर ढल्किदै जाँदा श्रवण शक्ति गुमाउन पुगेका व्यक्तिहरू पनि नगन्य नै छन्।

मलाई पनि गाउँघरमा मैले सुन्ने मेशिन लगाएको थाहा पाउनेहरुले मलाइ पनि यस्तै मेशिन उपलब्ध गराइदेउन बाबु भन्नु हुन्छ। उहाँहरुको आफ्नै स्रोत साधनले पनि हेयरिङ मेशिन किनेर लगाउन सक्ने अवस्था छैन । नेपाल सरकारले हेयरिङ मेशिन नि:शुल्क वितरण गर्न सकेको छैन। हेयरिङ मेशिन धेरै महंगो पर्ने हुँदा केही संघसस्था मार्फत २/४ जनालाइ उपलब्ध गराइने सस्तो हेयरिङ मेशिनले उनीहरुको जीवनलाइ सहज बनाउन सकेको छैन । यसरी वितरण गरिने हेरिङ मेशिनहरू सुस्त श्रवणहरूको सुनाई क्षमता अनुसारको नहुने हुनाले धेरैले फाईदा लिन सकेका छैनन्।

मैले सुनेको राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय सामाजिक संस्था, रोटरी क्लब जस्तो सामाजिक काम गर्ने संस्था जन्मेकै हेयरिङबाट हो रे? यो कतिको यथार्थता हो मलाई त्यत्ति थाहा भएन? अहिले नेपालमा रोटरी क्लबले अपाङ्गता भएका व्यक्तिहरुका क्षेत्रमा थुप्रै कार्य तथा व्हीलचियरहरु नि:शुल्क एवम् सहज रुपमा वितरण गर्दै आइरहेको छ। के रोटरी क्लवले पनि सुस्त श्रवणअपाङ्गता भएका व्यक्तिहरुका लागि नि:शुल्क तथा सहज रुपमा हेयरिङ मेशिन वितरण गर्न सक्दैन होला र? खै त कतै मैले थाहा नपाएको हो कि रोटरी क्लबको त्यतातिर ध्यान नपुगेको हो?

सुस्त श्रवणहरुको क्षेत्रमा नेपालमा श्रुति संस्था मार्फत धेरै थोरै भएपनि सुधारात्मक कार्यहरु अगाडी बढाइरहेको छन्। जसमा सरकारले पनि साथ दिएमा सायद सुस्त श्रवण अपाङ्गता भएका व्यक्तिहरु पनि समाजमा अन्य व्यक्तिहरु सरह जीउन सक्छन्। उनीहरुका आ-आफ्नै समस्याहरु छन् कोही उपचार नपाएर जीन्दगी भरि बहिरा भएर बस्नुपरेको छ भने कतिपयले सही समयमा सूचनाहरु लिन नपाएर बाँकी रहेको सुनाइ क्षमता पनि झन् गुमाइरहनु परेको छ। हेयरिङ मेशिन खरिद गरेर लगाउन नसक्नु, समाजमा खुलेर कुरा गर्न हिच्किचाउनु, आफ्ना मागहरुलाइ सम्बन्धित निकायहरुमा राख्न नखोज्नु, अरुले के भन्ला र के भने होलान भनेर घरभित्रै गुम्सेर बस्नु, घरपरिवार तथा समाजले पनि सुस्त श्रवण भएकाहरुलाइ राम्रो व्यवहार नदेखाउनु, यावत थुप्रै टिठ लाग्दा समस्याहरु छन्।

वर्तमान परिवेशमा कोभिड १९ कोरोना भाइरसको महामारीका सही सुचनाहरु पनि लिन नपाउँदा झन् बढी मारमा परेका छन्। सरकारले बहिराहरुका लागि सांकेतिक भाषामा सुचनाहरु प्रवाह गरे जस्तै सुस्त श्रवण हरुले पनि पढ्न सक्ने गरी क्याप्सनिङको व्यवस्था गरिदिए सायद सुचनाको अधिकारबाट बन्चित हुनु पर्ने थिएन होला। संविधानमा हरेक नागरिकलाइ सुचना पाउने अधिकारबाट बन्चित गरिनेछैन भनेर लेख्नलाइ मात्र भयो यसलाई व्यवहारमा पनि उतार्ने समय ढिला भइसकेन र ?

(पन्थ राष्ट्रिय अपांग महासंघ नेपालको केन्द्रीय सदस्य हुन्।)

असार ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्