कृषिमन्त्रीज्यू, अहिले पनि नगरे कहिले गर्ने?

माननीय कृषिमन्त्रीज्यूले गरेको एउटा स्वीक्वारोक्तिबाट सुरु गरौँ, ‘सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो छैन।’ हो, नमरी स्वर्ग देखिँदैन। तर, तपाईँले नगरे कसले गर्ने? अनि अब पनि नगरे कहिले गर्ने? तपाईँलाई पनि थाहा छ, ‘ढुंगाको काप फोडेर पनि उम्रन्छ पिपल।’

सबै कार्य अफ्ठ्यारा देखिन्छन् रे जबसम्म त्यो पूरा हुँदैन। देश चुँडिएको डोरी समाएर टुक्राटुक्रामा रमाइरहेको छ। मलाई विश्वास छ- तपाईँले गर्नुहुन्छ, गर्नु हुँदै होला र गर्नु पर्छ। डुंगा चढिसकेर मलाई खियाउन आउँदैन अथवा सक्दिन भन्ने छुट नाविकलाई हुँदैन, हुनु हुँदैन। मैले यसो भनिरहँदा तपाईँ नै आखिर, तपाईँले गर्न नसके अरुले पनि गर्न सक्दैन भन्ने आशय हैन। तपाईँको पदारोहणले निराशाको हुरीलाई थोरै थेगेर भए पनि भरोसाको दियो बलेको छ, वसन्त ऋतुको यो दियो निभ्न नदिनुहोस्।

नेपालसँग कृषि मौज्दात खपत हुन नसकेर थुप्रिएको गुनासो गर्नु भएको सुनेँ। हामीसँग एक हजार मेट्रिक टन बटर, उत्पादनको हिसाबले १५ सय मेट्रिक टन पाउडर दूध, त्यसको करिबकरिब दुई-अढाइ अर्ब रोकिएको सुनेँ। अफगानिस्तान, पाकिस्तान कहाँ बेच्न पाइन्छ भनेर प्रयत्न गरिरहेको, तथापि नसकिएको अवस्था रहेछ। सेना पुलिसलाई खुवाउन पनि नसकिएको र माघदेखि मात्रै ठेक्का लाग्ने हुँदा समस्या पैदा भएको रहेछ।

यो लेख्दै गर्दा माननीय योगेश भट्टराईज्युले एउटा कुनै टेलिभिजन अन्तर्वार्तामा भनेको वाक्यांश सम्झना आयो, ‘हामी खराब ब्यापारी रहेछौँ, हौँ।’ त्यो टिप्पणी नेपाल एयरलाइन्सले ओसाका उडान गरेर घाटा भएको सन्दर्भको थियो। यहाँ  व्यापारमा चिनियाँहरु कति अगाडि छन् भन्ने एउटा दृष्टान्तले उजागर गर्छ होला।

इन्डोनेसियाको लुवाक कफी (लुवाक नामक जनावरले कफीको दाना खाए पश्चात पेटमै खमिराएर बिष्टाइन्छ, अनि त्यसलाई बिशेष प्रक्रियाबाट खान योग्य बनाइन्छ ) फाइदाजनक, महँगो र मुख्यत यही इलाकामा मात्र पाइन्छ। एक चिनियाँ नागरिक घुम्न आउदा उसले त्यो कफी चाख्यो ,अनि त्यस कफीको गुण, मूल्य र उत्पादनको जानकारी लिएछ। चीन फर्किँदा प्लेनमा लग्न मिल्ने जति सस्तोमा लगेर, उता मनग्य आम्दानी गरेछ। उसले निरन्तर इन्डोनेसियाबाट आयात गर्‍यो, पछि आफ्नै ठाउँमा त्यसको उत्पादन सुरु गर्‍यो। यो एक जनाको मात्र हैन, सम्पूर्ण चिनियाँहरुको स्वभाव हो।

नेपालमा पनि फाट्टफुट्ट कसैकसैले यस्तै गरेको सुनिन्छ तर यो पर्याप्त छैन। यो एकल हैन सामूहिक रुपमा विकसित हुन जरुरी छ। यो सम्पूर्ण नेपाली जनताको राष्ट्रिय स्वभाव, चरित्र हुनुपर्छ, आत्मनिर्भर बन्न। माटोले माग्दैन, आफैँले दिनुपर्छ। भारत, चीन वा अरु कसैलाई कराएर हुनेवाला केही छैन। मात्र रातभरि करायो, दक्षिणा हरायो हुन्छ।

फेरि एकजना मित्रबाट व्यक्त विचार स्मरण भयो, ‘व्यवस्था आयो, परन्तु असल ब्यबस्थापकको निपुण ब्यबस्थापन अझै आउन सकेन।’ मानसपटलमा अनेकथरी नाच्न थाल्यो, दुध पोखेको (घ्यु , बटर, चिज, कुरौनी, मोही, पेडा, पनिर, रसभरी, दही, छुर्पी (डग च्युको रुपमा) आदि) परिकार तयार हुनेथियो। खेतमै गोलभेडा र बन्दामा ट्रयाक्टर चलाएको, अस्ति भर्खर तरकारी खाल्डोमा गाडेको सुन्दा मन काट्टियो। भाइरस लाग्ने डरले नखाए, ४ दिन घाममा सुकाएर अचार, सिन्की, गुन्द्रुक, मस्यौरा, अरिकञ्चन, तरकारीको सुकुटी आदि बनाउन मिल्थ्यो। बिदेशीलाइ थाहा छैन यो प्रविधि वा चलन छैन तर हाम्रो परम्परागत विधि छ त।

राजनीति नहुने, नगर्ने कुनै देश छैनन्, सबैले गर्छन्। मैले बुझेसम्म सरकारको दायित्व आफ्ना जनतालाइ ब्यस्त राख्नु रहेछ। रोजगारी नहुनेलाई काम दिएर, विद्वानलाइ सोच्न अभिप्रेरित गरेर, ब्यापारीलाई ब्यापारको वातावरण सिर्जना गरिदिएर, कलिलालाई शिक्षामा जोडेर आदि। नेपालमा राजनीतिक समाचारसँग नजोडिएका सायदै कम होलान्। सरकार अलमल्याउँदै छ अनि हामी सब काम छोडेर अल्मलिरहेका छौँ। हो, सुचित रहनु पर्छ, चाहिँदा आलोचना पनि गर्नु पर्छ। सरकारको काम कारवाहीमा सतर्क रहनु पर्छ तर सिर्फ त्यसैमा अभ्यस्त हुनु हुँदैन।

रोयटर्स इन्स्टिट्युट फर द स्टडी अफ जोर्नालिस्म याट द ओक्स्फार्ड युनिभर्सिटीले ३८ देशहरुमा गरेको एक सोध अनुसार, अस्ट्रेलिया एकदमै न्यून समाचार उपभोग गर्ने देश हो। अस्ट्रेलियालीहरू समाचारमा कम रुचि राख्छन्। यहाँ मात्र ५२ प्रतिशत मानिस दिनमा एक पटक भन्दा बढी र ४८ प्रतिशत दिनमा एक पटक भन्दा कम समाचार हेर्ने गर्छन्।

अब मेरा केही विचार राख्ने अनुमति चाहन्छु। सरकारले भर्खरै विदेशबाट दैनिक बढीमा ८ वटा उडान मार्फत करिब २५०० नेपालीको उद्धार गर्ने योजना सुनेँ। यताबाट जाँदा जहाज लगभग रित्तै जान्छ। एउटा जहाजमा १५ देखि २० टन सम्म सामान लग्न सकिने रहेछ।

अब अवसरको चर्चा उपयुक्त होला। मन्त्रीज्यूले पाकिस्तान, अफगानिस्तानतिर बटर र पाउडर दुध बेच्न खोज्दै गरेको भन्नु भयो। यो राम्रो हो, जसरी पनि बेच्नु पर्‍यो, फालिनु भएन। अर्कोपट्टि हाम्रो जहाज आगामी दिनमा खाडी लगातार जान्छन्।

अहिले पनि केही व्यापारीले खाडी तथा कतारमा दुधजन्य उत्पादन, तरकारी आदि निर्यात गरिरहेका छन्। करको मात्र हैन, यो अवसरको पनि दायरा बढाउने टड्कारो सरकारलाई हुनुपर्छ। यस सम्बन्धमा मन्त्रालयले निजी व्यापारी र उत्पादकहरूसँग छलफल गरिरहेको पनि छ।

फुड तथा कृषि संस्थाका अनुसार मध्य एशिया र उत्तरी अफ्रिका (मएउअ) सबैभन्दा कम दुध र दूधजन्य वस्तु उत्पादन गर्छ, तर त्यहाँ खपत मध्यम छ। ताजा दुधभन्दा पनि प्रशोधित दुध र दूधजन्य उत्पादनको खपत बढी छ । पाकिस्तान र भारत धेरै दुध उत्पादन गर्ने देश रहेछन् तर खपत अलि न्यून छ। भ्रम नपरोस् मैले मन्त्रीज्यूलाई पाकिस्तानमा बजार नखोज्नु भनेको हैन। मैले आजको साथै भोलिको अवसर प्रकाश पार्ने चेष्टा मात्र गरेको हुँ। खालि जाने जहाजमा हाम्रा समान भरेर लग्न सकिन्छ कि भन्न खोजेको हुँ। ब्यापारीको दिमाग ‘एक तिर दुइ निसान’ हुन्छ, अब हाम्रो देशको नीति पनि यस्तै हुन सक्दैन र?

विश्व दुध उत्पादन करिव ७० प्रतिशतले वृद्धि एशियामा हुनेछ, त्यसमा पनि भारत र पाकिस्तानमा ज्यादा हुनेछ। सन् २०२७ मा, मध्य एशिया र उत्तरी अफ्रीका ( मएउअ) ले २४ प्रतिशत, दक्षिण पूर्वी एशियाले १२ प्रतिशत, चीनले १३ प्रतिशत अनि बाँकी विकसित मुलुकहरुले २० प्रतिसत आयात गर्नेछन्। सन् २०२७ मा चिनले मात्रै चिज र बटर बिश्व व्यापारको २१ प्रतिशत र अहिले बार्षिक करिब ५ प्रतिशत र साढे २ प्रतिशतले बृद्धि हुने तथ्यांक छ।

अहिले पनि केही व्यापारीले खाडी तथा कतारमा दुधजन्य उत्पादन, तरकारी आदि निर्यात गरिरहेका छन्। करको मात्र हैन, यो अवसरको पनि दायरा बढाउने टड्कारो सरकारलाई हुनुपर्छ। यस सम्बन्धमा मन्त्रालयले निजी व्यापारी र उत्पादकहरूसँग छलफल गरिरहेको पनि छ। सानो गोरेटो बाटो बनेको छ मन्त्रीज्यू, यसलाई बिस्तार गरेर राजमार्ग बनाउने जिम्मा तपाईँले लिनुपर्छ, जति सक्दो छिटो अझ यहि उद्धारको समय सम्भव र जरुरत छ।

प्रसङ्गबस एउटा घटना विस्मृत गराउन मन लागेन। यहाँको स्थानीय नेपाली पसलमा किनमेललाई गएको, प्राय सबै समान सकिएको रहेछ। मैले कारणवारे जिज्ञासा राख्दा, प्रत्युतरमा साहुजीले सामान सिंगापुरको बन्दरगाहमा अड्केको जानकारी दिए। नेपालबाट पानीजहाजमा समान आइपुग्न १५-२० दिन लाग्दो रहेछ। ओहो हवाईजहाजमा त अस्ट्रेलिया जम्मा १२-१४ घण्टा, अझ खाडी तिर त ४-५ घण्टा। अहिले आँप, कटहर, लिच्चीको मौसम हो, पोको पारेर खाडी पठाउन असम्भव छैन। नेपाली समुदाय त कोरिया , जापान तिर पनि छन्। उनीहरु पनि नेपाली स्थानीय समान उपयोग गर्दा हुन्। बुझ्नेले आँ गर्दा अलंकार बुझ्छ।

नेपालबाट निर्यात हुने समानमा भ्रमण दशक २०३० को बढोत्तरी गर्न पनि त मिल्छ नि। सबै समानमा भ्रमण दशकको लोगो वा अरु त्यस्तै केही पनि त गर्न सकिन्छ। कला -कौशल विस्मृत हुन नदिन सिपाहीलाई तालिम, प्रशिक्षण दिए जस्तै बजारमा पनि वस्तु वा उत्पादनको निरन्तर प्रभाव हरसम्भव बनाईराख्नु पर्छ। मलाई थाहा छ अहिले सबैतिर कोरोनाको कहर छ। यस्तो बेला प्रत्यक्ष मेरो देश आउनु होला भन्दा नराम्रो भाव प्रवाह हुन सक्छ। तापनि,बजारीकरण र बढोत्तरी प्रत्यक्ष र परोक्ष्य दुवै विधिबाट गर्न मिल्ने कुरामा त हामि सबै जानकार नै छौँ।

फेरि तुलनात्मक रुपमा हामीलाई चाहिँ दुख वा शोक बढी हुदो रैछ। नेपालीहरु सरकारले बन्दा -बन्दी गरेर बिहान बेलुकाको छाक टार्न मुश्किल भएको गुनासो गर्छन, यो अचम्मको लोकमा सरकारले पब (भट्टी) बन्द गर्‍यो, कम्तीमा त्यो खोल्देऊ, कोठामा नराख देशभित्र घुम्न जान देऊ भनेर दुखेसो गर्छन। उसबेला आगलागी हुदा पनि केहि प्रक्रियागत त्रुटिले केही असमझदारी भएको होला, तर यहाँ त्यस्तो छैन, अतिरञ्जना धेरै भयो होला।

अन्त्यमा, पुष्प निर्यातको अवसरलाई पनि ख्याल गरौँ। पुष्प शोक र खुसी दुवै अवस्थामा प्रयोग गरिन्छ। अहिलेकै अवस्था हेर्दा यसपालि दशैँ तिहार पनि पछिल्लो सालमा जस्तो धुमधाम नहुने संकेत गर्छ। यो अवस्थामा निश्चय पनि पुष्पको खपत कम हुन जान्छ। अथवा त्यो खालि जहाजमा पुष्प पनि भित्र्याउन सकिने सम्भावना प्रकट गर्न चाहेको हुँ। पूर्वमा भन्दा पश्चिममा पुष्पको प्रयोग धेरै र निरन्तर हुन्छ। यसका अतिरिक्त अहिले यहाँ बढी प्रयोग हुने भनेको टेक – अवे बक्स ( कागज वा प्लास्टिकका भाडाहरु) हुन्। हाम्रा परपरागत दुना – टपरी अनि ब्यबसायिक प्रयोजनका लागि उत्पादन हुने टपरी – टपराहरु खाली जहाजमा भरेर ल्याउदा काइदा हुन्छ। तत्कालै अरु अथाह घरेलु बस्तुको उत्पादन निर्यात गर्न सकिन्छ। जस्तै मुडा, काठको पिर्का, परालको चकटी,गुन्द्री, ब्याग, बाँसबाट बन्ने सामग्रीहरु, डोको, ढाकी, गमला (कुमालेका भाडाहरु), हस्तकला आदि। यहाँ जाडो छ, उनीको लुगाहरु पनि मज्जाले बेच्न सकिन्छ। पहिला बिदेशी त्यहाँ आएर खरिद गर्थे, अब उनीहरुको देशमै ढुवानी गर्न सक्ने अवस्था छ। भविष्यमा बिस्तृत ब्रान्डिङ गर्न सरल र शिघ्रगामी हुनेछ। आगामी अवधारणा “मेड इन नेपाल पेड इन फोरेन” हुनै पर्छ। सरकारले लग्छु मात्र भन्यो भने गाउँ -गाउँबाट आजको भोलि लाखौँको संख्यामा उत्पादन हुन्छ। यसलाई चाहिने कच्चा पदार्थ रुख -रुखमा झुन्डिएका छन्, जनशक्ति क्वारेन्टिनमा थुनिएका छन्।

सरकारको आवश्यक लगानी भनेको निर्यातको सहजीकरण, व्यवस्थापन र जनतालाई सूचना प्रवाह गर्ने। हो , मलाई थाहा छ यी कुरा हरु फेसबुकमा कमेन्ट गरेजस्तो सजिलो छैन, तर सरकारले नगरे कसले गर्ने ? अब पनि नगरे कहिले गर्ने?

असार ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्